शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लघुवित्तको ऋण तिर्न नसकेर ६५ जना महिलाले गाउँ छाडे

शुक्रबार, ०७ माघ २०७८, १५ : २१
शुक्रबार, ०७ माघ २०७८

गुल्मीको गौडाकोटमा रहेको ग्लोवल आइएमई लघुवित्त संस्थाबाट ऋण लिएका ६५ जना महिलाले गाउँ छाडेका छन् । लघुवित्तका शाखा प्रमुख रामहरि पौड्यालका अनुसार ऋण तिर्न नसकेका उनीहरु गाउँ छाडेर कोही बुटवल, चितवन, दाङ, नेपालगञ्ज र भारतमा गई सम्पर्कविहीन भएर बसेका छन् ।

उनीहरुबाट झण्डै एक करोड ऋण असुली गर्न बाँकी रहेको पौड्यालले सुनाए । पोखरामा केन्द्रीय कार्यालय रहेको त्यस संस्थामा अहिले एक हजार ४०८ जना सदस्य छन् । स्पर्श लघुवित्त वित्तीय संस्थाका रुपमा ५ वर्ष अघिदेखि सञ्चालन रहेर गत पुस ३० गतेदेखि मर्ज भई ग्लोबल आइएमई लघुवित्तको नाममा सेवा प्रदान गर्दै आएको वित्तीय संस्थामा  ७ सय ४६ जना ऋणी रहेको पौड्याल बताउँछन् ।

ऋण तिर्न नसकी सम्पर्कविहीन रहेका ६५ जनामध्ये ४० देखि ५० जना तम्घासका हुन् ।

यसरी भाग्न बाध्य छन् महिलाहरु

गुल्मीको गुल्मीदरबार गाउँपालिका–४, बिरबास, जिमी गाउँकी  दिपा रेश्मी (नाम परिवर्तन) पनि ऋण तिर्न नसकी भाग्नेको सूचीमा छन् । उनका पति वैदेशिक रोजगारीका क्रममा दुबईमा छन् । रेश्मीले अन्य विभिन्न वित्तीय संस्थाबाट पनि ऋण लिएकी छन् ।

उनले गौडाकोटको ग्लोवल आइएमई लघुवित्तबाट १ लाख ७० हजार, सोही स्थानमा रहेको सुर्योदय लघुवित्तबाट १ लाख ७५  हजार, सोही स्थानकै उन्नति लघुवित्तबाट १ लाख ३० हजार, बलेटक्सारमा रहेको मैत्री बहुउद्देश्य सहकारी संस्थाबाट ८० हजार, सोही बजारको नेपाल एग्रो लघुवित्तबाट १ लाख ५० हजार, बलेटक्सारकै जनसेवी लघुवित्त, भेडुवाको आरम्भ लघुवित्त र तम्घासको जनउत्थान लघुवित्तबाट समेत सोही हाराहारीमा ऋण लिएकी छन् ।

भैरहवामा केन्द्रीय कार्यालय रहेको उन्नति लघुवित्त वित्तीय संस्थाको गौडाकोट शाखा प्रमुख सिर्जना वञ्जाडे केसीका अनुसार कतिपय महिलाले लघुवित्तबाट ऋण लिएर उत्पादनमुलक काम गरी आयआर्जन बढाएका पनि छन् ।

‘सबै ऋणीले अनुत्पादक कार्यमा मात्रै पैसा खर्चेर बिग्रेका छन् भन्ने नसोच्नुहोला, हाम्रोमा झण्डै १३ सय ५० जना महिला सदस्य हुनुहुन्छ,’ उनले भनिन्, ‘७५० जनालाई कुल ७ करोड २२ लाख ऋण प्रवाह गरेका छौं । उहाँहरुले विभिन्न पेशामा प्रगति गर्नुभएको छ ।’

आफ्नो संस्थाबाट ऋण लिएका केही ऋणी फरार रहेको उनले पनि स्वीकार गरिन् ।

गौडाकोटमै रहेको सबैको लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएका केही महिला पनि फरारको सूचीमा छन् । उक्त लघुवित्तकी  शाखा प्रमुख विपना खनालका अनुसार उक्त शाखामा ६७५ जना सदस्य छन् । त्यसमध्ये २८३ जना ऋणी छन् । ऋण लिएकामध्ये एक जना महिला भैंसी पालनका लागि ऋण लिएर दुई महिना अघि विदेश उडेको र अरु तीन जना महिला अन्य शहरमा बसेको शाखा प्रमुख खनालले बताइन् ।

उनका अनुसार होटल सञ्चालनका लागि ४ लाख ऋण लिएकी एक महिला आफ्नो घरको भैंसी समेत बेचेर हिँडेकी छन् ।  भेंडा पालनका लागि ९० हजार ऋण लिएकी अर्की महिला भेंडा गोठ रित्तै पारेर गाउँ छाडेकी छन् ।

जग्गा धितो राखेर बंगुर पालनका लागि ४ लाख ऋण लिएकी अर्की महिला घर मै रहे पनि बंगुरको खोर रित्तै छ ।

एकाध बाहेक अधिकांश लघुवित्तले अनुत्पादक क्षेत्रमा लगानी गरेका छन् । अरु थुप्रै लघुवित्तबाट ऋण लिएको थाहा पाउँदा पाउँदै पनि कतिपयले मनपरी ऋण लगानी गरेका छन् । ग्लोबल आइएमई लघुवित्तका गौडाकोट शाखा प्रमुख रामहरि पौड्याल पनि लघुवित्तको अस्वस्थ्य प्रतिस्पर्धाले विकराल स्थिति आउन थालेको स्वीकार गर्छन् ।

महिलाहरु ऋण लिन सहज पहुँच भएका कारण सुरुमा लघुवित्तप्रति आकर्षित हुँदै गएका देखिन्छन् । कसैले उत्पादनमुलक कार्यमा ऋण प्रयोग गरेर प्रगति पनि गरेका छन् तर जसले एउटा प्रयोजनमा ऋण लिएर अर्को प्रयोजनमा खर्च गरेका छन्, उनीहरु ऋण तिर्न नसकेर गाउँ छाड्न बाध्य भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप