शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाको बैठक आज सक्ने तयारी, चुनावबारे ‘दोधारे’ नीति

सोमबार, १४ चैत २०७८, १२ : १९
सोमबार, १४ चैत २०७८

चैत ४ देखि कपिलवस्तुमा जारी  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठक सोमबार सक्ने तयारी भएको छ । बैठकमा उठेका विषयहरूबारे महासचिव विप्लवले जवाफ दिएपछि बैठक समापन गर्ने तयारी भएको हो । 

आज दिनभर जनवर्गीय संगठन र पार्टीको ‘ग्राउण्ड रियालिटी’ का विषयमा समीक्षा भएपछि बैठकमा उठेका विषयमा विप्लवले जवाफ दिनेछन् । यस्तै विप्लवले चुनावमा भाग लिनेगरी राजनीतिक प्रतिवेदन पेस गरेकामा आइतबार नै त्यसलाई परिमार्जन गरिएको छ । जसअनुसार चुनावको सन्दर्भमा विप्लवको पार्टीले दोधारे नीति लिएको छ । अर्थात पार्टी औपचारिक रुपमा चुनावमा सहभागी नहुने तर समान विचार धारा भएकाहरु उम्मेदवार भएको खण्डमा सहयोग गर्नेगरी नीति लिएको छ । 

हिंसात्मक गतिविधिमा रहेका विप्लवलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले शान्तिपूर्ण राजनीतिमा ल्याएका थिए । त्यही पार्टीमा जारी केन्द्रीय समिति बैठकमा चुनाव उपयोग गर्ने  कि नगर्ने भन्नेमा दुई धार देखियो । बहुमत केन्द्रीय सदस्यहरु चुनावमा सहभागी नहुने लाइनमा उभिएपछि महासचिव अप्ठ्यारोमा परेका थिए । त्यसका लागि उनले बैठक लम्ब्याउँदै केन्द्रीय सदस्यहरु फकाउने प्रयास समेत गरेका थिए ।

तर, अन्तिममा महासचिव विप्लवले प्रस्तुत गरेको दस्तावेज परिमार्जनसहित पास गरिएको छ ।  जसमा निर्वाचन आयोगमा पार्टी दर्ता नगर्ने तथा चुनावमा नजाने  निर्णय भएको छ । तर स्वतन्त्र रुपमा नेताहरुले उम्मेदवारी दिनको पाउने गरी निर्णय भएको छ । यस्तै प्रगतिशिल, राष्ट्रवादी शक्ति र देश भक्तहरु उम्मेदवारलाई चुनावमा सहयोग गर्ने विप्लवको पार्टीको नीति छ । 

नेकपाको ६९ सदस्यीय केन्द्रीय समितिमा ४४ जना विप्लवको विपक्षमा उभिएका थिए । यस्तै बैठकमा ४ जना सल्लाहकार पनि उपस्थित रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप