मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेको सरकार बालुवामा राखेको नक्कली मुला : केपी ओली

शनिबार, २८ फागुन २०७८, १४ : ११
शनिबार, २८ फागुन २०७८

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई बालुवामा राखेको नक्कली मुलाको संज्ञा दिएका छन् । शनिवार नेपाल निजामती कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार जरा बिनाको मुला भएको बताएका हुन् ।

उनले सानो मुलाको पनि सानो जरा हुने उल्लेख गर्दै अहिलेको सरकार मात्र पाँच जनाको परमादेशले बनेको सरकार भएको र यसलाई उखेल्ने दिन कुरिरहेको बताए । उनले सरकारलाई उखेल्न लाग्दा भागिरहेको उल्लेख गर्दै आगामी निर्वाचनबाट पूर्ण रुपमा उखेलिने बताए ।

उनले भने, ‘यो गभर्मेण्टलाई ठिक छ कि छैन तपाईहरुले धेरै छुट्याउने होइन, यसलाई ठिक हामी लगाइहाल्छौँ नि । यो केही होइन, मुलाको पनि अलिकति सानोतिनो भएपनि जरा हुन्छ, यसको त, जरा न फरा पाँच जनाले नियुक्त गरेको छ । केही पनि छैन, टपक्क टिप्यो भने उखेलिन्छ । बालुवामा लगेर राखेको नक्कली मुला यसो एकछिन बालुवामा राखेजस्तो हो यो । फुत्त तान्दा जरो सरो केही पनि छैन, हल्लाउनु पनि पर्दैन पुक्लुक्क आउँछ । हामी खाली यसलाई तान्ने दिन खोजिरहेका छौँ । भाग्न खोजिरहेको छ । भागेर कहाँ जान्छ, जान्छ, चुनाव त गर्नैपर्छ ।’

अध्यक्ष ओलीले आफ्नो कार्यकालमा नेपाली काँग्रेसका नेताहरुले कर्मचारीहरुलाई सरकारलाई सहयोग नगर्न दबाव दिएको दाबी गर्दै उनीहरुको सोच अलोकतान्त्रिक सोच भएको जिकिर गरे ।  उनले निजामती कर्मचारीहरुले पूर्ण रुपमा सरकारलाई सहयोग गर्नुपर्ने भन्दै सरकार ठिक बेठीक छुट्याएर नबस्न आग्रह गरे ।

ओलीले भने, ‘नेपाली काँग्रेसले म प्रधानमन्त्री हुँदा एउटा कर्मचारी भेला गर्यो । र सरकारलाई असहयोग गर भनेर काँग्रेसका नेताहरुले सरकारलाई असहयोग गर्न आह्वान गरे । कर्मचारीका बीचमा त्यो भन्दा अलोकतान्त्रिक सोच के हुन्छ । कर्मचारीलाई असहयोग गर सरकारलाई भनेपछि सरकार कसरी चल्छ ? त्यो सिस्टम विरोधी सोच हो । लोकतन्त्र विरोधी सोच हो । त्यो रेकर्ड नेपाली काँग्रेसका नेताहरूबाट आएको अहिलेसम्म पनि छ । म आश्चर्यचकित पनि भएँ, दुखित पनि भएँ । तर कर्मचारीको हिसावले तपाईले सरकारको काम गर्नैपर्छ । सरकारलाई सहयोग गर्नुहोस् । सरकारलाई गलत गर्नबाट जोगाउनुस् । सरकारको तर्फबाट जनतालाई दिने डेलिभरी ठिक समयमा दिनुहोस् । सरकारमा अहिले को छ भन्ने कुरा होइन, तपाईहरु सरकारी कर्मचारी हो, कर्मचारीले सरकारलाई असहयोग गर्छु भन्न मिल्दैन ।’ 

अध्यक्ष ओलीले अहिले सरकारमा रहेका केही मन्त्रीहरु परमादेशबाट झुक्किएर पावरमा पुगेको बताए ।  अध्यक्ष ओलीले भने, ‘कहिले कहिले खासै स्ट्रेन्थ नभएका, केही पनि नभएका मानिसहरु पनि झुक्कल पुक्कल, अनेक जाल, तिक्डम, परमादेश जारी भएका बखत हुलमालमा पावरमा पुग्न सक्छन् । त्यसरी पावरमा पुगे भने त्यस्ता मान्छेहरूमा उन्माद चढ्न सक्छ । त्यो उन्मादले देश, जनता, लोकतन्त्रको हित, संविधानको रक्षा, कार्यान्वयनको वास्ता गर्दैन ।’

अध्यक्ष ओलीले नेकपा एमालेलाई आगामी निर्वाचनमा पहिलाको जस्तो कमजोर नआँक्न चेतावनी समेत दिए । उनले एमालेले आगामी निर्वाचनमा स्वीप आउट गर्ने दाबी गरे ।  ओलीले भने, ‘एमालेको सन्दर्भमा कुनै पनि ठाउँमा हिजोको जस्तै परिणामको कसैले कल्पना नगरे हुन्छ । एमालेले स्वीप आउट गर्दैछ ।

एमालेलाई ५ वर्ष सत्ता सञ्चालन गर्न दिएको भए ८० प्रतिशत भन्दा बढी भोट एक्लै एमालेले ल्याएर बढारिदिन्थ्यो । त्यसैले कसैले ५ वर्ष कुर्न सकेनन् । यिनीहरुले सोचेका होलान् बीचमै परामादेशबाट एमालेलाई हटाइयो अब रोकिन्छ होला भनेर तर एमाले एउटा भेल हो । रोक्ने कोशिस गर्यो कि बगाउँछ । त्यसकारण यो भेल निर्वाचनको माध्यमबाट अघि आउँदैछ ।’

अध्यक्ष ओलीले (नेकपा माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै आफ्नो सरकार एउटा टेकोले नबन्ने भएपछि अर्को टेको लगाएर बनाएको र उक्त टेको भाँचिएको बताए । उनले स्वार्थी र कमजोर टेको परेकोले पूरा सरकार चलाउन नसकेको बताए । ओलीले संसदले भत्ता खाने बाहेकको काम गर्न नसकेको आरोप समेत लगाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप