बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कर्जा प्रवाह बढेकाले तरलता अभाव भयो : गभर्नर अधिकारी

मङ्गलबार, २३ कात्तिक २०७८, २१ : ०१
मङ्गलबार, २३ कात्तिक २०७८

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बढी कर्जा प्रवाह हुँदा तरलता अभाव भएको बताएका छन् । नेपाल बैंकर्स सङ्घको ३५औँ साधारणसभामा गभर्नर अधिकारीले आर्थिक वर्षको सुरुमै सोचेअनुरुप रेमिट्यान्स नआउनु, आयात बढेर बाह्य क्षेत्रमा दबाब परेको र सरकारी खर्च बेलैमा नहुँदा तरलतामा चाप परेको बताए ।

उनले अर्थतन्त्रको पुनःरूत्थान चाँडो हुन ऋण विस्तार सहयोगी भएकाले पनि अभाव भएको उल्लेख गर्दै संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गरे । उनले नाफा मात्र खोज्ने प्रवृत्ति हुँदा ऋण विस्तार भएको भन्दै बैंकरमा अनुशासन कायम हुन जरुरी भएको बताए । उनले कोभिडको असहज अवस्थामा पनि बैंकले अर्थतन्त्र र वित्तीय क्षेत्र जोगाउन महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।

अर्थविद् डा शङ्कर शर्माले बैंकिङ क्षेत्र संवेदनशील क्षेत्र भएकाले यसको व्यवस्थापन र सञ्चालनमा विशेष ध्यान दिन आग्रह गरे । उनले वाणिज्य बैंकको सेवालाई प्रतिस्पर्धी र प्रविधिमैत्री बनाएर उपभोक्ताको सेवालाई सहज बनाउन अनुरोध गरे । सङ्घका निवर्तमान अध्यक्ष भुवन दाहाल र वर्तमान अध्यक्ष अनिल उपाध्ययायले बैंकमा २० प्रतिशतभन्दा बढी सम्पत्ति रिजर्भ रहेकाले अहिले नै तरलता अभावमा अत्तिनुपर्ने अवस्था नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप