आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

के यो समाजमा डेढ वर्षकी छोरीले समेत बाँच्न नपाउने हो ?

७ महिनामा १६ वर्षमुनिका ६३३ जना बलात्कृत
आइतबार, ०६ चैत २०७८, १३ : ०७
आइतबार, ०६ चैत २०७८

छोरी हुर्किदै गएपछि अभिभावक तर्सिनुपर्ने समय थियो । यो समाज वा शहर छोरीको लागि सुरक्षित छैन भन्ने नजान्दै उनले बेलैमा घर आउनुपर्ने, शरीर पुरा छोपिने लुगा लगाउनुपर्ने, पुरुषको अगाडि उन्मुक्त हाँसो हाँस्न नहुने जस्ता कुरा सिकी सक्नुपर्ने हुन्थ्यो । र, त्यो अहिले पनि जारी छ । तर समय यस्तो भयानक हुँदै आयो, अभिभावकले आफ्नो डेढ वर्षकी छोरीलाई समेत नरपिचासहरुबाट जोगाउन सकेनन् । हुर्के बढेकी छोरी मात्रै निशानामा पर्छन् भन्ने आमबुझाईलाई पछिल्लो घटनाले ‘फेल’ बनाइदिएको छ । बोलीसमेत नफुटेका कलिला नाबालिका बलात्कारका घटनाले हर कोहीको मुटु कामेको छ । 

मोरङमा यही फागुन २७ गते डेढ वर्षकी नाबालिग बलात्कार भइन् । घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगेर बच्चीलाई बलात्कार गरियो । गम्भीर अवस्थामा फेला परेकी बालिकालाई परिवारले उपचार गराउन लाँदा अर्को दिन मृत्यु भएको थियो । बलात्कारपछि हत्या गरेको अभियोगमा हाल २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी पक्राउ परेका छन् ।

... 

यही चैत ४ गते मात्रै १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं, चन्द्रागिरी नगरपालिका–६ छापाली बस्ने २१ वर्षीय मनिष बिडारी पक्राउ परेका छन् । यता, सोही दिनमै ललितपुरमा १३ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा गोदावरी नगरपालिका–३ पुतलीघाट बस्ने उदयपुर घर भएका ३८ वर्षीय चक्तबहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ । 

त्यस्तै, आफ्नै भान्जीलाई जबरजस्ती करणी गरेको आरोपमा चैत १ गते गोरखामा मामा पक्राउ परेका छन् । १३ वर्षकी भान्जीलाई करणी गरेको आरोपमा सहिद लखन गाउँपालिका–८ ढोडेनी चिसापानीका २९ वर्षीय एक पुरुष पक्राउ परेका हुन् । फागुन १९ गते राती ९ बजे भान्जीलाई जबरजस्ती करणी गरेको पीडित बालिकाकी आमाले जाहेरी दिएकी थिइन् । 

कति छ करणीको केस ?

नेपाल प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०७८/०७९ को माघ महिनासम्म देशभर १ हजार २९४ जनाको करणी भएको छ । यसमा १० वर्षभन्दा कम उमेरका १२५ जना रहेका छन् । ११ देखि १६ वर्ष मुनिका ५०८ जना र १९ देखि १८ वर्ष उमेरका १८९ जना किशोरी बलात्कृत भएका छन् । 

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ मा देशभर २ हजार ५३२ जना बलात्कारमा परेका छन् । त्यसमा १० वर्ष मुनिका ३०५ जना, ११ देखि १६ वर्ष मुनिका १ हजार १६ जना र १७ देखि १८ वर्ष उमेरका ३४४ जना रहेका छन् । 

त्यस्तै, आर्थिक वर्ष २०७६/२०७७ मा देशभर २ हजार १४४ जना महिला बलात्कारमा परेका छन् । त्यसमा १० वर्ष मुनिका २७३ जना, ११ देखि १६ वर्ष उमेर समूहका ८०१ जना र १७ देखि १८ वर्ष उमेरका ३१९ जना रहेका छन् । 

२०७६/२०७७ तुलनामा २०७७/७८ यो सङ्ख्या बढेको देखिन्छ । यो चालु आर्थिक वर्ष सकिन अझै पुरा ४ महिना बाँकी छ, तर माघ महिनाभित्रै बलात्कारको सङ्ख्या १३ सयको हाराहारी पुगिसक्यो । यसले हरेक वर्ष बलात्कार बढेको देखाउँछ । 

गएको पाँच वर्षमा देशभर ९ हजार ६५२ जना महिलाको करणी भएको छ । त्यसमध्येमा १० वर्षमुनिका मात्रै १ हजार २९६ जना रहेका छन् भने ११ देखि १६ वर्ष उमेर समूहका ३ हजार ८०४ जना रहेका छन् । यति भयानक वास्तविकता प्रायः अवहेलना भएको पाइएको छ । आफ्ना साना नाबालिकाको बालपना अपराधीले चुडाउँदा आँसु पिएर बाँच्न विवश छन् अभिभावक ।  

किन बढेको छ नाबालिका करणी ? 

मुलुकी देवानी संहिता २०७४ को दफा २१९ को उपदफा (२) ले मञ्जुरी लिएमा पनि १८ वर्ष भन्दा कम उमेरको छ भने करणी मानेको छ । १० वर्ष मुनिका नाबालिकको हकमा जन्मकैदको सजाय तोकेको छ । करकाप, अनुचित प्रभाव र डर देखाएर करणी गर्ने १० वर्ष भन्दा बढी, १४ वर्ष भन्दा कम उमेरका नाबालिकका हकमा १८ वर्षदेखि २० वर्षसम्मको कैदको कानुनी सजाय तोकिएको छ । १४ भन्दा बढी १६ वर्ष भन्दा कम उमेरका करणीमा १२ वर्ष जेल सजायदेखि १४ वर्ष सजायको व्यवस्था छ । 

कानुनी दफा २१९ को ३ (क) अपराध संरक्षण कोषले क्षतिपूर्तिको व्यवस्था गरेको भएपनि अहिलेसम्म क्षतिपूर्ति पाएको थाहा नपाएको अधिवक्ता मनिषकुमार श्रेष्ठ बताउँछन् । लिने कुरामा राज्य जहिले पनि अगाडि छ, व्यवसायिक कर असुल गर्न सक्छ । तर दिने कुरामा सधै निरीह बन्छ । राज्य पीडितलाई क्षतिपूर्ति दिनलाई निरीह हुनु लज्जाजनक कुरा हो । राज्य लोककल्याणकारी हुनुपर्नेमा कर कार्यालय बनेको छ । छोरीहरुका लागि सुरक्षित समाजको निर्माण गर्न सकेका छैनौ । बलात्कार जस्तो अपराधमा सरकार चुप भएको आरोप श्रेष्ठको छ ।  

मनोविश्लेषक सनम पौडेलका अनुसार नाबालिकामाथि बलात्कार जस्तो जघन्य अपराध हुँदा त्यो अपराधीलाई मार्नैपर्छ वा फाँसीको सजाय हुनैपर्छ भन्ने आममानिसमा सोच आउनु स्वाभाविक हो । तर म मनोविश्लेषकको नाताले भन्छु कि अपराधिक मान्छेको पनि मनोवृद्वि पढ्नुपर्ने हुन्छ । आरोपीको मनस्थिति बुझ्न आवश्यक हुन्छ । मान्छे एकैचाटी बलात्कारी हुँदैन । गर्भमा रहँदा आमाको मनमा अपराधिक सोच वा कल्पनाले पनि बच्चामा प्रभाव पर्छ । जन्मेपछि घरपरिवारदेखि विद्यालयको सिकाई र साथीसंगत सबै कुराले प्रभाव पारेको हुन्छ ।

मनोविश्लेषक पौडेल भन्छिन्, हामीले एकैचोटी घटना घटेको मात्र देख्छौ तर उसको वातावरण पनि बुझ्नुपर्छ । बाल्यकालमा उसले पनि यौनहिंसा भागेको थियो कि ? उसले त्यस्तै घटना देखेर हुर्किएकोमा पनि यो खालको अपराधमा संलग्न हुन सक्ने सम्भावना रहन्छ । हरेक दिन बलात्कारका समाचार र आरोपित राजनीतिक वा आर्थिक शक्तिका बलमा छुटेको देख्यो भने पनि यस्ता घटनामा  संलग्न हुने सम्भावना रहन्छ । यस्ता घटनाका पछाडि परिवार, समुदाय, मिडिया र राज्यको पनि लापरवाही देखिन्छ । मोरङको घटनामा लागूपदार्थको लतमा फँसेको मान्छेले बच्चा वा वयक्क छुट्याउनै सकेन । उ आफ्नो भोगमा मात्र लिप्त भएको छ । त्यो अपराधिक मानसकिताको उपज हो । 

मनोविश्लेषक पौडेलका अनुसार फाँसी दिएर अपराध सकिदैन । भारतमै पनि बलात्कारीलाई फाँसीको सजाय छ तर त्यहाँ यस्ता घटना रोकिएको छैन । समाजमा चेतनाको अभाव नै बलात्कार हुनुको मुख्य कारण हो । अपराध कस्ता व्यक्तिहरुबाट भइरहेको छ, त्यसको गहिरो अध्ययन आवश्यक छ । शारीरिक, मानसिक वा आर्थिक रुपले ती आरोपी कस्ता छन् बुझ्न आवश्यक छ । बलात्कारको अपराधमा सय जनामा ४ प्रतिशत बलात्कार १० वर्ष मुनिका नाबालिका पर्छन् । अब हामीले घरपरिवारभित्रै बलात्कारका विषयमा बहस चलाउन आवश्यक छ । यो एउटा जघन्य अपराध हो भनेर बहस गर्न आवश्यक भएको पौडेलको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप