शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : भेटेन संस्थापन पक्षले उम्मेदवार

बिहीबार, १६ मङ्सिर २०७८, ०९ : २३
बिहीबार, १६ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बिहीबारदेखि प्रदेश अधिवेशन सुरु हुँदैछ । समय तालिका अनुसार प्रदेश १ को अधिवेशन उद्घाटन विराटनगरमा हुने कार्यक्रम छ । विराटनगर अस्पतालनजिकको खुला मैदानमा दिउँसो २ बजे अधिवेशन उद्घाटन हुने बताइएको छ । 

अधिवेशन सम्बन्धी तयारी र आयोजनाबारे छलफल गर्न बुधबार अधिवेशन आयोजक समितिका संयोजक एवम् काँग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बैठक बसेको छ । अधिवेशनका लागि विराटनगरस्थित काँग्रेस मोरङको जिल्ला पार्टी कार्यालयलाई सम्पर्क कार्यालय बनाइएको छ । 

अधिवेशन उद्घाटनसँगै प्रतिनिधिको नामावली यकिन गर्ने, शुक्रबार बिहान ८ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने र शुक्रबार नै अन्तिम नामावली प्रकाशन गर्ने तथा चुनावको तयारी थाल्ने निर्णय बैठकमा भएको छ ।प्रदेशको नेतृत्व चयनका लागि अधिवेशन उद्घाटन स्थलमै शनिबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने छ । निर्वाचनमा एक हजार सात सय प्रदेश प्रतिनिधिहरुले मतदात गर्न पाउने बताइएको छ । 

अधिवेशनको उद्घाटन नेता सिटौलाले गर्ने बताइएको छ । अधिवेशनमा काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइराला, केन्द्रीय सदस्य महेश आचार्य, प्रदेशका सांसद लगायतका नेताहरूको उपस्थिति रहने छ ।  

काँग्रेसको प्रदेश समितिमा एक अध्यक्ष, दुई उपाध्यक्ष, दुई महामन्त्री, तीन सह–महामन्त्री (एक महिला)सहित, हरेक जिल्लाबाट महिला १४ र खुला १४ सदस्य, प्रत्येक निर्वाचन क्षेत्रबाट छ महिला र १३ खुला सदस्य, खस आर्यबाट महिला सात र खुला पाँच, जनजातिमा महिला सात र खुला आठ, मधेसी महिला एक र खुला एक, दलित महिला एक र खुला दुई, थारुतर्फ महिला एक र खुला एक, मुस्लिममा खुला एक, अल्पसङ्ख्यक र अपाङ्गता भएका एक सदस्य पदमा निर्वाचित हुने बताइएको छ ।

भेटेन संस्थापन पक्षले उम्मेदवार 

संस्थापन पक्ष इतरका दुई जनाले पहिलो पटक हुन लागेको प्रदेश कमिटीका लागि सभापति पदको उम्मेदवारी घोषणा गरेका छन् । तर संस्थापन पक्षले उम्मेदवार टुङ्गो लगाउनुपर्ने भए पनि अहिलेसम्म सभापतिको उम्मेदवार नै भेटेको छैन । प्रदेश कमिटीका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम भोलि रहेको छ । तर पार्टीको संस्थापन पक्षले सभापतिका उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।

संस्थापन पक्षबाट सभापतिको आकाङ्क्षी नदेखिएपछि काँग्रेस झापाका पूर्व सभापति उद्धव थापालाई प्रदेश सभापतिको उम्मेदवारलाई समर्थन गरेको छ । थापा सिटौला समूहमा छन् । उनलाई काँग्रेस सभापति शेरबहादुर देउवाको पनि साथ दिएका छन् । संस्थापन पक्षबाट रामहरि खतिवडा र केन्द्रीय सदस्य अमृत आचार्य सभापतिमा उठ्ने चर्चा थियो । तर दुवै जना प्रदेश भन्दा केन्द्रमा नै रहने इच्छा प्रकट गरेपछि संस्थापन पक्षले प्रदेश समितिको लागि सभापतिको दाबेदार नै फेला पर्न नसकेको हो ।  १४ औँ महाधिवेशनमा सिटौलासँग सहकार्य गरेका देउवा प्रदेश १ को सभापति सिटौलानिकट थापालाई छाड्न तयार भएको नेताहरूले बताए ।  

संस्थापन इतरले नेताहरू राजीव कोइराला र गुरुराज घिमिरेमध्ये एक जनालाई उम्मेदवार बनाउने तयारी गरिरहेको छ । तर कसलाई उम्मेदवार बनाउने भन्ने बारेमा यकिन हुन बाँकी रहेको र यस विषयमा नेताहरू छलफलमा व्यस्त बनेको बताइएको छ । 

संस्थापन इतरबाट राजीव कोइरालालाई बलियो दाबेदारका रूपमा हेरिएको छ । संस्थापन पक्षको मोर्चाबन्दी तोड्दै आफ्ना उम्मेदवारलाई सुनसरीको जिल्ला सभापतिमा जिताएका कारण उनले टिकट पाउने सम्भावना बलियो रहेको बताइन्छ । 

काँग्रेसको संस्थापन र इतर समूहका नेताहरू सहमतिमा प्रदेशको पहिलो नेतृत्व चयन गर्नलाई पनि सकारात्मक छन् । नेताहरूले सभापतिको टुङ्गो लगाउन अहिले छलफल जारी रहेकाले आज अपराह्नसम्म कोइराला या घिमिरे मध्ये एक जना सभापतिको टुङ्गो लाग्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप