आइतबार, ०१ असार २०८२
ताजा लोकप्रिय
इरान इजरायल तनाव

राजदूत पण्डित भन्छन् : इजरायलमा अहिले स्थिति गम्भीर छ

‘अहिलेसम्म कुनै नेपालीलाई समस्या परेको जानकारी आएको छैन’
शनिबार, ३१ जेठ २०८२, १७ : ४१
शनिबार, ३१ जेठ २०८२

समाचार सारांश

  • इजरायल र इरानबीचको मिसाइल युद्धका कारण इजरायलमा त्रासको वातावरण, नेपाली राजदूतले जानकारी दिए।
  • इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेको र उनीहरूलाई सुरक्षित रहन आग्रह गरिएको छ।
  • एनआरएनए इजरायलका महासचिवले इजरायल बसाइको सबैभन्दा डरलाग्दो अवस्था रहेको बताए।

काठमाडौँ । इजरायलका नेपाली राजदूत डा. धनप्रसाद पण्डितले इजरायल र इरानबिचको युद्धले अवस्था गम्भीर बनेको बताएका छन् । रातोपाटीसँग कुराकानी गर्दै राजदूत पण्डितले लगातारको मिसाइल आक्रमणका कारण त्रासको वातावरण बनिरहेको बताएका हुन् । 

हिजो रातभर अत्यन्तै गम्भीर अवस्था रहेको बताउँदै आज बिहान साढे चार बजेदेखि अहिलेसम्म केही नभएको बताए ।  ‘अहिले माहौल शान्तै छ । हिजो रातभरि १ बजेदेखि बिहान साढे चार बजेसम्म बङ्कर जाँदै, माथि आउँदै, बङ्कर जाँदै, माथि आउँदै जस्तो गर्‍यौँ । स्थिति जटिलै छ,’ राजदूत पण्डितले भने, ‘कतिसम्म चल्ने हो हेरौँ । किनभने पूर्ण रूपमा एयरपोर्ट सम्पूर्ण बन्द छ । पानीजहाजको पनि चल्या छैन । त्यस कारण बाहिर जाने कनेक्टिभिटी पनि छैन ।’

कुन रूप लिने र कहिलेसम्म यस्तो भइरहने हो भन्न सकिने अवस्था नरहेको बताए । अहिलेसम्म सबै नेपाली सुरक्षित रहेको बताउँदै सबैलाई सुरक्षित रहन आग्रह गरिएको उनको भनाइ छ । 

‘अहिलेसम्म कुनै नेपालीलाई समस्या परेको जानकारी आएको छैन । सबै जना सुरक्षित स्थानमा नै छन् । तर, कतिपय काम गर्ने ठाउँमा राम्रो बङ्कर छैन, के गर्ने भनेर मलाई फोन आएको थियो । मैले जे छ त्यसलाई प्रयोग गर्ने भनेको छुँ,’ राजदूत पण्डितले भने । 

केही पुराना घरहरूमा बङ्कर नभएको र त्यसका लागि भर्‍याङमुनि उभिनुपर्ने बताए ।

इजरायलमा प्राय नेपाली केयरगिभर रहेकाले उनीहरू भएको ठाउँमा बङ्करको व्यवस्था रहेको समेत बताए । जसले गर्दा उनीहरूलाई बङ्करभित्र लुक्न त्यति गाह्रो नभएको बताए ।

केही पुराना घरहरूमा बङ्कर नभएको र त्यसका लागि भर्‍याङमुनि उभिनुपर्ने बताए । भर्‍याङलाई अल्टरनेटिभ बङ्कर बनाउनुपर्ने बताउँदै सोही अनुसार बङ्कर नभएको अवस्थामा पक्की भर्‍याङभित्र बस्न आग्रह गरे । 

इजरायली होम फ्रन्ट कमाण्डद्वारा सर्वसाधारणका लागि नयाँ निर्देशनहरू जारी भएकाले इजरायली नेसनल इमर्जेन्सी पोर्टलबाट अद्यावधिक स्थानीय सुरक्षा प्रोटोकलबारे जानकार रहन दूतावासले आग्रह गरेको छ । उक्त प्रोटोकलहरू पालना गर्न  र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन एवं सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहन समेत सबैमा अनुरोध गरेको हो । 

अहिले १० मिनेट पहिला नै म्यासेज आउने गरेको त्यो १० मिनेट भित्र सेल्टरमा पुगिसक्नुपर्ने बताए ।

एनआरएनए इजरायलका महासचिव अल महम्मद मियाले आफ्नो सात वर्षे इजरायल बसाइको क्रममा सबैभन्दा डरलाग्दो अवस्था बनेको बताएका छन् । मिसाइल आक्रमणबाट मर्ने र घाइते हुनेहरू घरबाहिर निस्केको कारण भएको उनको भनाइ छ । 

‘अलिकति क्षति भयो । बिल्डिङहरूमा पनि क्षति भयो । दुई जना मान्छे मरेको छ । २१ जना घाइते छन् । अहिलेलाई त्यस्तो केही भएको छैन । अब बेलुकासम्मलाई के हुन्छ हेरौँ । अब नर्मल होस् भन्ने कामना गर्ने हो,’ मियाले भने ।  

अहिले १० मिनेट पहिला नै म्यासेज आउने गरेको त्यो १० मिनेट भित्र सेल्टरमा पुगिसक्नुपर्ने बताए । नेपालीहरू सबै जना सकुशल रहेको र अहिलेसम्म त्यस्तो केही नभएको समेत बताए । 

‘दाजुभाइहरूसँग, दिदीबहिनीहरूसँग सम्पर्क हुँदा सबै आफ्नो हिसाबले काम गरिरहनुभएको छ । नयाँ आउने भाइबहिनीहरू अलिकति डराए जस्तो फिलिङ गर्नुभएको थियो हिजो । हामीले सम्झाउनुपर्ने कुराहरू सम्झायौँ । अहिलेसम्मलाई त्यस्तो केही पनि छैन,’ मियाले भने । 

इजरायल सरकारले सबैतिर बन्द गरेको उनको भनाइ छ । बाहिर हिँड्न लकडाउन नै जस्तो गरिदिएको उनको भनाइ छ । 

शक्तिशाली देश भएको कारणले यहाँको जनताहरू जति सेफ हुन्छन्, नेपालीहरू पनि त्यतिकै सेफ हुने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप