ad
x
स्थानीय चुनाव

वीरगञ्जदेखि बालकोटसम्म : ओली र बाबुरामको ‘प्रोक्सी वार’

यस्तो छ विजय सरावगी र राजेशमान सिंहको हानथाप

person explore access_timeचैत १३, २०७८ chat_bubble_outline0

वीरगञ्ज । नेपाली काँग्रेसबाट राजनीति शुरु गरेका वीरगञ्जका लोसपा नेता राजेशमान सिंह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गत माघ २८ गते बालकोट पुगे । सिंहले आफू एमालेमा प्रवेश गर्ने बताएपछि फागुन १४ गते बीरगञ्जमै केपी ओलीको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने बालकोटमा भद्र सहमति भयो । र, सिंह त्यसको तयारीका लागि बीरगञ्ज फर्किए । 


ओलीलाई भेट्नुअघि सिंहले महेश बस्नेतदेखि लिएर ईश्वर पोखरेलसम्मलाई भेटेका थिए । भेटका क्रममा अध्यक्ष ओलीले बालकोटस्थित निवासबाटै सिंहलाई एमालेमा प्रवेश गर्न आग्रह गरेका थिए । तर, सिंहले वीरगञ्जमा आफ्नो ठूलो समूह रहेको बताउँदै ओलीलाई यतै आउन निम्तो दिए र फागुन १४ को पर्खाइमा वीरगञ्ज फर्किए । 



सिंहले बालकोटमा ओलीलाई भेटेको सुइँको वीरगञ्जका वहालवाला मेयर विजय सरावगीले नपाउने कुरै भएन । उपेन्द्र यादव नेतृत्वको जसपाबाट मेयर जितेका सरावगी पनि काठमाडौँतिर लागे । आफ्ना व्यापारिक सहकर्मी एवं नातासम्बन्धका व्यक्ति मोती दुगडसँग सरावगीको भेट भयो । यही माध्यमबाट उनले पनि ओलीलाई भेटे । 



केपी ओली र विजय सरावगीको भेटपछि कथाले अर्कै मोड लियो । फागुन १४ गते पार्टी प्रवेश गराउन वीरगञ्ज आउन वचन दिएका ओलीले सिंहलाई धोका दिँदै बहालवाला मेयर विजय सरावगीलाई चाहिँ एमालेमा भित्र्याए ।



ओलीबाट धोका पाएको महसुस गरेका सिंह अहिले महन्थ ठाकुर नेतृत्वको लोसपा परित्याग गरेर उपेन्द्र यादव र बाबुराम भट्टराईको जसपामा प्रवेश गरेका छन् । सिंहलाई डा. बाबुराम भट्टराईले जसपामा प्रवेश गराएका हुन् ।



अब वीरगञ्जको चुनावमा एमालेका तर्फबाट विजय सरावगी र जसपाका तर्फबाट राजेन्द्रमान सिंहबीच प्रतिस्पर्धा हुने देखिएको छ । तर, खासमा यो चुनावी भिडन्त केपी ओली र बाबुराम भट्टराईबीचको ‘प्रोक्सी वार’ हो । यसलाई केपी ओली भर्सेस उपेन्द्र यादवको ‘प्रोक्सी वार’ पनि भन्न सकिन्छ ।




वीरगञ्ज महानगरपालिका यसअघि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम अर्थात हाल उपेन्द्र–बाबुरामले नेतृत्व गरेको जसपाले जितेको स्थानीय तह हो । देशभरिका ६ वटा महानगरपालिकामा वर्तमान सत्ता गठबन्धनवीच तालमेल भएमा वीरगञ्ज महानगरपालिका जसपाको भागमा पर्ने देखिन्छ । यो अवस्थामा जसपाबाट जितेका वर्तमान मेयर सरावगी एमालेका उम्मेदवार बन्नेछन् भने जसपाबाट राजेशमान सिंह गठबन्धनका साझा उम्मेदवार हुनेछन् । अन्यथा यहाँ जसपा, काँग्रेस र एमालेबीच त्रिपक्षीय भिडन्त हुनेछ । 

सिंहलाई बालकोटले दिएको ‘धोका’

बालकोटसम्म धाएर नेकपा एमालेमा प्रवेश गर्ने तारतम्य मिलाएका राजेन्द्रमान सिंहले ओलीबाट कसरी धोका खाए ? सिंहकै शब्दमा पढौँ –

मैले २०४३ सालदेखि नेविसंघबाट राजनीति शुरु गरेको हुँ । ०५४ को स्थानीय चुनावमा वडा सदस्यबाट सुरु गरेँ । त्यसपछि वडाध्यक्ष पनि भएँ । त्यसपछि नेपाली काँग्रेस परित्याग गरेर म स्वतन्त्र समूहबाट विमल श्रीवास्तवजीसँग लागेँ । उहाँसँग एक वर्षसम्म बसेँ । केही कुराहरुमा मत भिन्नता भएपछि उहाँसँग अलग भएँ । 

०६२/०६३ मा जनआन्दोलन भयो । त्यसपछि म मधेस केन्द्रित दलमा लागेँ । र, ०६८ सालदेखि शरतसिंह भण्डारीको नेतृत्वमा रहेको राष्ट्रिय मधेस समाजवादी पार्टी लगभग एक दशक बिताएँ ।

राष्ट्रिय मधेस समाजवादी पार्टी समाहित भएर राजपा बन्यो । राजपा र संघीय समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी बन्यो । जनता समाजवादी पार्टी टुक्रिएर लोसपा बनेपछि म लोसपामा थिएँ । तर, लोसपामा पनि नेताहरुको व्यवहार मलाई चित्त बुझेन । खासगरी दलहरुमा गुटबन्दी बढी हाबी भयो । 

म ग्रासरुटमा बसेर काम गर्न रुचाउन व्यक्ति हुँ । यसरी ग्रासरुटमा बसेर जसले काम गर्छ, त्यसलाई नेताहरुले जिम्मेवारी नदिने, जो आफ्नो आसपासे छ, त्यसलाई जिम्मेवारी दिएर पठाउने । यो सब देखेपछि मेरो टीमका साथीहरुको सल्लाहले मैले गत माघ २८ गते नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटघाट गरेँ । 

एमाले वीरगञ्ज महानगरका साथीहरुले मलाई लिएर गए । व्यक्तिगतरुपमा मलाई कम्युनिस्टको क पनि थाहा थिएन । तर, मैले ओलीजीका एक–दुईवटा कुराबाट प्रभावित भएर त्यहाँ लाग्ने विचार गरेँ । भनिन्छ नि, देखावटीमा दौडने । त्यही अनुसार मेरा टीमका साथीहरु पनि दौडिए । मैले पनि मान्नैपर्‍यो । राजनीति गरेपछि कार्यकर्ताहरुको कुरा सुन्नैपर्‍यो । त्यो हिसाबले मैले केपी ओलीजीसँग भेटघाट गरेको हो ।

बालबोटमा उहाँसँग मोटामोटी दुई घण्टाजति कुराकानी भयो । मैले उहाँलाई भनेँ, ‘मलाई कम्युनिस्टको क पनि थाहा छैन अध्यक्षजी । मचाहिँ तपाईंको दुईवटा बानीबाट प्रभावित भएर एमालेमा लाग्न लागेको हुँ । एउटा, तपाईं बोलेको कुरामा अड्नुहुन्छ । दोस्रो तपाईं र मेरो बानी सेम छ, तपाईं पनि मुखमा प्वाक्क बोल्दिनुहुन्छ, म पनि प्वाक्क बोल्छु । यी दुईवटा बानी देखेर म लाग्न आँटेको हो । 

उहाँले पार्टी प्रवेश यहीँ (बालकोटमै) गर भन्नुभयो । मैले पार्टी प्रवेश यहाँ नगरौँ, सम्पूर्ण टिमलाई लिएर प्रवेश गर्ने विचार छ भनेपछि उहाँले राजेश शाक्यजीलाई टाइम मिलाउनु भन्नुभयो र फागुन १४ को टाइम दिइयो । त्यसपछि हामी वीरगञ्ज आयौँ । 

हामी वीरगञ्ज आइसकेपछि यहाँका केही स्थानीय नेताहरुलाई यो कुरो पचेन । स्पष्टरुपमा भन्दाखेरि जसले यहाँ एमालेका नाममा दुकानदारी चलाइरहेका छन्, उनीहरुलाई यो कुरो हजम भएन । अब राष्ट्रिय अध्यक्षले दिएको टाइम उनीहरुले सार्दिन सक्छन् भने यस्तो पार्टीमा के बस्नु ।

अध्यक्षज्यूले पार्टी प्रवेशका लागि फागुन १४ गतेको समय दिनुभयो । उहाँको इञ्जार्जले त्यो समयलाई कहिले २१ बनाइदिने, कहिले २६ बनाइदिने । मलाई डेट पनि कण्ठस्थ छ, २६ बाट २८ गरे । त्यसपछि चैत ६ गरे, त्यसपछि ८ गरे । 

मैले के बुझेँ भने लक्ष्मीमा चाहिँ ताकत हुँदोरहेछ । माथि मोतीलाल दुगडजीजस्तो मान्छेले लिएर गएपछि.... हाम्रो मेयर साहेबको पृष्ठभूमि के हो, कोहीसँग लुकेको छैन । त्यसकारण बिना लक्ष्मीको चलखेलले यो सब हुन सम्भव छैन । सायद पार्टी चलाउनलाई पनि त लक्ष्मी चाहिन्छ नि त । १० करोड दिएको भने त त्यसबाट पहाडमा एउटा सांसद तयार गर्न सकिन्छ । म त १० लाख पनि दिन सक्दिनँ । कुरो त्यहाँ पर्‍यो । 

यही क्रममा फागुन २५,२६ गतेतिर अचानक हेलिकोप्टर ल्याण्ड गरेजस्तै गरिकन बसरुद्दीन अन्सारीजीको भतिजीको विवाहमा हाम्रो मेयर साहेबलाई पार्टी प्रवेश गराइयो । छापामार शैलीमै त्यो भयो । मेयर साहेबले पनि म जाँदै थिएँ, पक्डेर त्यहाँ लिएर गए भन्नुभएको छ । उहाँ त काँग्रेसमा जान इच्छुक हुनुहुन्थ्यो । 

सबभन्दा पहिले त हाम्रो टिमले कुरा गरेको थियो । त्यो डेटलाई बारम्बार सार्ने काम गरियो । त्यसबाट पनि हामी अलि सशंकित भयौँ । दोस्रो कुरा, जुन मेयरको भ्रष्टाचारको हामीले सडकमा विरोध गरिराखेका थियौँ, उनैलाई एमालेमा प्रवेश गराइयो । सडकको विरोध कोरोना कालले गर्दा अलिकति पछि पर्‍यो । नभए हामीले बकाइदा सडकमा आएर मेयरको भण्डाफोर पनि गरेको हो । जहाँ भ्रष्टाचारी त्यहीँ पत्रकार सम्मेलन भनेर हामीले कार्यक्रम पनि गरेको हो । अब त्यस्तो मान्छेसँग हामीले कसरी सहकार्य गर्नु ?

तेस्रो कुरा, जुन खेमाको राजनीतिबाट म वाक्क दिक्क भइसकेको थिएँ, त्यो दृश्य एमालेमा पनि देखियो । एउटा पक्ष चाहिँ राजेशमानसिंह आउँछ र वीरगञ्जमा एमाले पार्टी बलियो हुन्छ भन्ठान्ने । अर्को दुकानदारी चलाएकाहरु केही गरी राजेशमानसिंह एमालेमा प्रवेश नगरोस् भन्ने सोच्ने । यस्तो खेमा देखेपछि हामीलाई एमालेमा बस्न उचित लागेन । 

मैले के बुझेँ भने लक्ष्मीमा चाहिँ ताकत हुँदोरहेछ । माथि मोतीलाल दुगडजीजस्तो मान्छेले लिएर गएपछि.... हाम्रो मेयर साहेबको पृष्ठभूमि के हो, कोहीसँग लुकेको छैन । त्यसकारण बिना लक्ष्मीको चलखेलले यो सब हुन सम्भव छैन । सायद पार्टी चलाउनलाई पनि त लक्ष्मी चाहिन्छ नि त । १० करोड दिएको भने त त्यसबाट पहाडमा एउटा सांसद तयार गर्न सकिन्छ । म त १० लाख पनि दिन सक्दिनँ । कुरो त्यहाँ पर्‍यो । 

मलाई जसपाले मेयरका लागि तयारी गर्नोस् भनेर जिम्मेवारी दिएको छ । त्यसैले जसपाबाट म मेयरको उम्मेदवार बन्ने निश्चितजस्तै छ ।

यहीबेला हामीलाई १ नम्बर क्षेत्रका माननीय सांसद प्रदीप यादवजी भेट गर्न आउनुभयो । उहाँले प्रस्ताव राखिसकेपछि उपेन्द्र यादवजी, मुख्यमन्त्रीजी, रेणु यादवजीहरुसँग बसेर कुरा भयो । एउटा कुरो के स्पष्ट छ भने मैले आफ्नो पहिचान मधेस आन्दोलनबाट पाएको हो । मैले पार्टी फेरेको होइन, सिर्फ बाटोमात्र परिवर्तन गरेको हो । मधेसी दलसँग मेरो गुनासो पनि त्यही थियो कि तपाईंले वीरगञ्जलाई राजधानी बनाइन्छ भनेर जुन कुरा बोल्नुभयो, त्यसबाट तपाईंहरुले मुख फेर्नुभयो । यसमा उपेन्द्रजीले हामी आफ्नो गल्ती सच्याउँछौँ भन्नुभयो । र, ७ गतेको पार्टी प्रवेश कार्यक्रममा सार्वजनिक रुपमै उहाँले वीरगञ्जलाई राजधानीबाट कसरी वञ्चित गरियो र यसलाई अब कसरी गर्ने पनि भन्नुभयो । यो हिसाबले कसैले आफ्नो गल्ती कबुल गर्छ भने हामीले पनि उहाँलाई प्रश्न गर्ने कुरो भएन । 

कम्तिमा खेमाको राजनीति जनता समाजवादी पार्टीमा यो पर्सामा अलि कम देखिएको छ । त्यसकारण हामी सबैजनाले सोच बनायौँ कि जनता समाजवादी पार्टीमै समाहित बनेर काम गर्ने । उपेन्द्रजीले गठबन्धन भयो भने यहाँबाट तपाईं नै मेयरको उम्मेदवार हो भन्नुभएको छ । 

कतिपय मिडियाले मैले बार्गेनिङ गरेर पार्टीमा आएको भनेका छन्, मिडियाको त कुरै नगरौँ । अँ भन्यो भने आँ लेखिदिन्छन् । एउटै कुरो हो म कर्ममा विश्वास गर्छु । दोस्रो कुरो टिमवर्कमा विश्वास गर्छु । मैले ओलीबालाई भनेको कुरो पनि त्यही हो । मभन्दा कोही राम्रो आउँछ भने उसैलाई टिकट दिनोस्, मलाई कुनै आपत्ति हुँदैन । उहाँले जो जित्ने आउँछ, उसैलाई टिकट दिने भन्नुभएको थियो । मैले कुनै बार्गेनिङ्ग गरेको छैन । म बार्गेनिङमा विश्वासै राख्दिनँ । म आफ्नै ठाउँ बनाएर टिकट लिने क्षमताचाहिँ राख्छु ।

मलाई जसपाले मेयरका लागि तयारी गर्नोस् भनेर जिम्मेवारी दिएको छ । त्यसैले जसपाबाट म मेयरको उम्मेदवार बन्ने निश्चितजस्तै छ ।

अब जसपा छाडेर एमालेमा प्रवेश गरेका वीरगञ्जका मेयर विजय सरावगीको कुरा सुनौँ :

काँग्रेससँग फोनमा कुरा गर्दै थिएँ, दुगडले ओलीकहाँ लैजानुभयो : विजय सरावगी

मभन्दा अघि वीरगञ्जबाट राजेशमान सिंहजी ओलीजी भेट्न जानुभएको थियो । मैले ओलीजीलाई भनेँ, म एमालेमा प्रवेश गरेँ भने मलाई मेयर नै चाहिन्छ भन्ने होइन । म सांसद पनि लड्न सक्छु । पार्टीले खटाएको ठाउँमा जान पनि तयार छु । तर, राजेशमानजीलाई वचन दिनुभएको छ कि छैन ? मैले ओली जीलाई सोधेको थिएँ ।

मधेसका मागहरु धेरै छन् । मधेस आन्दोलनको एजेण्डा पनि त्यही हो । म एमाले प्रवेश गर्दा पनि अध्यक्ष केपी शर्मा ओलीलाई भनेको छु, मधेसका केही मुद्दाहरु अधुरा छन् त्यो तपाईंले पूरा गर्नुपर्छ । उहाँले मधेसको नागरिकताको विषय उहाँले ल्याउनु भएको हो । केही व्यक्तिका कारण त्यो अहिले सर्वोच्च अदालतमा मुद्दा चल्दैछ । त्यसको फैसलापछि यो विषय पनि सम्बोधन हुन्छ । समानुपातिक र समावेशीकरणको मुद्दा पनि छ । समानुपातिक त सम्बोधन भयो, समावेशीकरण भएको छैन । ओलीजीबाट यी कुराहरु सम्बोधन गराउन सकिन्छ । उहाँ चेतना भएकै व्यक्ति हुनुहुन्छ । मधेसमा पार्टी बलियो बनाउन पनि ती मुद्दाहरु सम्बोधन गर्नुपर्छ । उहाँ आफ्नो बोलीमा अडिग रहने व्यक्ति हुनुहुन्छ । ओलीको त्यो व्यवहारबाट पहिलैदेखि प्रभावित थिएँ । 

मोती दुगड मेरो पारिवारिक व्यक्ति हुनुहुन्छ । म काठमाडौँ गएका बेला उहाँसँग लञ्चमै काँग्रेसका बरिष्ठ व्यक्तिको फोन आएको थियो । मैले काँग्रेसका नेतालाई भनेँ, जबसम्म स्थानीय स्तरमा कुनै ठाउँ हुँदैन, तपाईंले मलाई टिकट दिएर के हुन्छ ? मैले त्यहाँ जवरजस्ती गरेर ठाउँ लिएर हुन्छ ? मेरो विपक्षमा आउने भोटको झमेला म बोक्दिनँ ।

त्यसपछि मोतीजीले मलाई ओलीजीकोमा लिएर जानुभयो । हाम्रो छलफल भयो । ओलीजी एकपटक भेटेपछि फकाइहाल्नुहुन्छ । फकाइ हाल्नुभयो मलाई । 

मभन्दा अघि वीरगञ्जबाट राजेशमान सिंहजी ओलीजी भेट्न जानुभएको थियो । मैले ओलीजीलाई भनेँ, म एमालेमा प्रवेश गरेँ भने मलाई मेयर नै चाहिन्छ भन्ने होइन । म सांसद पनि लड्न सक्छु । पार्टीले खटाएको ठाउँमा जान पनि तयार छु । तर, राजेशमानजीलाई वचन दिनुभएको छ कि छैन ? मैले ओली जीलाई सोधेको थिएँ ।

उहाँलाई वचन दिएको भए उहाँको पूरा गर्नुस् । पार्टीमा जोडिन आएको एउटा व्यक्तिलाई किन गुमाउनुहुन्छ ? मधेसमा हामीलाई बलियो हुन त सबैजना मिलेकै राम्रो हो । तर, राजेशमानजीसँग कुनै सर्त भएको रहेन छ । उहाँ भागेर जानुभयो । उहाँ कमजोर कलेजोको मान्छे हुनुहुँदो रहेछ भन्ने बुझियो ।

एमालेमा मैले कुनै सर्त गरेको छैन । मलाई पार्टीले मेयर दिए मेयर, सांसद् दिए सांसद् लड्छु । मसँग क्षमता छ, जनताले पनि मेयरमा रुचाएमा छन् । जनताको विरुद्धमा जाने अधिकार मसँग छैन । मैले दुवैको तयारी गरेको छु । तर, जनताको चाहना मेयरमा छ ।

जसपामा लागेका गलत विचारका व्यक्तिहरुको प्रवित्तिले मलाई एकदम दुःख दिए । ममाथि सार्वजनिकरुपमा मानमर्दन गर्ने प्रयास पनि पटक पटक भयो । त्यो कसैबाट पनि लुक्न सकेको छैन । कोभिड संक्रमणको उच्च जोखिम रहेकै बेलामा पनि पार्टीबाटै मलाई असफल बनाउने थुप्रै प्रयासहरु भए ।

म राजनीतिक ब्याक ग्राउण्डको मान्छे होइन । म सामाजिक, आर्थिक क्षेत्रबाट आएको मान्छे हुँ । म राजनीतिमा किन आएँ भन्दा वीरगञ्जका लागि ठूलो दायरामा सामाजिक काम गर्ने अवसर हुन्छ भन्ने लागेको थियो । विगतमा वीरगञ्जमा लिडरसिप नै भएन । २०४६ सालपछिका राजनीतिक परिवर्तनहरुमा हेर्ने हो भने वीरगञ्ज पछाडि परेको छ । त्यसयता यहाँबाट न मन्त्री बनेका छन्, न केन्द्रले वीरगञ्जका लागि केही गर्यो ।

हिजोका दिनमा उद्योग वाणिज्य संघको राजनीति गर्दै गर्दा पनि धेरै भिजनहरु यहाँका नेताहरुलाई दिएको थिएँ । मैले मेरै खर्चमा उहाँहरुलाई नगरकोटमा लगेर वर्कसप गराएँ । तर, उहाँहरुले त्यसलाई कार्यान्वयनसम्म गर्न सक्नुभएन । त्यस्तो कमजोर नेतृत्व रहेछ भन्ने मैले बुझेँ । म वीरगञ्ज बनाउनुपर्छ भनेर लागेको हुँ । वीरगञ्ज बनाउन मधेसका पनि एउटा मुद्दा थियो त्यस समय । विगतमा मधेसलाई हेपेर कुनै किसिमको बजेटहरु पठाइँदैन थियो । त्यस समयमा कुनै विकास नै भएन वीरगञ्जमा । नेपाल सरकारले बनाएको भौतिक संरचना भनेको अहिलेसम्म वीरगञ्जमा छैन ।

मधेसलाई बनाउने कुरा गर्दै आएको मधेसवादी दलमा लागियो । जसले मधेस बनाउने कुरा गर्दछ । पछिल्लो साढे ४ वर्षमा जो यहाँबाट जितेर केन्द्रको मन्त्री बने उहाँहरुबाट खासै केही काम गर्नसक्नु नै भएन । प्रदेशका मुख्यमन्त्रीले पनि केही गर्न नै सक्नु भएन । जसपा पार्टी खराब होइन । म पार्टीलाई दोष दिन चाहन्नँ । यसमा लागेका पात्रहरु खराब छन् । मेरो कार्यकालभरि ती पात्रहरुले मलाई धेरै दुःख दिए, जसले गर्दा दुईपटक त म राजीनामा नै दिन गएँ । त्यसबेला मैले पार्टी अध्यक्षलाई भनेँ न मलाई यो मेयर बस्नु छ, न पार्टीमा बस्नुछ । तर, विभिन्न कुरा गर्दै मलाई फिर्ता पठाउनुभयो । त्यसबेला नै मलाई थाहा थियो, कि यो पार्टीबाट मैले सहयोग पाउदिनँ भनेर ।

जसपामा लागेका गलत विचारका व्यक्तिहरुको प्रवित्तिले मलाई एकदम दुःख दिए । ममाथि सार्वजनिकरुपमा मानमर्दन गर्ने प्रयास पनि पटक पटक भयो । त्यो कसैबाट पनि लुक्न सकेको छैन । कोभिड संक्रमणको उच्च जोखिम रहेकै बेलामा पनि पार्टीबाटै मलाई असफल बनाउने थुप्रै प्रयासहरु भए । पीसीआर मेसिन जडान गर्ने काममा म लाग्दै गर्दा स्रोत व्यवस्थापन सबैभन्दा मुख्य चुनौति थियो । त्यसका लागि मैले यहाँका उद्योगि व्यवसायीको सहयोग मागे । सबैले सहयोग गर्ने इच्छा देखाए । तर, पार्टीभित्रका तिनै खराब प्रवृत्तिका व्यक्तिहरुले व्यवसायीहरुलाई धम्काउने काम गरियो । मेयरलाई सफल बनाउन किन लाग्दैछौ भनेर पनि भनियो । मुख्यमन्त्री आफैं आएर मेयरलाई किन सपोर्ट गर्नुभयो भन्नुभयो । यस्तो निकृष्ट काम तिनीहरुबाट भएको थियो । तर, व्यवसायीहरुको साथबाट काम गर्न सफल भएँ । 

त्यसैबेला मैले राहत बाँड्ने काम पनि गरे । वर्षातको समयका कारण एक बोरा चामल भिजेको परेछ । त्यसलाई पनि इस्यू बनाएर मेयरले कुहिएको चामल बाँड्यो भनेर तिनै व्यक्तिबाट मेरो बदनाम गर्ने कोसिश पनि भयो । मेरो घरमा पुलिस नै पठाउने काम पनि यो । 

यस्ता थुप्रै उदाहरणहरु छन् जसले मलाई पार्टीभित्रैबाट दुःख दिने काम भयो । पार्टीका केही कार्यकर्ता म कहाँ आउने वातावरण नै थिएन । आउनै दिँदैनथे । पार्टीको कुनै पनि पदमा मलाई राखिएन । कुनै बैठकहरुमा मलाई बोलाउने काम पनि भएन । आर्थिक रुपमा सहयोग चाहिएका बेलामा मात्र मलाई सम्झिने गरिन्थ्यो । मैले यी दुःखहरु भोग्दै सहेर नै बसेँ । मैले सोचेको थिएँ, जुन दिन समय आउँछ, मैले छोड्ने नै हो ।

मसँग दुई विकल्प थिए । काँग्रेसमा जाने कि एमालेमा जाने । काँग्रेसतिर भिड धेरै देखियो । काँग्रेससँग छलफल पनि भयो । आकांक्षीहरु काँग्रेसमा बढी देखिए । यस्तो लाग्यो कि म त्यहाँ गएँ भने कसैको हक मार्दिन्छु कि ? त्यसैले मैले उहाँहरुलाई समस्यामा परिनँ ।

एमालेमा त मेरा लागि रेड कार्पेट नै बिछ्याएर राखिएको थियो । २०७४ सालको चुनावमा ३ महिनाअघि पार्टी प्रवेश गरेर आफू चुनाव जितेर अन्य २ जना सांसद पनि यो क्षेत्रबाट जिताएर पठाएको थिएँ । संसदीय निर्वाचनमा मलाई नै वीरगञ्जको जिम्मेवारी थियो । मैले पर्सा जिल्लाबाट पार्टीलाई जिताउन सफल पनि भए । यो मेरो क्षमतालाई पार्टीले बुझ्नुपर्थ्यो ।

जसपा पार्टीभित्र जातीवाद बढी हावी भएको देखियो । पार्टीभित्र समावेशिता छैन । जहाँ आफ्नो कदर नै छैन भने किन बस्नु । त्यसैले छोडेको हुँ । 

उपेन्द्रजीले सधैं लडाउने काम मात्र गर्नुभयो । सपार्ने काम उहाँबाट हुनै सकेन । पार्टीलाई उहाँले सिस्टममा नै ल्याउनुभएन । जसपा अहिले पनि मधेस आन्दोलनमा जस्तै चलिरहेको छ । न कुनै तहको कमिटी छ, न जनवर्गीय संगठन । पार्टीगत रुपमा यसको काम नै छैन । पार्टीभित्रको विवादका कारण समानान्तर कमिटीहरु जिल्लामा चलिरहेका छन् ।

डा. बाबुराम भट्टराइको त म प्रशंसक नै हुँ । उहाँले काठमाडौँलाई विकास गर्ने कदम चाल्नुभएको थियो । त्यसबाट प्रभावित भएको मान्छे हुँ म । उहाँका पालामा आर्थिक क्षेत्रमा पनि सुधारको काम भयो । त्यसले देशको अर्थतन्त्र उकास्ने काम गरेको थियो । बाबुरामजीको प्रेरणा भएर पनि म त्यो पार्टीमा बसेको थिएँ । आफ्ना दुःख पीडाहरु मैले उहाँलाई पनि सुनाएकै हो । तर उहाँले केही गर्नै सक्नुभएन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।