बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश १ मा हिमाली र पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामै खोप अभियान कमजोर

बिहीबार, २९ पुस २०७८, ११ : २९
बिहीबार, २९ पुस २०७८

कोरोना सङ्क्रमणको दर तीव्र रूपमा बढेपछि सरकारले कोरोना विरुद्धको खोपलाई स्वास्थ्य सुरक्षाको विकल्पका रूपमा अघि सारेको छ । खोप अभियानलाई सशक्त बनाउन सार्वजनिक स्थलमा खोप कार्डलाई अनिवार्य पनि गरिएको छ ।

प्रदेश १ का सघन बस्ती भएका झापा, मोरङ, सुनसरी जिल्लामै कोभिड–१९ विरुद्धको खोप लगाउने दर न्यून देखिएको छ । यतिसम्म कि हिमाली र पहाडी जिल्लाको तुलनामा सघन सहरी क्षेत्रका यी तीन जिल्लामा सचेत नागरिक नै खोप अभियानमा सरिक नभएको सरकारी तथ्याङ्क छ ।

सरकारले लक्षित वर्ग छुट्याई चरण–चरणमा कोरोनाविरुद्धको खोप अभियान चलाइरहेको छ । तर पनि खोप अभियानमा जनसहभागिता कम छ । विराटनगर–४ का राजेश राजवंशीले आफ्नै घर नजिकै रहेको वडाको खोप केन्द्रमा बुधबार आफ्नी श्रीमती रमितालाई खोप लगाउन लिएर गए । तर उनी आफैले अहिलेसम्म खोप लगाएका छैनन् । पाँच जनाको परिवारमा तीन सदस्य आमा, बुबा र राजेश लक्षित समूहभित्रै पर्ने भए पनि रमिताबाहेक अरु कसैले खोप लगाउन चासो देखाएका छैनन् ।

राजेश भन्छन्, ‘मेरो लो ब्लड प्रेसर लो छ, कोरोनाको खोप लगायो भने बिरामी भइन्छ, मरिन्छ भन्ने सुनेँ, त्यसैले लगाइनँ ।’

सरकारले कोभिड–१९ विरुद्धको खोपबारे बुझाउन सचेतना कार्यक्रम चलाइरहे पनि कतिपय सहरी क्षेत्रकै सर्वसाधारण विभिन्न अफवाहका कारण खोप लगाउन डराइरहेका छन् । खोपले कसरी काम गर्छ र यसको फाइदा के हुन्छ भन्ने पूर्ण ज्ञान भए पनि खोप लगाउन कतिपय उदासीन देखिएका छन् ।

Province & Districtwise Covid Vaccination
    Till 2078 Paush 26
Organisation unit / Data 1st Dose 2nd Dose (Complete Dose)
Province 1 2574563 1638368
TAPLEJUNG 57251 57310
SANKHUWASABHA 100014 79799
SOLUKHUMBU 62906 39397
OKHALDHUNGA 88775 69836
KHOTANG 95429 56380
BHOJPUR 86000 57691
DHANKUTA 79659 65332
TERHATHUM 49685 29689
PANCHTHAR 97971 66400
ILAM 153894 101162
JHAPA 447444 324965
MORANG 602365 320643
SUNSARI 464227 249294
UDAYAPUR 188943 120470

आधाभन्दा कम जनसङ्ख्याले लगाए पूर्ण खोप

प्रदेश १ मा कुल ४९ लाख ९५ हजार १६२ जनसङ्ख्या छ । त्यसमध्ये खोप लगाउने लक्षित जनसङ्ख्या ३२ लाख ७५ हजार ८६६ छ ।

प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका अनुसार मंगरबारसम्म प्रदेशका १४ जिल्लाका कुल लक्षित उमेर समूहमध्ये ४३.१६ प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । त्यसमा १८ वर्षभन्दा माथि उमेर समूहका पूर्ण खोपको मात्रा लगाउने लक्षित वर्गमध्ये ५०.५६ प्रतिशतले पूर्णमात्रामा खोप लिएका छन् ।

यस्तै, पहिलो डोजको खोपको मात्र लिनेको सङ्ख्या ७५.४६ प्रतिशत छ । त्यसैगरी १२ देखि १७ वर्ष उमेर समूहका लक्षित वर्गमध्ये मंगलबारसम्म शून्य दशमलव १३ प्रतिशतले दुवै डोजको खोप लिएका छन् । त्यसमा पहिलो डोजको खोप लिनेको जनसङ्ख्या ३८.३२ प्रतिशत छ ।

प्रदेश १ को पहाडी जिल्लामा १२ वर्षभन्दा माथिको कुल उमेर समूहका लक्षित वर्गमध्ये ५८.७९ प्रतिशतले पूर्णमात्रामा खोप लिएका छन् भने हिमाली जिल्लाका ४६.३४ र तराईका ४०.१३ प्रतिशतले मात्र पूर्णमात्रामा खोप लिएका छन् ।

हिमाली जिल्ला ताप्लेजुङमा १२ वर्ष उमेर समूहमाथिको कुल लक्षित वर्गमा ५६.६४ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको अवस्थामा झापाजस्तो सहरी बस्ती भएको जिल्लामा ४५.९० प्रतिशतले मात्र पूर्ण मात्रामा खोप लिएका छन् । यस्तै संखुवासभामा ६६.३७ प्रतिशत, ओखलढुंगामा ५९.५७ प्रतिशतले पूर्णमात्रामा खोप लगाएका छन् भने ती जिल्लाको तुलनामा सुगम र सहरी क्षेत्र मानिने मोरङमा ३७.८४, सुनसरीमा ३५.४४ प्रतिशतले पूर्ण मात्रामा खोप लिएका छन् ।

स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अधिकृत मुकुन्द दाहालले सरकारले चरण चरणमा खोप अभियान चलाए पनि हिमाली र पहाडी जिल्लाभन्दा तराईका तीन जिल्लामा खोप लगाउनेको सङ्ख्या अत्यन्तै कम रहेको बताए । ‘सरकारको खोप अभियानमा तराईका तीन जिल्ला झापा, मोरङ र सुनसरीका नागरिकको सहभागिता अत्यन्तै न्यून देखिएको छ,’ दाहाल भन्छन्, ‘पछिल्ला समय यिनै जिल्लामा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेको छ ।’

लक्ष्य पूरा हुनेमा चुनौती

प्रदेश १ सरकारले पुस मसान्तभित्र कुल जनसंख्याको ६० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने तयारी गरेको छ । जस अनुसार अहिले १४ वटा जिल्लामा आवश्यक भ्याक्सिन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत पठाइएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मंगलबारसम्म लक्षित वर्गको करिव ४४ प्रतिशतले मात्र पूर्ण खोपको मात्रा लिएका छन् । अबको दुई दिनभित्र थप १६ प्रतिशत नागरिकलाई खोप लगाउनुपर्ने अवस्था छ । तर त्यो पूरा हुनेमा चुनौती देखिएको छ । प्रदेश सरकारले पनि पुस महिनाभित्र लक्षित वर्गमध्ये ६० प्रतिशत नारिकलाई पूर्ण मात्राको खोप लगाउने योजनासहितको आफ्नो लक्ष्य भेटाउन मुस्किल हुने स्वीकारेको छ ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्री जयराम यादवले नागरिकमा खोप लगाउने पर्ने चेतनाको कमीले या अन्य कारणले  खोप लगाउने कार्यमा सहभागी नहुँदा समस्या भएको बताए । उनले प्रदेश सरकारसँग पर्याप्त मात्रामा खोप रहेको भन्दै ६० प्रतिशत लक्षित वर्गलाई पूर्ण मात्राको खोप लगाउने अभियानमा सरिक भई अनिवार्य खोप लगाउन आग्रह गरेका छन् ।

‘हिमाली तथा पहाडी क्षेत्रमा खोप लगाउने कार्यमा त्यहाँका नागरिक जागरुक देखिएका छन्,’ मन्त्री यादवले भने, ‘तराईका जिल्ला, सचेत नागरिक नै खोप लगाउने कार्यमा उदासीन देखिएका छन् ।’ 

Province & Districtwise Covid Vaccination  
            Till 2078 Paush 27
District / Data Total 18+ Total 12-17 years  Total 12+ years 
1st Dose Complete Dose 1st Dose Complete Dose 1st Dose Complete Dose
Mountain 74.55 68.89 74.18 0.00 74.49 58.79
Hill 65.78 54.31 76.61 0.00 67.37 46.34
Tarai 79.16 47.00 19.59 0.19 70.42 40.13
Province 1 75.46 50.56 38.32 0.13 70.01 43.16
TAPLEJUNG 64.92 66.38 28.25 0.00 59.54 56.64
SANKHUWASABHA 80.52 77.78 98.67 0.00 83.18 66.37
SOLUKHUMBU 77.80 58.57 95.78 0.00 80.43 49.98
OKHALDHUNGA 78.35 69.81 68.62 0.00 76.92 59.57
KHOTANG 69.79 49.88 89.13 0.00 72.63 42.56
BHOJPUR 70.40 57.06 88.04 0.00 72.99 48.69
DHANKUTA 55.58 57.74 86.24 0.00 60.07 49.27
TERHATHUM 62.14 44.74 74.07 0.00 63.89 38.18
PANCHTHAR 63.62 54.47 69.30 0.00 64.45 46.48
ILAM 63.36 48.97 68.19 0.00 64.07 41.78
JHAPA 78.00 53.79 4.24 0.00 67.18 45.90
MORANG 88.32 44.35 2.94 0.00 75.80 37.84
SUNSARI 71.56 41.41 29.63 0.69 65.41 35.44
UDAYAPUR 73.62 51.85 84.87 0.00 75.27 44.24

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप