मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री पाण्डेद्वारा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर अवलोकन

शुक्रबार, १९ कात्तिक २०७८, १७ : २४
शुक्रबार, १९ कात्तिक २०७८

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले चन्द्रागिरि नगरपालिका वडा नं १२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’को आज अवलोकन एवं निरीक्षण गरेका छन् । यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले  यातायातको साधनको प्रयोगात्मक परीक्षाका लागि सो भेहिकल एकेडेमीलाई ‘ट्रायल सेन्टर’का रूपमा स्वीकृत दिएको छ ।

 नेपालको सबैभन्दा ठूलो र सुविधासम्पन्न दाबी गरिएको सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । पछिल्लो समय कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सञ्चालन हुँदै आएको छ ।  

मुख्यमन्त्री पाण्डेलाई एकेडेमीका अध्यक्ष राजेश घिमिरे, महाप्रबन्धक माधवप्रसाद अधिकारी, सञ्चालकत्रय रामनारायण घिमिरे, देवेन्द्र प्रधान तथा पूर्ण श्रेष्ठले एकेडेमीले गरिरहेका कामका बारेमा  जानकारी गराएका थिए ।
सो अवसरमा उनीहरुले मुख्यमन्त्री समक्ष लाइसेन्स प्राप्त गर्ने सहज वाताबरण तयार गरिदिन , ‘ट्रायलको कोटा ’बृद्धि गरिदिन , लाइसेन्स परीक्षाका लागि फाराम भर्न ‘सर्वर’लाई चुस्त राख्ने वातावरण तयार गरिदिन तथा प्रदेश कार्यालयबाट पनि लाइसेन्स वितरणका लागि उचित वातावरण तयार गरिदिन आग्रह गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरले हाल गरिएको सेवाको उच्च प्रशंसा गर्दै प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् । सो अवसरमा प्रदेशसभा सदस्य रमा आले मगरको समेत उपस्थिति रहेको थियो । 

कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा आर्थिक सङ्कट परेको जनाइएको छ । “सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमी चरम आर्थिक समस्यामा परेको  छ । सरकारको आग्रह, सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र एकेडेमी सञ्चालन गरेका हौँ । हामी चरम आर्थिक सङ्कट छौँ, सरकार तथा स्थानीय निकायबाट समेत  सुविधा पाएका छैनौँ । ” एकेडेमीका सञ्चालक रामनारायण घिमिरे भने ।

उनका अनुसार सो एकेडेमीमा लाइसेन्सका लागि दैनिक दुई हजार भन्दा बढी प्रयोगात्मक परीक्षा (ट्रायल दिन) सञ्चालन  गर्न सकिने आवश्यक पूर्वाधार रहेको छ तर सरकारले को ‘ट्रायलको कोटा’ निर्धारण गरिदिँदा आफ्नो क्षमता उपयोग गर्न पाएको छैन । 

एकेडेमीले सामाजिक दायित्व अन्तर्गत कोरोनाका बन्दाबन्दीका समयमा गर्भवती, मिर्गौला, मुटु, क्यान्सर, फोक्साका बिरामीलाई आफ्ना सवारी साधनमार्फत अस्पताल जान र आउन निःशुल्क यातायातको व्यवस्था गरेको थियो ।

यसैगरी नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख आर्थिक सहयोगसमेत गरेको थियो । साथै एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याएको महाप्रबन्धक अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप