शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनको नयाँ अवस्थाले फेरि पूरै विश्वलाई संकट

शुक्रबार, ०४ चैत २०७८, १६ : ५६
शुक्रबार, ०४ चैत २०७८

युद्ध, मुद्रास्फीति र फेरि चीनमा कोभिड महामारीका कारण लकडाउन । यो विश्वव्यापी आपूर्ति शृङ्खलाका लागि एक वास्तविक आँधीका रुपमा आएको छ । यो अवस्थामा सामग्री कसरी दोस्रो देशसम्म पुग्न सक्छ भन्ने अर्को चिन्ता थपिएको छ ।

चीनमा कुनै अशान्ति पैदा भयो भने यसको व्यापक असर पूरै विश्वमा पर्छ किनकि चीन विश्वकै ठूलो उत्पादनकर्ता मुलुक हो । यदि तपाईले केही बस्तु अनलाइनबाट किन्नु भयो भने यो सेन्चेनमा बनेको हुन सक्ने सम्भावना अधिक रहन्छ । चीनको दक्षिण पूर्वमा रहेको यो शहरको जनसंख्या १.७५ करोड छ र यहाँ चीनको करिब आधा अनलाइन रिटेल निर्यातक छन् ।

कोरोनाको मामिलामा व्यापक वृद्धि भएपछि सेन्चेनमा आइतबारदेखि ६ दिनको लकडाउन लागु गरिएको छ । यसका कारण विश्वको व्यवसायमा व्यापक झट्का लागेको छ ।

बन्दरगाहमा जहाजको भिड

विश्वका मालवाहक जहाजको निगरानी गर्ने प्रोजेक्ट–४४ का अनुसार चीनका कयौं बन्दरगाहमा अहिलेदेखि नै जहाजको संख्यामा वृद्धि हुन सुरु भइसकेको छ । प्रोजेक्ट–४४ का वरिष्ठ उपाध्यक्ष एडम कम्पनले भने, ‘येन्तियन बन्दरगाहमा रोकिएका जहाजमा २८.५ प्रतिशत वृद्धि भएको छ । यो बन्दरगाह युरोप र उत्तर अमेरिकी सामान निर्यात गर्ने सबैभन्दा ठूलो बन्दरगाह हो ।

यो सोही बन्दरगाह हो, जसलाई गत वर्ष कोभिडका कारण बन्द गरिएको थियो र यसैका कारण क्रिसमसको सामान डेलिभरीमा ढिलो भएको थियो । चिनियाँ लुनार (नयाँ वर्ष)को विदापछि चीनमा म्यानुफ्याक्चरिङ उत्पादन बढ्न लागेकै समयमा कोरोना प्रतिबन्ध लगाइएको थियो । चीनको नयाँ कोभिड प्रतिबन्ध व्यापक कडा छ । तर, यो धेरै लामो समयसम्म नजाने बीबीसीले जनाएको छ ।

कम्पनीहरुको तयारी के छ ?

ब्रिटिस चेम्बर अफ कमर्श चाइनाका प्रबन्ध निर्देशक स्टिफ लिन्च भन्छन्, ‘यो दुई धार भएको तरबार हो । चीनले धेरै छिटो यस्तो निर्णय लियो, जसका कारण अप्ठ्यारो अवस्था पैदा भयो । तर यसको तुलनामा अवस्था धेरै छिटो सामान्य हुनेछ ।’

लिन्च अगाडि भन्छन्, ‘हामीले यस्तो लकडाउन देखिसकेका छौं, त्यसैले कम्पनीहरुले एक मजबुत आपूर्ति शृङ्खला व्यवस्थापन तयार गरेको छ ।’ उदाहरणका लागि ई–कमर्शको सबैभन्दा ठूलो कम्पनी अमेजनले चीनमा रहेका कयौं मौज्दात खरिद गरेको छ, जुन ओमिक्रोनको केस बढ्दाको समयमा कुनै पनि अप्ठ्यारो परिस्थितिबाट बचाउन सकिन्छ ।

‘हालैको प्रतिबन्धबाट कुनै पनि ठूलो समस्या यसका लागि पैदा हुन्छ भन्ने लाग्दैन,’ अमेजनका प्रवक्ताले बीबीसीलाई भने, ‘हामी यी प्रतिबन्धपछि आफ्नो उपलब्ध सामग्री यो क्षेत्रका छिमेकको गोदाममा पठाउन सक्षम हुनेछौं ।’

अर्को एक उदाहरण फक्सकनको पनि छ । यो कम्पनीले एप्पलको आईफोन निर्माण गर्छ । उसले आफ्नो  उत्पादन अर्को म्यानुफ्याक्चरिङ साइटमा सारेको छ । उसले आफ्ना कर्मचारीलाई ‘बबल’ प्रणालीमा काम गर्न भनेको छ । यसमा उसको क्याम्पमा मानिस बस्नेछन् र काम गर्नेछन् ।

हाङसेङ बैंक चाइनाका वरिष्ठ अर्थशास्त्री डेन वाङ भन्छन्, ‘फक्सकनका लागि सायद यो सहज होला । तर ती अन्य निर्माता जो अधिकतम यसै क्षेत्रमा छन् र पार्ट्स पठाउन अन्य परिवहनमा निर्भर छन्, उनीहरुका लागि चीनभित्र पनि परिवहन निषेध गरिएकाले मुश्किल हुन सक्छ ।’

चीनको वर्तमान नीति
चीनको यो ताजा अवस्था उसको शून्य कोभिड नीतिका कारण बनेको छ । बिहीबार चीनका राष्ट्रपति शी चिनफिङले देशका शीर्ष नेताहरूसँगको बैठकमा देश यसै नीतिमा अडिग रहने बताएका थिए । महामारीको प्रतिबन्धका कारण आर्थिक कठिनाई नहुने समेत उनले बताए ।

यद्यपि यो अवस्थाबाट खर्च बढिरहेको र ठूला कम्पनीहरु चिनियाँ बजारमा आफ्नो उपस्थितिमा पुनर्विचार गरिरहेको संकेत मिलेको छ । सिंगापुरको सबैभन्दा ठूलो सामान ढुवानी गर्ने कम्पनी हाउलियोका मुख्य कार्यकारी अधिकारी अलभिन इयाका अनुसार उद्योग हालसम्म अधिक लचिलो भएका छन् र चीनबाहेक अन्य विकल्प पनि खोजिरहेका छन् ।

उनी भन्छन्, ‘कयौं मुख्य कम्पनीले आफ्नो संसाधन र योजनालाई विविधिकरण गरेका छन् र उनीहरु आफ्नो सबै विकल्पलाई एकै स्थानमा राखिरहेका छैनन् ।’ ‘दक्षिणपूर्वको दृष्टिबाट हेर्दा हामी सम्भावित बस्तु भएको देख्न सक्छौं । भियतनाम, मलेसिया र इन्डोनेसियाको कारखानामा अर्डर बढिरहेको छ,’ उनको भनाइ थियो ।

जेनेटाका प्रमुख विश्लेषक पीटर स्यान्डले पनि यस कुरामा सहमत छन् । उनी भन्छन्, ‘कम्पनीले आपतकालीन योजनाका अनुसार आफ्नो मौज्दातदेखि लिएर छिमेकी देशमा उत्पादनको एकाईलाई बढाएको छ । अधिक माग रहेको क्षेत्रका उपभोक्ताका लागि उत्पादन बन्द हुने छैन । किनकि यो सबैभन्दा महँगो विकल्प हुन सक्छ ।’ -बीबीसी हिन्दी

अमेरिकन चेम्बर अफ कमर्श इन चाइनाका माइकल हार्टले आफ्ना कयौं सदस्यले त्यहाँबाट आफ्नो काम अन्यत्र सार्ने सोच बनाइरहेको बताएका छन् । आफ्नो काम अन्यत्र सार्ने योजना बनाइरहनेको संख्या गत वर्ष २२ प्रतिशत थियो र यसका लागि उनीहरुले कोभिडको हवाला दिएका थिए । तर यो संख्या अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतभन्दा बढीमात्रै थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप