निजी क्षेत्रलाई कर्णालीमा लगानी गर्न मुख्यमन्त्री शाहीको आग्रह
मुख्यमन्त्री जीवनबहादुर शाहीले निजी क्षेत्रको सहयोगबिना प्रदेशको विकास सम्भव नभएको भन्दै कर्णालीमा लगानी गर्न आग्रह गरेका छन् । सुर्खेत उद्योग वाणिज्य सङ्घको वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले कर्णाली लगानीका लागि उपयुक्त स्थान भएको बताए ।
मुख्यमन्त्री शाहीले जलविद्युत्, जडीबुटी, खानी र कृषिजन्य क्षेत्र लगानी निजी क्षेत्रलाई आह्वान गरे । “यहाँ लगानीका लागि प्रचुर सम्भावना छन्, कच्चा पदार्थ पर्याप्त छन्”, शाहीले भने, “मझौला र ठूला प्रकृतिका उद्योगहरू सञ्चालन गर्नुस्, प्रदेश सरकार त्यसका लागि लगानीमैत्री वातावरण सिर्जना गर्न तत्पर छ ।”
उनले कोरोना महामारीका कारण प्रदेश सरकारले अघिल्ला दुई वर्षदेखि लगानी सम्मेलन आयोजना गर्न नसकेको बताए । प्रदेश सरकार उद्योग क्षेत्रसम्म सडक, विद्युत् र शान्ति सुरक्षाको व्यवस्था मिलाउन तयार रहेको मुख्यमन्त्री शाहीको भनाइ थियो । उनले भने, “कर्णालीमा ठूलो परिमाणमा लगानी गर्नुस्, बाह्य लगानीकर्तालाई पनि साझेदारीका रूपमा बोलाउनुस्, सरकार तपाईँहरुको लगानी डुब्न दिँदैन ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका जिल्ला–नगर उपाध्यक्ष दिनेश श्रेष्ठले लगानीमैत्री वातावरण नभएकै कारण कर्णालीमा आर्थिक गतिविधि बढ्न नसकेको विचार व्यक्त गरे । “प्रदेश सरकारले यदि लगानीमैत्री वातावरण बनाउँछ भने हामी यहाँ आउन तयार छौँ”, श्रेष्ठले भने, “कर्णालीमा गरेको लगानी डुब्दैन भन्ने विश्वास सरकारले हामी व्यवसायीलाई दिलाउनुपर्यो ।”
कोरोना भाइरस महामारीका कारण विगत तीन वर्षदेखि हुन नसकेको सङ्घको साधारणसभा संयुक्तरूपमा आयोजना गरिएको हो । साधारणसभामा सङ्घका अध्यक्ष धनबहादुर रावतले ३६ र ३७औँ वार्षिक नीति तथा कार्यक्रम तथा महासचिव लक्ष्मण कँडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही अवसरमा सुर्खेत उद्योग वाणिज्य सङ्घले मुख्यमन्त्री शाहीलाई २५ बुँदे मागपत्र बुझाएको छ ।
सङ्घले कर्णालीको आर्थिक विकासका लागि एक जिल्ला एक उद्योग स्थापना, चौकुने र लखरपाटा सिमेन्ट उद्योग, माथिल्लो कर्णाली जलविद्युत् आयोजना, अर्ग्यानिक कृषि अनुसन्धान केन्द्र, जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र र प्रादेशिक मेडिकल कलेजको स्थापना तथा सञ्चालनका लागि आवश्यक पहल गर्नुपर्नेलगायत माग समेटेर ज्ञापनपत्र बुझाएको हो ।
त्यस्तै सङ्घले आर्थिक पत्रकारिता पुरस्कार सुर्खेतका तीन पत्रकारलाई प्रदान गरेको छ । आर्थिक पत्रकारिता पुरस्कार (२०७६) बाट नेपाली रैबार अनलाइनका सुशील खड्का, २०७७ बाट युगआह्वान दैनिकका देव राना र २०७८ बाट जागरण एफएमका सिर्जना बुढाथोकीलाई वितरण गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण