सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

डीएसपी सरुवामा आचारसंहिताको धज्जी : जिल्ला इञ्चार्जमा खड्काको ह्याट्रिक !

सरुवा माग्नेलाई एआईजीको जवाफ– शक्तिकेन्द्रबाट फोन गराऊ
शुक्रबार, २६ कात्तिक २०७८, १५ : २३
शुक्रबार, २६ कात्तिक २०७८

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार ९५ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गर्दा आफैले बनाएको आचारसंहिताको धज्जी उडाएको आरोप लागेको छ । प्रहरी संगठनमा डीएसपीहरूको सरुवालाई लिएर असन्तुष्टि चुलिएकै समयमा उनी भने भारत भ्रमणमा निस्किएका छन् ।

प्रहरी महानिरीक्षक क्षेत्रीले आफैले बनाएको आचारसंहितालाई प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्रीको दबाबमा कुल्चेर डीएसपीहरूको सरुवा गरेको आरोप छ । शक्तिकेन्द्रमा पहुँच नभएका र लामो समयदेखि इन्चार्ज हुन नपाएका डीएसपीहरू यसपटक पनि सरुवामा छुटेका छन् । तर, शक्तिकेन्द्रमा पहुँच भएका डीएसपीहरूलाई भने आचारसंहिता लत्याउँदै आकर्षक ठाउँमा पोष्टिङ गरिएको छ ।

प्रहरी नियमावली–२०७१ र प्रहरी आचारसंहिता–२०७७ मा सरुवा, बढुवा र अन्य स्वार्थ पूरा गर्न बाह्य प्रभाव पार्न नहुने उल्लेख छ । डीएसपीले एकपटक जिल्ला इन्चार्ज र एकपटक ईलाका इन्चार्ज बन्न पाउनेगरी आन्तरिक कार्यविधि बनाएर प्रहरी प्रधान कार्यालयले लागू गरेको लामो समय भइसकेको छ ।

सो कार्यविधिलाई भत्काउँदै प्रहरी महानिरीक्षक क्षेत्रीले डीएसपी सुमित खड्कालाई तेस्रो पटक जिल्ला इन्चार्ज बनाएका छन् । यसअघि डोल्पा र रुकुम जिल्ला इन्चार्जको भूमिकामा रहेका खड्कालाई अहिले सल्यान जिल्लाको कमाण्ड गर्ने जिम्मेवारी दिइएको छ । त्यसैले पनि उनलाई पछिल्लो समय प्रहरी संगठनमा ‘जिल्ला इन्चार्जमा ह्याट्रिक गर्ने डीएसपी’ भन्न थालिएको छ । जिल्ला इन्चार्जमा एक वर्षभन्दा बढी समय बस्न नपाइने भए पनि खड्का डोल्पाको इन्चार्ज हुँदा शक्तिकेन्द्रको आडमा दुई वर्ष बसेका थिए ।

​कमाण्ड गर्नसक्ने क्षमता भएका र अवसर नपाएकालाई कमाण्ड गर्ने अवसर दिनुपर्ने सरुवा नीति भए पनि शक्तिकेन्द्र रिझाउन सक्नेहरुले लगातार कमाण्डको अवसर पाएका छन् । महानगरीय प्रहरी वृत्त सिंहदरबारको कमाण्ड गरिसकेका डीएसपी कौशल बुढाथोकीलाई अहिले भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयको इन्चार्ज बनाइएको छ ।

उपत्यकामै रहेर दोस्रो पटक इन्चार्ज पाउने अर्का डीएसपी हुन् गौतम मिश्र । यसअघि महानगरीय प्रहरी वृत्त सातदोबाटोको कमाण्ड गरेका मिश्रलाई अहिले बालाजु वृत्तको इन्चार्ज तोकिएको छ । बालाजुमा कार्यरत निर्मल बुढाथोकीलाई ९ महिनामै हटाएर उनको ठाउँमा मिश्रलाई पठाइएको हो ।

डीएसपी ठगबहादुर केसीलाई पनि दोस्रो पटक इन्चार्ज दिइएको छ । रुकुम पश्चिमको इन्चार्जबाट सरुवा भएको छोटो समयमै उनलाई ईलाका प्रहरी कार्यालय बुटवलको इन्चार्ज बनाइएको हो ।

मन्त्रीका स्वकीय सचिवको बोलवाला

प्रहरी कर्मचारीको सरुवा र बढुवा सम्बन्धी नीति बनाउने र कार्यान्वयन गर्ने कर्मचारी प्रशासन शाखाका जिम्मेवार अधिकारीहरु यस पटक डीएसपी सरुवा सम्बन्धमा भूमिकाविहीन जस्तै भए । गृहमन्त्रीका स्वकीय सचिवले सरुवाको सूची तयार गरेपछि प्रहरी प्रधान कार्यालयस्थित कर्मचारी प्रशासन कार्यालयका अधिकारीहरु छक्क परेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी प्रधानमन्त्री कार्यालय र गृहमन्त्रीले दिएको सूची बोकेर प्रहरी प्रधान कार्यालयमा पुगेका थिए । अवधि नपुगेका डीएसपीहरूलाई समेत फालेर केसीले नै सरुवाको सेटिङ तयार गरेको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

देउवाको स्वकीय सचिव भानु देउवाको दबावमा डिएसपी अनिल घिमिरेलाई महानगरीय प्रहरी वृत कालिमाटीको इन्चार्ज बनाइएको छ । भानुले घिमिरेलाई कालिमाटी पठाउन प्रहरी महानिरीक्षकलाई यसअघि ३ पटक फोन र म्यासेज गरेको चर्चा छ ।

सुदूरपश्चिमका काँग्रेस नेतालाई भनसुन गराएर डीएसपी नरेन्द्र चन्दले तेस्रो पटक इन्चार्ज बन्ने अवसर पाएका छन् । यसअघि महानगरीय प्रहरी वृत्त बौद्ध र बझाङको कमाण्ड गरेका चन्दलाई अहिले जुम्लाको इन्चार्ज बनाइएको छ ।डीएसपी अनन्तराम शर्मालाई सिंहदरबारस्थित सुरक्षा गणको इन्चार्ज बनाइएको छ । केही समयपछि अवकाशमा जान लागेका डीएसपी रामहरी पाण्डेलाई सुरक्षा गणबाट राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ ।पूर्व गृहमन्त्री खुमबहादुर खड्काको भतिजा विश्वराज खड्का पाँचौ पटक इन्चार्ज चलाइरहेका छन् । प्रहरी महानिरीक्षक क्षेत्रीले दसैँअघि खड्कालाई काज सरुवा गरेर महानगरीय प्रहरी वृत्त दरबारमार्गको इन्चार्ज बनाएका थिए ।

सरुवा छलेर ‘काज’

बिहीबार बिहान लामो सरुवा सूची निकालेको प्रहरी प्रधान कार्यालयले एकछिनपछि फेरि काज सरुवाको सूची निकालेको छ । डीएसपी भावेश रिमाललाई काज सरुवा गरेर ईलाका प्रहरी कार्यालय गजुरी, धादिङको इन्चार्ज बनाइएको छ । हरिनन्दन चौधरीलाई वडा प्रहरी कार्यालय मोरङ, उमाशंकर प्रसाद यादवलाई ईलाका प्रहरी कार्यालय बरहथवा र लक्ष्मण बहादुर शाहीलाई कैलालीस्थित ईलाका प्रहरी कार्यालय सुख्खडमा काज सरुवा गरिएको छ ।​ शक्तिशालीहरुले अवसर पाउँदा शक्तिकेन्द्रमा पहुँच नभएकाहरु चाहिँ निरीह बनेका छन् । शक्तिशालीहरुलाई ठाउँ दिन इप्रका मिर्चैयामा कार्यरत राजेन्द्र श्रेष्ठलाई ९ महिनामै तानिएको छ ।महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत डीएसपी दिपक गिरी ३ वर्षदेखि इन्चार्ज हुनबाट बञ्चित भएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओ बसेको आधारमा डीएसपी राजन लिम्बुलाई पनि इन्चार्ज हुने अवसरबाट बञ्चित गरिएको छ ।

एआईजीको जवाफ– माथिबाट फोन गराऊ

मानव श्रोत तथा प्रशासन विभागका प्रमुख हुन् एआईजी विश्वराज पोखरेल । प्रहरीको सरुवा र बढुवा गर्ने जिम्मेवारी उनकै विभाग मातहत पर्छ । सरुवा माग्न जाँदा प्रहरी अधिकृतहरूलाई उनले ‘माथिबाट फोन गराऊ’ भनेर पठाउने गरेको प्रहरी अधिकृतहरु बताउँछन् ।

प्रहरी महानिरीक्षक क्षेत्रीले दलका नेता, मन्त्रीहरु र उच्च तहका कर्मचारीलाई भेट्दा अनुमति लिनुपर्ने र सरुवा–बढुवाका लागि दबाब दिन नपाउने आचारसंहिता जारी गरेका थिए । तर, एआईजी पोखरेलले नै आचारसंहिताको ‘धज्जी’ उडाएर प्रहरी कर्मचारीलाई ‘माथिबाट फोन गराउन’ आदेश दिने गरेको चर्चा पनि प्रहरी प्रधान कार्यालयमा व्याप्त छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप