मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बीमा सर्भेयर र अभिकर्ताको इजाजतपत्र नवीकरण अब डिजिटल माध्यमबाटै

बुधबार, ०९ चैत २०७८, १० : ३६
बुधबार, ०९ चैत २०७८

बीमा समिति अन्तर्गत बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण डिजिटल माध्यमबाट हुने भएको छ । बीमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले मंगलबार सो सेवा उद्‌घाटन गरेका हुन्‌ । डिजिटल माध्यमबाट सेवा प्रवाह थालिएसँगै अब समितिलाई गरिने वार्षिक इजाजतपत्र नवीकरण भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको बीमा समितिले दाबी गरेको छ ।

समितिका अनुसार अब अनलाइनबाट नै एनसीएचएलको कनेक्टआइपीएस (www.connectips.com) र मोबाइल एप) तथा कर्पोरेटपे प्रणालीहरूमार्फत आफ्नो बैंक/वित्तीय संस्थाको खाताबाट भुक्तानी गर्न सकिने भएको हो । विद्युतीय माध्यमबाट नवीकरण शुल्क लगायतका भुक्तानी सम्बन्धी कारोबारहरू नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट गर्न केही समय अघि बीमा समितिले एनसीएचएलसँग नेशनल पेमेन्ट स्वीच (NPS) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (NPI) सँग जोडिने सम्झौता भएको थियो । 

सम्झौता अनुसार पहिलो चरणमा अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र नवीकरणको भुक्तानी सेवा अनलाइनबाट गर्न सकिनेछ । पछिल्लो चरणमा समितिका सेवा शुल्क, बीमा कम्पनी दर्ता तथा वार्षिक नवीकरण शुल्क, बीमा सर्भेयर तथा अभिकर्ता दर्ता, प्रमाणपत्र तथा तालिम शुल्क, तलब, भेण्डर भुक्तानी लगायतका विभिन्न कारोबारहरू बैंक खाताहरूबाट सोझै गर्न सक्ने गरी कार्य समितिले अघि बढाएको हो । एनसीएचएलमा आबद्ध भुक्तानी सेवा प्रदायकका वालेटबाट समेत उक्त भुक्तानी गर्न मिल्ने गरी National Payment Switch अन्तर्गतको बिलर गेटवेमा जोडिने कार्य समेत हुँदैछ । यसले समितिका सम्पूर्ण भुक्तानीहरू पूर्ण स्वचालित रूपमा हुनुका साथै हिसाब मिलान गर्न पनि सजिलो हुने बताइएको छ ।

अभिकर्ता तथा सर्भेयरको इजाजतपत्र नवीकरण भुक्तानीको लागि प्रयोगकर्ताले कनेक्टआइपीएस (www.connectips.comm वा मोबाइल एप) मा लग–इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा रहेको ‘Government of Nepal’ अन्तर्गत ‘Semi-Government/Sansthan’ भित्र ‘Beema Samiti’ छनोट गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो भुक्तानी आवश्यकता अनुरुप ‘Agent Payment’ वा ‘Surveyor Payment’ छनोट गर्ने, भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ‘Agent Payment’ का निम्ती Licence Number, Issue Date, Type of Agent र Issuer Name को विवरण दाखिला गरी आफ्नो Transaction Password/OTP प्रयोग गरी बैंक वित्तीय संस्थाको खाताबाटै सजिलै भुक्तानी गर्न सकिन्छ ।

‘Surveyor Payment’ का लागि Surveyor Code, License Issue Date र Type of Surveyor को विवरण दाखिला गर्नुपर्ने हुन्छ । CORPORATEPAY​ प्रणाली प्रयोग गर्ने बीमा कम्पनी वा निकायले समेत आफ्नो युजर लग–इन गरी Real-Time Payment अन्तर्गत Government Payment भित्र Beema Samiti छनोट गरी भुक्तानी गर्न सक्ने बीमा समितिले जानकारी दिएको छ। डिजिटलाइजेनले समितिको सेवाप्रवाहमा उल्लेख्य योगदान पुर्‍याउने र डिजिटल भुक्तानीको क्षेत्रमा एक महत्वपूर्ण कोषे ढुङ्गा हुने समितिको दाबी छ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रूपमा विकास गरिएको NPI सञ्चालनमा रहेको छ जसमा हाल ६० सदस्य बैंक वित्तिय संस्थाहरू आबद्ध छन् भने अन्य पीएसपी/ पीएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायतका ८७ गैर—बैंकिङ्ग संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । एनसीएचएलले नेपाल सरकारका संस्थानहरू, नियामक निकायहरू लगायतका विभिन्न निकाय तथा संस्थाहरूको डिजिटल भुक्तानीका नीति कार्यान्वयनमा भूमिका खेल्दै आएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप