शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी बढ्दैछ आकस्मिक गर्भनिरोधक चक्कीको दुरुपयोग

बुधबार, ०५ माघ २०७८, १५ : ३४
बुधबार, ०५ माघ २०७८

 सूचना, प्रविधिको विकास र चेतनाको स्तर वृद्धिसँगै युवा पुस्तामा यौन सम्बन्धी उत्सुकता एवं जागरुकता देखिन थालेको छ । आधुनिकतासँगै अचेल प्रेम सम्बन्ध गाँस्ने, शारीरिक सम्बन्ध स्थापित गर्ने प्रवृत्ति पनि बढ्दो छ । यसरी शारीरिक सम्बन्ध बनाउँदा कतिपय युवतीले आकस्मिक गर्भनिरोधक चक्की प्रयोग गर्न थालेका छन् ।

पछिल्लो समय आकस्मिक गर्भ निरोधक चक्कीको व्यापार बढेको औषधि व्यवसायी बताउँछन् । पोखराबाट झण्डै तीस किलोमिटरको दुरीमा रहेको कास्कीको साविक सराङकोट गाविसको ठुलोखेलस्थित अंशु मेडिकल हलका सञ्चालक विवेक शर्माका अनुसार विवाहितदेखि अविवाहिताहरु समेतले अचेल आकस्मिक गर्भनिरोधक चक्की किन्ने गरेका छन् ।

समयको परिवर्तन, शिक्षा र चेतनाको विकाससँगै केही वर्ष यता मुलुकका गाउँबस्तीदेखि शहर बजारमा समेत आकस्मिक गर्भ निरोधक चक्कीको खपत बढेको व्यवसायीको भनाइ छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आकस्मिक गर्भ निरोधक चक्कीका रुपमा लिभोनर्जीस्ट्रल नामक हर्माेनलाई प्रस्तावित गरेको छ । यो महिलाहरुले खाने आपतकालीन गर्भनिरोधक हर्मोनजन्य चक्की हो ।

यसको प्रयोग असुरक्षित यौन सम्पर्क भएको चार दिन अर्थात् ७२ घण्टाभित्र १.५ मिलिग्रमको सिङ्गल मात्राका रुपमा प्रयोग गर्नुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्यपत्रमा उल्लेख छ । डब्लुएचओका अनुसार आकस्मिक गर्भनिरोधक चक्की शतप्रतिशत ग्यारेन्टी नभएको र यसको गर्भ रोक्ने प्रतिक्षमता लिवोनर्जीस्ट्रलमा ५२ देखि ९४ प्रतिशतसम्म रहेकाले असुरक्षित समागम भएको जतिछिटो प्रयोग गरियो, त्यति नै प्रभावकारी रहने बताइन्छ ।

अहिलेका युवा पुस्ताले आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग जथाभावी रुपमा गर्ने गरेका छन् । कतिपयले त नियमित अस्थायी साधनका रुपमा समेत यसको प्रयोग गरेको पाइन्छ । नियमित साधनका रुपमा नभई आपतकालीन गर्भ निरोधकारुपमा मात्र प्रयोग गरेमा यसको फेलर रेट कम हुन सक्छ । नियमित प्रयोग भएमा यसले नराम्रो खालका प्रतिअसरहरु देखा पर्ने, गर्भ निरोधको उपयोगी क्षमता नरहने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. नविनकुमार श्रेष्ठ बताउँछन् ।

उनका अनुसार यसको दुरुपयोग गरे स्वास्थ्य सम्बन्धि विभिन्न खालका असरहरु देखिन सक्छन् । बजारमा विभिन्न नाउँ, ब्रान्ड र डोजमा उपलव्ध हुने पिल्स छन् । मात्राका आधारमा एउटा चक्की एक पटकमात्र प्रयोग गर्नुपर्ने हुन्छ ।

आपतकालीन गर्भनिरोधक चक्की बजारमा सहजरुपमा उपलब्ध भएसँगै किशोरीदेखि लिएर अविवाहित र विवाहित महिलाले समेत असुरक्षित यौन सम्बन्धपछि यसलाई नियमित परिवारका साधनका रुपमा प्रयोग गर्दै आएको पाइन्छ ।

अहिले बजारमा परिवार नियोजनका अन्य अस्थायी साधनको तुलनामा आपतकालीन गर्भनिरोधक पिल्सको अत्यधिक प्रयोग बढ्दै गएको पोखराको पृथ्वीचोकस्थित रिपेश मेडिकल हलका सञ्चालक रविन्द्र पौडेलले बताए । उनले भने, ‘पछिल्लो समय टिन एजरदेखि गर्भधारण गर्ने उमेर समूहका महिलाहरुको पहिलो रोजाइमा इमर्जेन्सी पिल्स पर्ने गरेको छ । बजारमा पाइने अन्य परिवार नियोजनका साधनको तुलनामा आकस्मिक पिल्सकै माग बढी छ । त्यसपछि मात्र निलोकन ह्वाईटको माग हुने गरेको छ ।’

स्वाथ्यकर्मी समेत रहेका पौडेलले फार्मेसीमा आकस्मिक पिल्स किन्न आउने युवायुवतीले यसको प्रतिअसर (साइडइफेक्ट)का बारेमा कुनै जानकारी नै नलिइ ब्राण्डको नाम मागेर लैजाने गरेको बताए । दैनिक विभिन्न व्राण्डका करिव १०÷१५ वटाको हाराहारीमा आकस्मिक गर्भ निरोधक चक्की आफ्नो पसलबाट बिक्री हुने गरेको पौडेल बताउँछन् ।

प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. नविनकुमार श्रेष्ठका अनुसार यो चक्की आकस्मिक अवस्थामा भएको यौन सम्पर्कबाट हुन सक्ने गर्भधारणबाट बच्ने एउटा उपायमात्र हो । तर पछिल्लो समय यसको दुरुपयोग हुन थालेको छ । यसको नियमित प्रयोगले शरीरमा हर्मोनको स्तरमा बृद्धि गराई हर्मोन सम्बन्धी विभिन्न खालको जटिलता देखिन सक्ने स्वास्थ्यकर्मी बताउँछन् । डा. श्रेष्ठ भन्छन्, ‘यो चक्कीले यौन तथा एचआइभी एड्सजस्ता यौनजन्य संक्रमणबाट जोगाउँदैन । यसको नियमित प्रयोगले हाड खिइने, क्यान्सरको समस्या, मुटु रोगमा वृद्धि र शरीरको प्रतिरोधात्मक क्षमतामा ह्रास आउनेजस्ता समस्या देखापर्न सक्छ ।’ 

डाक्टर श्रेष्ठका अनुसार आकस्मिक गर्भ निरोधक चक्कीमा उच्च मात्रामा हर्मोन हुन्छ । यसको जथाभावी प्रयोगले महिलामा प्रजनन् सम्बन्धी समस्या उत्पन्न हुन सक्छ । महिनाबारीमा अनियमितता, रक्तस्राव भईरहने जस्ता असर देखापर्न सक्ने उनको भनाइ छ । यस चक्कीको प्रयोग पश्चात् महिलाहरुको डिम्ब वाहिनी नलीमा बहने डिम्बको उत्पादनलाई रोकेर गर्भवती हुने प्रकियालाई रोक्छ र निषेचित अण्डालाई गर्भासयसम्म जान रोक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरहरि पौड्याल
नरहरि पौड्याल
लेखकबाट थप