शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के हो समाजवाद र पुँजीवाद ?

आइतबार, ०६ चैत २०७८, १२ : ०९
आइतबार, ०६ चैत २०७८

अहिले नेपालमा नेपाली राजनीतिक दलहरुले आफूलाई समाजवादी भनेर नामको पछाडि फुर्को जोड्ने चलन बढ्दै गइरहेको छ । यो सँगसँगै नेताहरुको बोलीमा समेत समाजवाद र पुँजीवादका बढी कुराहरु आउने गर्छन् । समाजवादी पार्टी भनेर फुर्को जोड्नेहरुमा जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी लगायत केही ठूला पार्टी हुन् भने अन्य दलहरुले पनि समाजवादी भन्ने नामसँग साइनो गाँस्न रुचाएका छन् । त्यस्तै नेपाली काँग्रेसले समाजवादलाई पार्टीको सिद्धान्तमा राखेता पनि आफूलाई बढी मात्रामा पुँजीवादी पक्षधर भन्ने गर्दछ ।

समाजवाद आफैमा एउटा अति राम्रो शब्द हो तर यो शब्दको धेरैले दुरुपयोग गर्ने गरेका छन् । र, समाजवादी आचरण देखाउँदैनन् । त्यस्तै आफूलाई समाजवादी वा पुँजीवादी पक्षधर भन्नेहरुले पनि समाजवाद र पुँजीवाद भनेको खासमा के हो भन्ने विस्तृतमा बुझेका छैनन् । कार्यकर्ता तहसम्म कसैले यसबारे प्रश्न गरेमा अक्क न बक्क बन्नुपर्ने स्थिति छ । यही सन्दर्भमा समाजवाद र पुँजीवाद के हो भन्नेमा आधारित रही यो आलेख प्रस्तुत गरिएको छ ।

वास्तवमा समाजवाद राज्यको त्यस्तो आर्थिक अवस्थासँग गाँसिएको शब्द हो, जहाँ देशको सम्पूर्ण अर्थतन्त्रको स्वामित्व सरकारमा निहित हुन्छ । यसलाई अर्को शब्दमा सामाजिक स्वामित्व पनि भनिन्छ । यदि सामाजिक स्वामित्व नीति अँगाल्ने राज्य छ भने त्यसलाई समाजवादी राज्य भनिन्छ । सामाजिक स्वामित्व भन्नाले वस्तुको उत्पादन, नियन्त्रण र व्यवस्थापन सबै राज्यमै हुनु हो । यसरी समाजवादको सिद्धान्तलाई वकालत गर्ने व्यक्ति वा समूहलाई समाजवादी भनिन्छ । समाजवादमा निजीत्वको सम्भावना न्यून हुन्छ र सामूहिकताको सम्भावना बढी हुन्छ । समाजवादमा कुनैपनि कच्चा पदार्थ, औजार र उपकरण, कलकारखाना तथा श्रम सबै उत्पादनसँग सम्बन्धित तत्व हुन् । र, यसबाट उत्पादित वस्तु समूहमा संकलन गरिन्छ । अनि आवश्यकता अनुसार वितरण गरिन्छ वा यसमा निजी संघ संस्थाको कुनै गुन्जायस छैन भनिन्छ ।

सामाजिक स्वामित्वका पनि विभिन्न प्रकार छन्, जसलाई आफ्नो देश र परिवेश सुहाउँदो तरिकाले लागु गर्न सकिन्छ । जस्तै ः साझा स्वामित्व, सहकारी संस्था, प्रत्यक्ष सार्वजनिक स्वामित्व र राज्यद्वारा सञ्चालित स्वतन्त्र संस्थान आदि । समाजवादी सिद्धान्त लागु गरिएका देशमा व्यक्तिले गरेका उत्पादनलाई तलब वा सामानका रुपमा प्रदान नगरी उनीहरुको स्वास्थ्य, शिक्षा, सुरक्षा र अन्य आवश्यक प्रयोगमा लगाउने गरिन्छ भने लेनिनवादी दृष्टिकोणमा चाहिं राज्यले संकलन गरेका यस्ता उत्पादनलाई आवश्यकताका आधारमा नभई कामका आधारमा वितरण गनुपर्छ भन्ने रहेको छ ।

संसारका अधिकांश कम्युनिष्ट मुलुकहरुले आफूलाई समाजवादी मुलुक भन्न रुचाउँछन् र ती राज्यले सामाजिक स्वामित्व विधि अपनाउँछन् । समाजवादको उस्तै अर्थ कम्युनिष्ट हो, त्यसकारण प्रायः कम्युनिष्टहरुले नै आफूलाई समाजवादको व्याख्याता र समाजवादी भन्ने गर्छन् । उदाहरणको लागि उत्तर कोरिया, भियतनाम, क्युवा आदि । तर चीनले आफूलाई समाजवादी भन्दा पनि पुँजीवादी राज्य भन्न रुचाउने गर्छ ।

समाजवादसँग आउने अर्को शब्द पुँजीवाद पनि हो । यहाँ पुँजीवाद समाजवादको ठिक विपरीत अर्थ राख्छ । समाजवादले श्रम, उत्पादन र नियन्त्रण व्यक्तिको नभई संयुक्त रुपमा समाजको वा राज्यको हुन्छ भन्ने मान्यता राख्छ भने पुँजीवादले श्रम, उत्पादन र त्यसको नियन्त्रण व्यक्ति स्वयंको हुने कुरा गर्छ । वस्तु उत्पादन भएपछि त्यसको बिक्री वितरण खुला बजारमा प्रतिस्पर्धाको माध्यमबाट दर कायम गरेर हुन्छ भन्नु पुँजीवाद हो । त्यस्तै पुँजीवाद र कम्युनिज्मबीच फरक छुट्याउने हो भने कम्युनिज्ममा उत्पादन र त्यसको पारिश्रमिक आफूले काम गरेको आधारमा पाउनुपर्ने हुन्छ भन्ने कुरा पाईन्छ । यसरी शुद्ध समाजवाद र समाजवादी अवस्था पाउन अहिले निकै कठिन छ र यो अवस्था कुनै मुलुकमा पनि पाईंदैन ।

विश्वको औद्योगिक क्रान्ति पश्चात प्लेटोको समयावधिमा बढी मात्रामा प्रचलनमा आएको यो समाजवादी व्यवस्था हाल इतिहास भैसकेको छ । वास्तवमा समाजवादको यो सिद्धान्तलाई सन् १८३० को सेरोफेरोमा आइपुग्दा विभिन्न रुपले अर्थ लगाउने गरिएको इतिहास छ । सन् १८४८ मा आइपुग्दा पुँजीवादका प्रमुख व्याख्याता कार्ल मार्क्स र एंगेल्स्ले ल्याएको कम्युनिष्ट घोषणापत्रमा समाजवादलाई हरेकको स्वतन्त्र विकासको शर्त नै सबैको स्वतन्त्र विकास हो भन्ने धारणा आएपछि यसको व्याख्या वैज्ञानिक समाजवादको ढंगले हुन थालेको हो । मार्क्स र एंगेल्सले ल्याएको त्यतिबेलाको अवधारणा समाजमा रहेका कुरीति, अन्धविश्वास, थिचोमिचो, चरम गरिबी, काला र गोरा बीचको प्रवृत्ति वा दास प्रथा आदि सुहाउँदो थियो, जसले गर्दा यो निकै लोकप्रिय हुनपुग्यो र मार्क्सको दर्शन अहिलेसम्म पनि उत्तिकै सह्रानीय रहेको छ ।

तर अहिलेका कम्युनिष्टले गर्ने समाजवादको व्याख्या भन्दा अहिलेको परिवेशमा सामाजिक प्रजातन्त्र वा प्रजातान्त्रिक समाजवाद भन्ने अवधारणा नै भरपर्दो र कार्यान्वयन योग्य हुन पुगेको छ । प्रजातान्त्रिक समाजवादमा उत्पादनमा राज्यको पूर्ण नियन्त्रण नभई जनताद्वारा निर्वाचित सरकारले उत्पादन र आयलाई स्वच्छतापूर्वक वितरण गर्छ । र, आर्थिक वृद्धिविकासलाई बढी महत्व दिन्छ भन्ने मान्यता स्थापित भएको छ । यही मान्यतालाई स्वीडेन र डेनमार्कले अपनाएका छन् । चीन जस्तो कम्युनिष्ट मुलुकले पनि यसलाई परिमार्जन गरी आत्मसात गरेको छ र चीन विश्व अर्थतन्त्रमा उदाउँदो सर्वशक्तिमान राष्ट्र बन्ने क्रममा रहेको छ ।

यसरी निष्कर्षमा के भन्न सकिन्छ भने कम्युनिष्ट र समाजवाद राजनीतिक र आर्थिक प्रणालीको रुपमा रहेको छ भने पँुजीवाद एक आर्थिक प्रणालीको रुपमा र प्रजातन्त्र राजनीतिक पाटोको रुपमा रहेको छ । यसको अर्थ समाजवादीले कम्युनिष्ट सिद्धान्तको राजनीति गर्छन् भने पुँजीवादीले पुँजीलाई आर्थिक प्रणालीको रुपमा विकास गर्ने र प्रजातन्त्रलाई राजनीतिक प्रणाली मान्दछन् । त्यसकारण सबै कम्युनिष्ट समाजवादी हुन् भने सबै समाजवादी चाहिं कम्युनिष्ट होइनन् ।

जे होस् अहिलेको बदलिँदो परिवेशमा विश्वभरबाट कम्युनिष्ट वा समाजवादी सिद्धान्त एक हिसाबले असफल साबित भैसकेको अवस्थामा संसारभर पुँजीवादको लहर आएको छ । नेपालले पनि पुँजीवादकै बाटो समाएको छ । यस्तो स्थितिमा पुँजीवादबाट हुने फाइदाको बारेमा बुझ्नुपर्ने हुन्छ । पुँजीवाद नै अहिलेको एक्काइसौं शताब्दीको सफल प्रयोग हो र यसलाई अपनाउनुपर्छ भन्ने पक्षमा निम्न मत अगाडि राख्न सकिन्छः

̵    व्यक्तिगत उत्पादनलाई खुला बजारमा प्रतिस्पर्धा गर्न दिँदा उपभोक्तालाई कम मूल्यमा, बढी गुणस्तरीय र मन लागेका उत्पादन प्रयोग गर्ने बाटो खुल्छ ।

̵    खुला बजारको प्रतिस्पर्धालाई अनुमान गरी व्यक्तिले आफ्नो क्षमतालाई भरमग्दुर उपयोग गरी बढी उत्पादन गर्ने र बढी श्रम गर्ने क्षमता विकास गर्छ, जसले गर्दा उत्पादकत्वमा वृद्धि हुन्छ ।

̵    बढी श्रम गर्ने बानीको विकास हुन्छ र श्रमको उचित कदर गर्ने परिपाटी बस्छ ।

̵    धेरै जनालाई गरिबीबाट बचाउन र जनजीवन उच्च कायम गर्न मद्दत पुर्‍याउँछ ।

̵    दिनहुँ भइरहने नयाँ प्रतिस्पर्धामा जुध्न आधुनिक विधिहरुको अनुसन्धान तथा अबलम्बन गर्न सहयोग पुग्छ ।

̵    परिश्रमी जनशक्तिका कारण देशको आर्थिकस्तर माथि उक्लन्छ, जसले गर्दा आर्थिक रुपमा स्वतन्त्र, समृद्धि र मानवीय प्रगति हुन्छ ।

̵    राज्यको आयस्तर पनि बढ्छ र विकासको लागि बाटो खुल्छ ।

̵    राज्यको आयस्तर बढ्दै गएमा न्यून तथा मध्यम आयस्तर भएका, पछाडि परेका, अशिक्षित वर्ग तथा महिलाहरुलाई विशेष आरक्षण गरी उनीहरुको अवस्थालाई पनि माथि उकास्ने कार्यक्रम लागु गर्न सकिन्छ ।

अन्तमा,

    नेपालमा स्थापित समाजवादी नामधारी पार्टीले आफ्ना धारणाहरु अघि सार्ने क्रममा समाजवादलाई वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्ने भनेका छन् । वैज्ञानिक समाजवाद भनेको पुराना समाजवादी सिद्धान्तलाई आवश्यक परिमार्जन गर्दै देश सुहाउँदो समाजवाद लागु गर्ने कुरा हो भन्ने धारणा छ । यस अन्तर्गत दलाल पुँजीवादको विरुद्ध वकालत गर्दै समुन्नत समाज निर्माणका लागि राष्ट्रिय पुँजीको निर्माण गर्ने योजना पार्टीले अघि सारेका छन् ।

दलाल पुँजीवाद भनेको पुँजी संकलन टाठाबाठा र धनाढ्यहरुले गरेर उद्योगधन्दा तथा उत्पादनमुलक काममा लगाउनुको साटो अनुत्पादक काममा खर्च गर्नु हो । यसबाट जनतालाई रोजगारी पनि नहुने, राजस्व पनि संकलन नहुने र देश गरिबीतर्फ धकेलिने डरलाग्दो अवस्था सिर्जना हुनु हो ।

पुँजी वास्तवमा कृषि, उद्योगधन्दा, पशुपालन वा दीगो आय आर्जन हुने काममा लगाउनुको सट्टा वित्तिय कारोबार गर्ने संस्थामा लगाउने वा जग्गा प्लटिङ्ग वा घर निर्माणमा मात्र लगाउँदा उत्पादनमुलक काम हुँदैन र देशको अर्थतन्त्र थप धराशायी भएर जाने हुँदा त्यस्तो पुँजी सञ्चालन गर्ने व्यक्तिलाई दलाल पुँजीवादी भनिन्छ । यस्ता व्यक्तिले अनुत्पादक क्षेत्रमा पुँजी लगानी गरी आफूले कमिशन खाने र झन् धनी बन्दै जाने गर्छन् । त्यसकारण पुँजीवादी अर्थ प्रणालीमा यस्ता व्यक्ति बाधक हुन्छन्, जसलाई राज्यले नियन्त्रण गर्नुपर्नेमा झन् नेपालमा त्यस्ता व्यक्तिलाई थप हौसला दिने गरिन्छ, जुन देश र जनताको लागि दुर्भाग्य हो ।

कावासोती–८, नवलपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप