शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा बैठक सार्न एमालेले पत्र पठाएकोमा विपक्षी दलहरू असन्तुष्ट

बुधबार, ०३ कात्तिक २०७८, २१ : १२
बुधबार, ०३ कात्तिक २०७८

बागमती प्रदेशसभाको बैठक सार्न नेकपा एमालेले गरेको मागप्रति विपक्षी दलका नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । विपक्षी गठबन्धनसहित प्रदेशका अन्य दलका नेताले नेकपा एमालेले अल्पमतमा परेको सरकारको आयु लम्ब्याउने खेलस्वरुप प्रदेशसभा बैठक सार्न खोजेको आरोप लगाएका हुन् ।

बागमती प्रदेशको प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक बुद्धिमान माझीले एमालेले प्रदेशसभाको बैठक सार्न प्रस्ताव गर्दै एमालेद्वारा सभामुख समक्ष पत्र पठाउनु गलत भएको बताए ।

प्रदेश सरकार अल्पमतमा परिसकेको अवस्थामा संसदबाट विश्वासको मत लिन छाडेर अल्पमतकै सरकारलाई केही दिन कायम राख्न एमालेका नेताहरु प्रदेशसभा बैठक सार्ने प्रयासमा जुटेको उनको भनाइ छ ।

उनले संसदमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावलाई केही दिन टार्न कै लागि संसदीय मर्यादा र परम्परालाई नै प्रभाव पार्ने गरी प्रदेशसभा बैठक सार्न एमालेले प्रस्ताव गरेको आरोप लगाए । यता नेपाली काँग्रेसका सचेतक छिरिङ दोर्जे लामाले विपक्षी दलसँग सल्लाह नै नगरी प्रदेश सरकार र सत्तारुढ दल एमालेले आफु अनुकुल प्रदेशसभा चलाउन खोजेको आरोप लगाए ।

लामाले संसदमा पेस भएको विश्वासको मत सम्बन्धी प्रस्तावलाई निष्कर्षमा पु-याउनु पर्नेमा विभिन्न बहाना गर्दै सरकारको आयु लम्ब्याउन खोज्नु गलत भएको बताए । अल्पमतमा रहेको सरकारले विश्वासको मत लिने प्रक्रियालाई चाँडोभन्दा चाँडो टुङ्ग्याउनुपर्ने उनको भनाइ छ ।

यता ३ जना सांसद् रहेका विवेकशील साझा पार्टीका संसदीय दलका नेता रमेश पौड्यालले मुख्यमन्त्री शाक्यको दल विभाजित भएको अवस्थामा अल्पमतको सरकारको नेतृत्व गर्नेभन्दा विश्वासको मत सम्बन्धी प्रस्तावको प्रक्रिया अघि बढाई निष्कर्षमा पु-याउनुपर्ने बताए ।

मुख्यमन्त्री शाक्य आफैँले विश्वासको मत लिनका निम्ति संसदमा प्रस्ताव पेस गरेको अवस्थामा उक्त प्रस्तावको प्रक्रियालाई  जतिसक्दो छिटो टुङ्ग्याउनु पर्ने उनको भनाइ छ । प्रदेशसभा बैठक सार्न एमालेले प्रदेशसभाका सभामुख समक्ष पठाएको पत्र सरकारको आयु केही दिन लम्ब्याउने प्रयासबाहेक अरु केही नभएको उनले प्रस्ट पारे ।

नेमकिपाका संसदीय दलका नेता सुरेन्द्र राज गोर्साईले पनि नेकपा एमालेले सरकारको आयु लम्ब्याउने खेल खेलिरहेको आरोप लगाए । बुधबार एमालेले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशनको कारण देखाउँदै बिहीबार बस्ने भनिएको प्रदेशसभा बैठक सार्न प्रदेशसभाका सभामुखलाई पत्र पठाएको हो ।

बिहीबार बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मत विभाजन गर्ने सम्भावित कार्यसूची छ । सत्तारुढ दल विभाजन भएका कारण मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको हो ।

प्रदेशसभामा एमालेसँग बहुमत जुट्ने अवस्था छैन । त्यसैले पनि सरकारको आयु केही दिन लम्ब्याउने प्रयासस्वरुप एमालेले प्रदेशसभा बैठक सार्न पत्र पठाएको विपक्षी दलहरूको भनाइ छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप