मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

खाेटाङका दर्जनौँ विद्यालयको भवन निर्माणको काम वर्षौँदेखि अलपत्र

शनिबार, ०८ माघ २०७८, ०९ : ४४
शनिबार, ०८ माघ २०७८

खोटाङका दर्जनौँ विद्यालयका भवन निर्माणको काम वर्षौँदेखि अलपत्र परेको छ । आर्थिक वर्ष २०६९/०७० देखि आर्थिक वर्ष २०७२/०७३ को बीचमा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत विनियोजित बजेटबाट निर्माण सुरु गरिएको विद्यालयको भवन अलपत्र परेको हो । अनियमितता, विद्यालय व्यवस्थापन समिति  र विद्यालयभित्रको आन्तरिक द्वन्द्व, अख्तियारमा परेको उजुरी लगायतका कारण चार कोठे, ६ कोठे र आठ कोठे भवन निर्माणको काम अलपत्र परेको शिक्षा विकास तथा समन्वय इकाई खोटाङले जनाएको छ । 

दुई वर्षमा पूरा गर्ने गरी आर्थिक वर्ष २०७१/०७२ मा विनियोजित २४ लाखमा निर्माण सुरु गरिएको लक्ष्मी मावि बडहरेको चार कोठे भवन अलपत्र छ । फाउण्डेसन उठाएर टाई बिमसम्मको काम गरिए तर स्टीमेटविपरीत काम भएपछि सो भवनको काम हालसम्म अलपत्र छ । भवन निर्माणका लागि ल्याइएका सिमेन्ट, इँटा, बालुवा लगायतका निर्माण सामग्री असरल्ल अवस्थामा रहेको शिक्षा विकास तथा समन्वय इकाई खोटाङका प्रमुख सेमन्त गौतमले बताए । 

आर्थिक वर्ष ७०/७१ मा विनियोजित २४ लाखमा निर्माण सुरु गरिएको जनता मावि बतासेको चार कोठे भवनको काम हालसम्म अलपत्र छ । भवन निर्माणका लागि सबै भुक्तानी लगिसकेको भए पनि भवनको पहिलो तला ढलान गरेर दोस्राे तला निर्माणकै क्रममा अलपत्र बन्न पुगेको हो । सोही भवनको काम अलपत्र पारेका कारण तत्कालीन प्रअले अवकाश पाएको वर्षाैँ बित्दा समेत पेन्सन लिने बाटो खुलाउन सकेका छैनन् । जनता माविको भवन निर्माणमा भएको ढिलासुस्ती र अनियमितताविरुद्ध अख्तियारमा उजुरी परेको छ । 

आर्थिक वर्ष ७२/७३ मा विनियोजित २४ लाखमा निर्माण सुरु गरिएको याङसोला मावि छोरम्बुको पहिलो तला ढलान नहुँदै भवन निर्माणको काम अलपत्र परेको छ । हाल सो भवनको बाँकी काम पूरा गर्न विद्यालयले अग्रसरता देखाएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गौतमले बताए । 

आर्थिक वर्ष ६९/७० मा विनियोजित २४ लाखमा दुर्छिम मावि दुर्छिमको चार कोठे भवन निर्माण गरियो । तर, अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि सो भवनको फिनिसिङदेखि फरफराकको काम हालसम्म अड्किएको छ । फिनिसिङ नहुँदै अलपत्र परेको सो भवन प्रयोगमा भने ल्याइसकिएको छ ।

आर्थिक वर्ष  ७१/७२ मा विनियोजित २४ लाखमा च्यास्मीटार माविको चार कोठे भवन ठड्याइयो तर फिनिसिङको काम नहुँदै अख्तियारमा उजुरी परेपछि सो भवनको फरफारक अघि बढ्न नसकेको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ । यद्यपि, सो भवन प्रयोगमा आइसकेको छ । 

आर्थिक वर्ष ७२/७३ मा विनियोजित ६० लाखमा निर्माण सुरु गरिएको गंगोद्वय मावि दुबेकोलको आठ कोठे भवन निर्माणको काम अन्तिम चरणमा पुगेर अलपत्र परेको छ । विद्यालय भवनको संरचना तयार भए पनि फिनिसिङको काम बाँकी रहेको गौतमले बताए ।

आर्थिक वर्ष  ७२/७३ मा विनियोजित ६० लाखमा निर्माण सुरु गरिएको सप्तकन्य मावि चिप्रिङको आठ कोठे भवन फिनिसिङ नहुँदै अलपत्र छ । हाल सो भवनको बाँकी काम पुरा गर्न विद्यालय परिवार तातेको जनाइएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित ६० लाखमा कालिका माबि बाकाचोलको आठ कोठे भवन निर्माण गरिए तर अख्तियारमा उजुरी परेकाले सो भवन छानबिनकै क्रममा रहेको छ । 

आर्थिक वर्ष २०७२/०७३ मा विनियोजित ४८ लाखमा भगवती मावि खोटाङ बजारको छ कोठे भवन निर्माण गरियो तर अनियमितताको आशङ्कामा अख्तियारमा उजुरी परेको छ । अख्तियारले उजुरीको किनारा नलगाए पनि सो भवन भने सञ्चालनमा ल्याइसकिएको छ । १९ लाख ५० हजारमा सरस्वती मावि छितापोखरीको तीन कोठे भवन बनाइएको थियो तर अख्तियारमा उजुरी परेकाले फरफराककै काम हालसम्म अड्किएको जनाइएको छ ।

कतिपय विद्यालयको भवन निर्माणको काम पुरा भए पनि अख्तियारमा परेको उजुरीको किनारा लाग्न नसक्दा फरफराक रोकिएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गौतमले बताए । अर्कातर्फ कतिपय विद्यालयको भवन निर्माणकै क्रममा स्थानीय सरकार कार्यान्वयनमा आए । तर, स्थानीय सरकारले त्योभन्दा अघि सुरु भएका योजनाको प्राविधिक मूल्याङ्कनमा अग्रसरता नदेखाउँदा पनि भवनको फरफारक हुन नसकेको विद्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप