शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतान्त्रिक आन्दोलनको मूलधार र मुख्य शक्ति हामी नै हौँ : केपी ओली

बुधबार, ०९ चैत २०७८, १३ : ०४
बुधबार, ०९ चैत २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति र मूलधार एमाले भएको दावी गरेका छन् । बुधबार केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक आन्दोलनका भ्रमपूर्ण विचारहरु प्रवाह भएको, जनविरोधी प्रचार भएको भन्दै सत्तापक्षले गलत इतिहास रचना गर्न खोजिएकामा आपत्ति प्रकट समेत गरे । ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा हामी मुख्य शक्ति हौ, मूलधार हौ । लोकतान्त्रिक इतिहासको मूलधार हामीसँग छ । अबको चुनौतीको समाना गर्नुपर्ने अभिभारा पनि हामीसँग छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।  

उनले एमालेलाई कम्युनिस्ट पार्टी मध्येको ठुलो एमाले भन्नेजस्ता शब्दावली भुल बस, नियतबस प्रयोग हुने गरेको पनि बताए । उनले राष्ट्रलाई अघि बढाउने नीति, जननिर्वाचित प्रतिनिधि र व्यवहारिक प्रश्नमा पनि एमाले नै मुलुकको प्रमुख पार्टी भएको बताए । साथै उनले आगामी निर्वाचनमा पनि स्थानीय तहको निर्वाचनमा उत्साहका साथ जनतामा गएर पार्टीको इतिहासलाई थप मजबुत पार्ने बताए । उनले एमालेसँगै सवैभन्दा पुरानो पार्टी प्रजापरिषद समेत रहेको अवस्थामा मूलधारको पार्टी एमाले भन्न अप्ठारो नमान्न आग्रह गरे । ‘१९९१ सालमा स्थापना भएको प्रजापरिषद पनि एमालेसँगै छ । कम्युनिस्ट आन्दोलनको इतिहासले पनि नेकपा एमाले ठुलो र मूलधारको पार्टी भन्न अप्ठेरो मान्नुपर्ने छैन’, ओलीको भनाइ छ । 

अध्यक्ष ओलीले निर्वाचन केन्द्रीत मोवाइल एप बनाएर निर्वाचनको प्रचार प्रसार प्रभावकारी बनाउने पार्टीको तयारी रहेको भन्दै गत महाधिवेशनमा ८ लाख ५५ हजार संगठित सदस्य रहेको एमालेमा अहिले ११ लाख पुगेको बताउँदै भने, ‘जनआकर्षण बढ्दो छ, पार्टी प्रवेशको लहर चलेको छ । प्रचारलाई व्यवस्थित र सबैलाई एमालेको नीतिबारे जानकारी दिन मोबाइल एप प्रभावकारी  बनाइनेछ’अध्यक्ष ओलीको भनाइ छ ।

बबरमहलस्थित कार्की व्यांकेटमा बैठक जारी बैठकमा स्थानीय निर्वाचन केन्द्रीत विभिन्न ११ वटा एजेण्डामा छलफल हुँदैछ । जसमा सातै प्रदेशका अध्यक्षको रिपोर्टिङ, अध्यक्ष ओलीबाट समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णय बैठकका एजेण्डा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप