शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : हट्ला त प्रदेशसभाको अवरोध ?

एमालेले चकलेट नपाएर रोएको बच्चाको जस्तै व्यवहार गर्‍यो : काँग्रेस
आइतबार, ०८ फागुन २०७८, ११ : ४९
आइतबार, ०८ फागुन २०७८

बागमती प्रदेशसभा बैठक फागुन १६ गतेका लागि आह्वान गरिएको छ । सत्तापक्ष र प्रतिपक्ष बीचको सहमतिपछि १६ गतेका लागि बैठक राखिएको हो । प्रदेशसभाको चालू अधिवेशनको नवौं बैठक फागुन १६ गते दिउँसो १ बजे बस्ने बागमती प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

प्रमुख प्रतिपक्षी एमालेको लगातारको अवरोधका कारण प्रदेशसभा बैठक पुस ८ यता बस्न सकेको थिएन । प्रदेशसभा बैठक सञ्चालनका लागि सभामुख सानुकुमार श्रेष्ठको सक्रियतामा सर्वदलीय बैठक बसेर सत्तापक्ष र प्रतिपक्षबीच छलफल भएको थियो ।

गत बुधबार सभामुख श्रेष्ठले हेटौंडामा आह्वान गरेको सर्वदलीय बैठकमा फागुन १६ गते प्रदेशसभा बैठक राख्ने सहमति भएको थियो । फागुन १५ गते पुनः सर्वदलीय बैठक राखेर थप छलफल गरी १६ गते प्रदेशसभा बैठक आह्वान गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्ष दल बीच सहमति जुटेको हो ।

सर्वदलीय बैठकमा सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरूको सहभागिता रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

चित्त बुझ्दो जवाफ आए हाउस चल्छ : पौडेल

सदनमा विभिन्न माग राख्दै सदन अवरुद्ध पार्दै आएको एमालेले सरकारले चित्त बुझ्दो जवाफ दिएमा बैठक सुचारु गर्न दिने जनाएको छ । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले रातोपाटीसँग कुराकानी गर्दै आफूहरुले उठाएका मागका बारेमा सरकारले चित्त बुझ्दो जवाफ दिए हाउस चल्न दिने बताएका हुन् ।

गत बुधबारको सर्वदलीय बैठकमा पनि आफूहरुले सरकारको जवाफ माग गरेको र सोही विषयमा सहमति भएको उनले बताए । १६ गते आह्वान गरिएको बैठकमा आफूहरुले उठाएका विषयमा सरकारको तर्फबाट मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले जवाफ दिने र उक्त जवाफ चित्त बुझेको खण्डमा मात्र बैठक चल्न दिने सहमति भएको उनले बताए ।

‘सभामुखले आह्वान गरेको बैठकमा म आफै उपस्थित थिएँ । हामीले त्यहाँ पनि उठाएको कुरा भनेको हाम्रा मागका बारेमा सरकारको जवाफ हो । हाम्रो मागको विषयमा मुख्यमन्त्रीले आगामी बैठकमा सम्बोधन गर्ने भनेपछि हामी बैठक सञ्चालन गर्न तयार भएका हौं,’ पौडेलले भने, ‘मुख्यमन्त्रीले चित्त बुझ्दो जवाफ दिए हाउस चल्छ । सदन रोक्ने हाम्रो इच्छा होइन ।’

सरकारले सदनबाट चित्त बुझ्दो जवाफ नदिएसम्म आफ्ना मागमा अडान लिने र सदन चल्न नदिने उनले प्रस्ट पारे । एमालेले मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्नुपर्ने, आफ्नो नेतृत्वको सरकारले ल्याएको योजना कटौती फिर्ता गर्नुपर्ने, योजना बिहिन ढंगबाट रकमान्तर गर्नु र नेकपा (एकीकृत समाजवादी) को कमिटी गठन भएको स्थानमा मात्रै बजेट दिने भनेर मुख्यमन्त्रीले दिएको अभिव्यक्तिलाई लिएर माफी माग्नुपर्ने लगायत माग राख्दै सदन अवरुद्ध गरिरहेको छ ।

यिनै विषयमा सरकारले चित्तबुझ्दो जवाफ दिएपछि एमालेले संसद् चल्न दिने सहमतिमा पुगेको जनाइएको छ ।

एमालेले चकलेट नपाएर रोएको बच्चाको जस्तै व्यवहार  गर्‍यो  : काँग्रेस

जनताको प्रतिनिधिमूलक आवाज राख्ने ठाउँमा एमालेले निरन्तर अवरोध गर्नु गलत भएको नेपाली काँग्रेसका एक नेताले बताए । विगतमा काँग्रेस विपक्षमा रहँदा समेत रचनात्मक ढंगबाट विरोध गरे पनि सदन अवरोध गर्ने र सदन कब्जा गर्नेतर्फ नगएको भन्दै उनले एमालेलाई रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न सुझाव दिए ।

लोकतन्त्र र संघीयतालाई संस्थागत गर्दै संविधान कार्यान्वयन गर्नतर्फ अग्रसर हुनुपर्ने बेलामा एमालेले एउटा विषयमा अडान राखेर सदन नै चल्न नदिनु गलत कार्य भएको उनको भनाइ छ ।

‘बच्चाले चकलेट नपाएर रोए जस्तै व्यवहार एमालेले गरिरहेको छ । संविधान, लोकतन्त्र र संघीयतालाई सक्रिय रुपमा कार्यान्वयन गर्नुपर्ने बेलामा जनताको प्रतिनिधिहरुको आवाज नै रोक्न खोज्नु गलत हो,’ उनले भने, ‘विगतमा काँग्रेस पनि प्रतिपक्षमा बसेको थियो । रचनात्मक ढंगबाट हामीले सहयोग नै गरेका हौं । त्यसबाट पनि एमालेले सिक्नु पर्छ ।’

सदन सञ्चालन र एमालेका मागका बारेमा १५ गतेको सर्वदलीय बैठकमा छलफल हुने उनले बताए । सो बैठकले केही निचोड निकाल्ने उनको भनाइ छ ।

‘१५ गते नै काँग्रेसको जिल्ला अधिवेशन पनि छ त्यसले पनि यसलाई थोर बहुत प्रभाव पार्छ । हामी छलफलमा छौं । सदन चल्न दिनुपर्छ,’ उनले भने । सरकारलाई आगामी बजेटका लागि आवश्यक तयारीका लागि पनि सदन चलाउनु पर्ने बाध्यता छ । सरकारले आगामी वैशाखबाट वर्षे अर्थात् बजेट अधिवेशन सञ्चालन गर्नुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप