शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ओली विराटनगरमा, नेकपा एकीकृत समाजवादीले बहिष्कार गर्ने

सोमबार, २२ कात्तिक २०७८, १३ : ०७
सोमबार, २२ कात्तिक २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली सोमबार विराटनगर आएका छन् । बडा दसैँ, तिहार र छठ पर्वको अवसरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न उनी दिउँसो विराटनगर आएका हुन् ।

ओली सहभागी हुने कार्यक्रमका लागि विराटनगर आसपासबाट एमालेका सयौँ कार्यकर्तालाई विराटनगर ल्याइएको छ । कार्यक्रममा ओलीसँगै प्रदेश र केन्द्रका अन्य नेता पनि सहभागी हुने बताइएको छ ।

अध्यक्ष ओली आजै साँझ काठमाडौं फर्कने कार्यक्रम छ । कार्यक्रममा विभिन्न दलका प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गरेपछि ओलीले कार्यकर्तासँग भेटघाट गर्ने एमाले प्रदेश १ का सचिव विनोद ढकालले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादी नजाने

एमालेले सोमबार आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) भने नजाने भएको छ । ओली सहभागी हुने कार्यक्रममा आफ्नो पार्टीको सहभागिता नरहने नेकपा (एकीकृत समाजवादी) मोरङका प्रवक्ता ओसिम आलमले बताए ।

कात्तिक १३ मा आफ्नो पार्टीले चाडपर्वको शुभकामना तथा चियापान कार्यक्रम आयोजना गर्दा एमालेलाई पनि आमन्त्रण गरिएको तर एमाले नआएकाका कारण आफू पनि एमालेको कार्यक्रममा नजाने उनको भनाइ थियो ।

‘हामीले उहाँहरूलाई निम्तो पठाएका थियौं तर आउनुभएन,’ प्रवक्ता आलमले भने, ‘हामीलाई पनि निम्तो गर्नुभएको रहेछ तर हाम्रो पार्टी त्यहाँ जाँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप