शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विराटनगरको रानी नाकामा खोप कार्ड अनिवार्य, एकैदिन २२ जनामा सङ्क्रमित फेला

सोमबार, ०३ माघ २०७८, १९ : ०९
सोमबार, ०३ माघ २०७८

बढ्दो कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सीमा नाकाहरूलाई व्यवस्थित गर्न कार्य सुरु गरिएको छ । पूर्वी नेपालको मुख्य प्रवेश नाका विराटनगरको रानी नाकालाई व्यवस्थित गर्न खोप कार्ड तथा पीसीआर रिपोर्टलाई अनिवार्य गरिएको हो ।

मोरङ त्यसमा पनि विराटनगरमा कोरोनाको सङ्क्रमण दर बढेसँगै गएको पुस २५ गते बसेको जिल्ला कोरोना व्यवस्थापन समितिको बैठकले माघ १ गतेबाट रानी नाकाबाट सीमा वार–पारमा नेपाल तथा भारत देशका नागरिकका लागि अनिवार्य खोप कार्ड लागु गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार माघ १ गतेदेखि खोप कार्ड लागु गरिँदै आए पनि सोमबारबाट खोप कार्ड तथा पीसीआर रिपोर्ट नहुनेलाई नाकाबाट फर्काउन थालिएको छ । रानी नाकामा तैनाथ सुरक्षाकर्मीलाई भारतबाट नेपाल प्रवेशका लागि आउने नेपालीका लागि खोप कार्ड तथा खोप कार्ड नभएको अवस्थामा ४८ घण्टा भित्रको पीसीआर रिपोट देखाएपछि मात्र नेपाल प्रवेश गर्न पाउनेछन् ।

नेपालबाट किनमेलका लागि सीमापार बवार जोगवनी जाने नेपालीको हकमा पनि खोप कार्डलाई अनिवार्य गरिएको छ ।भारतबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट भारत प्रवेश गर्ने भारतीय नागरिकको हकमा भने खोप कार्ड अनिवार्य देखाउनुपर्ने नियमलाई कडाइका साथ लागु गरिएको छ ।यदि खोप कार्ड नभएका अवस्थामा उनीहरूलाई रानी नाकाबाट फर्काउन थालिएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

प्रजिअ दाहालका अनुसार नेपाली प्रशासनले रानी नाकाबाट भारत प्रवेश गर्ने दुवै देशका नागरिकलाई खोप कार्ड देखाउने नियम लागु गरेपछि किनमेलका लागि जोगवनी जाने नेपालीलाई पनि भारतीय प्रहरीले खोप कार्ड देखाउने नियम बनाएको छ ।

‘सामान्य अवस्थामा सीमा नाकामा तैनाथ भारतीय प्रहरीले  किनमेलका लागि जोगवनी जाने नेपालीलाई कुनै रोकावट थिएन,’ प्रजिअ दाहालले भने, हामीले सीमा नाकालाई व्यवस्थित गर्न खोप कार्ड तथा पीसीआर रिपोर्टलाई अनिवार्य सर्त बनाएपछि भारतीय पक्षले पनि किनमेलका लागि पुग्ने नेपालीको हकमा खोप कार्डलाई अनिवार्य बनाएको छ। जसका कारणले सीमा नाका व्यवस्थित गर्न  सहयोग पुगेको उनले बताए ।

प्रजि दाहालले बढ्दो कोरोना सङ्क्रमणलाई रोक्न सीमावारपारका लागि  चालिएको खोप कार्ड अनिवार्य गर्ने कुरामा कडाइका साथ लागु गरिने बताए ।उनले नेपालीको हकमा खोप कार्ड तथा पिसिआर रिपोट अनिवार्य तथा भारतीयको हकमा खोप कार्य अनिवार्य गरिएकाले दुवै मापदण्ड पुरा नगर्ने दुवै देशका नागरिकले नेपाल प्रवेश गर्न अब भने पाउने उनले बताए। स्थानीय प्रशासनले सीमापार बजार जान खोप कार्ड अनिवार्यसँगै भारतीय पक्षले पनि खोप कार्ड खोज्न थालेपछि दैनिक किनमेलका लागि जोगवनी पुग्ने नेपालीको संख्यामा पनि कमी आएको सीमामा कार्यरत प्रहरीको भनाई छ ।

सीमा क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीका एक अधिकारीका अनुसार सामान्य अवस्थामा करिब पाँच हजारको सङ्ख्या दैनिक किनमेलमा लागि सीमापारको बजार जोगवनी पुग्ने गरेका नेपाली खोप कार्डलाई अनिवार्य गरेपछि करिब १ हजारको सङ्ख्यामा सीमित भएको छ ।

सोमबार एकैदिन २२ जनामा सङ्क्रमित

विराटनगरको रानी नाकाबाट सोमबार नेपाल प्रवेश गर्ने २२ जनामा कोरोना पोजेटिभ देखिएको ।यो पुस महिना यताको हालसम्मकै बढी सङ्ख्या हो । सोमबार कुल १४६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ नेपालीसहित १९ भारतीयमा कोरोना पुष्टि भएको हो ।

रानी हेल्थ डेक्सकी अनमी यामुना सिटौलाका अनुसार पुस महिनाको ४ गतेपछि कोरोनाको केश देखा पर्न थाले पनि यो क्रम दैनिक रूपमा बढ्ने क्रममा रहेको बताइन् । उनले पुस महिना भन्दा माघ महिना लागेपछि ठुलो सङ्ख्यामा पोजेटिभ केश देखिएको बताइन्।

सिटौलाका अनुसार पुस महिनामा रानी नाकाबाट नेपाल प्रवेशका लागि आएका कुल २ हजार ३१८ जनाको एन्टिजेन परीक्षण गरिएका मध्ये ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।त्यसमा १७ जना नेपाली सङ्क्रमित भएका छन् भने बाँकी सङ्क्रमित हुनेको सङ्ख्या भारतीय नागरिक रहेका छन् ।

सीमा नाकामा होल्डिङ सेन्टर समेत हालको अवस्थामा नभएकाले भारतीयलाई भारतीय प्रहरीको समन्वयमा भारत फकाउने गरिएको छ भने नेपालीको हकमा आफन्तको जिम्मामा उनीहरूलाई हाम आइसोलेसनमा पठाइने गरिएको सिटौलाले बताइन् 

विराटनगर महानगरपालिकाले हेल्थ डेक्स सञ्चालन गरिरहेको छ। शङ्कास्पद नेपाली तथा भारतीय नागरिकलाई नेपाल प्रवेशका लागि एन्टिजेन परीक्षणलाई अनिवार्य गरिएको छ । एन्टिजेन परीक्षणमा सङ्क्रमणमुक्त देखिएको खण्डमा मात्र त्यस्ता नागरिकलाई मात्र नेपाल प्रवेश गर्न दिने गरिएको छ ।

प्रदेश १ मा सोमबारमात्र एकै दिन ६१७ जनामा कोरोना सङ्क्रमण भएको छ।८८९ जनाको पीसीआर परीक्षण गर्दा ५२१ र ३८० जनाको एन्टिजेन परीक्षण गर्दा ९६ जनामा सङ्क्रमण देखिएको हो ।त्यसमा सबै भन्दा बढी मोरङमा २२७ रहेका छन् ।

उनीहरू मध्येपनि विराटनगरका मात्र १९१ रहेका छन् । भारतसँग खुल्ला सीमा रहेको विराटनगरमा दैनिक जसो सङ्क्रमणको दर उच्च हुँदै गएको छ। हाल प्रदेश भरी सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १८१ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुव भट्टराई
ध्रुव भट्टराई
लेखकबाट थप