बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका उपप्रमुखहरूको एउटै स्वर : आउने चुनावमा प्रमुख पदमा ‘अपग्रेड’ गराउनैपर्छ

बिहीबार, १७ चैत २०७८, १७ : २८
बिहीबार, १७ चैत २०७८

सुर्खेत । संघीयताको पहिलो अभ्यास गर्दैगर्दा ०७४ को स्थानीय तहको निर्वाचनमा अधिकांश स्थानीय तहका उपमेयर÷उपाध्यक्षमा महिलालाई जिम्मेवारी दिइयो । उनीहरु आफ्नो कार्यकालको अन्त्यतिर आइपुगेका छन् । कर्णाली प्रदेशका विभिन्न पालिकाका उपमेयर/उपप्रमुखहरु अब भने आफूहरुले मेयर÷अध्यक्ष पदमा मौका पाउनुपर्ने बताउँछन् ।

संविधानले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । ‘तर, यो भनेको महिलामात्र उप–प्रमुख हुनुपर्छ भनेको होइन,’ दैलेखको आठबीस नगरपालिकाकी उपमेयर दीपा बोहोरा भन्छिन्, ‘अब आउने चुनावमा हामीले आफूलाई अपग्रेड गराउनै पर्छ ।’

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४ को उपदफा १ बमोजिम नगरपालिका, गाउँपालिका तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा महिलासहित उम्मेदवारी दिनुपर्ने व्यवस्था छ । बोहोरा भन्छिन्, ‘यदि त्यो व्यवस्था नगरेको खण्डमा उप–प्रमुखमा पनि महिलाको उपस्थिति न्युन हुने थियो ।’

बोहोरामात्र होइन, पाँच वर्षे कार्यकालको अन्त्यतिर पुगेका कर्णालीका अधिकांश उपप्रमुखहरूले मेयरमा लड्ने चाहना व्यक्त गरेका छन् । कर्णालीमा ७९ स्थानीय तहमध्ये २५ वटा नगरपालिका छन् । ती सबैमा महिला उपप्रमुख छन् । उनीहरुले नेतृत्वमा महिला आएको खण्डमा सामाजिक मुद्दाहरूले प्राथमिकता पाउने र सामाजिक विकास नभएसम्म अन्य विकास सम्भव नहुने तर्क गरेका छन् ।

मोहनमाया ढकाल (भण्डारी), उपप्रमुख, वीरेन्द्रनगर नगरपालिका (सुर्खेत)

०७४ को निर्वाचनमा मोहनमाया ढकाल १६ हजार ६८ मतका साथ वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुखमा विजयी भइन् । एमालेबाट उम्मेदवार बनेकी ढकालले नेपाली काँग्रेसकी जानकी सिंहलाई पराजित गरेकी थिइन् । सिंहले १४ हजार २६ मत ल्याएकी थिइन् ।

ढकालले अब मेयर पदका लागि आफ्नो दाबी रहने बताइन् । ‘उपमेयर भएर काम गरिसकेपछि प्रमुख हुने चाहना त हुन्छ नै, आफूले पाएको संवैधानिक जिम्मेवारी र उपमेयरको भूमिकामा रहेर काम गर्दा प्रभावकारी रुपले नै निर्वाह गरेँ भन्ने मलाई लागेको छ,’ उनले रातोपाटीसँग भनिन्, ‘विशेष परिस्थितिमा मैले कार्यवाहक नगरप्रमुखको भूमिका पनि निर्वाह गर्ने मौका पाएको थिएँ । जसले गर्दा मेयर भएर वीरेन्द्रनगरको विकास र समृद्धिमा आफ्नो भूमिका सहज रुपमा निर्वाह गर्न सक्छु भन्ने आत्मविश्वास बढेको छ ।’

उपमेयरका रुपमा आफूले राम्रो काम गरेको दाबी गर्दै उनले अवसर पाएमा महिलाले पनि नेतृत्वदायी भूमिका कुशलतापूर्वक निर्वाह गर्न सक्ने बताइन् ।

दीपा बोहोरा,उपप्रमुख, आठबीस नगरपालिका (दैलेख)

आठबीस नगरपालिकाको उपप्रमुखमा एमालेकी गमता विकलाई पराजित गर्दै नेपाली काँग्रेसकी दीपा बोहोराले ४ हजार १८७ मत ल्याएकी थिइन् । गमताले ३ हजार ९९० मत ल्याएकी थिइन् ।  उसो त बोहोराले ०७४ मै मेयरमा दाबी गरेकी थिइन् । तर पार्टीमा आफूभन्दा सिनियर व्यक्तिले चाहना देखाएपछि उनी ‘ब्याक’ भएकी हुन् । उनले भनिन्, ‘यो पटक मेयरमा दाबी गरिसकेकी छु र पार्टीभित्र पनि लबिङ भइरहेको छ । पहिला पनि आँट नभएको होइन । मेयर भएर काम गर्नसक्ने आँट, सीप, क्षमता सबै कुराले १०० प्रतिशत सक्षम छु ।’

यो पाँच वर्षको अवधिमा आफ्नो क्षमता अभिवृद्धि भएको उनको भनाइ छ । ‘नगरपालिकामा केही फरक गर्छु भन्ने विश्वासका साथ लागिसकेको छु । समुदायबाट पनि सकारात्मक प्रतिक्रिया पाएकाले मेयरमै लड्छु,’ उनले भनिन् ।

बोहोराले आफू कार्यकारी भूमिकामा नहुँदा पालिकामा घटेका सामाजिक मुद्दाले न्याय पाउन नसकेको अनुभव सुनाइन् । ‘मैले महिलाहरुलाई अझै पनि यो पार्टीलाई भोट दिनुस् भनेर भनेकी छैन । किनकि अब अब्बल महिलाहरु नेतृत्वमा आउनुपर्छ,’ उनले भनिन्, ‘सामाजिक विकासबिना भौतिक विकासले अर्थ राख्दैन । अर्बौं बजेट खर्च भइसकेको छ तर, गुणस्तर हुन सकिरहेको छैन ।’

शान्तिकुमारी छन्तेल, उपप्रमुख, लेकबेसी नगरपालिका (सुर्खेत)

५ हजार ७४० मत ल्याएर एमालेबाट उपप्रमुख बनेकी शान्तिकुमारी छन्तेल पनि अब आउने चुनावमा आफूले मेयरमै दाबी गर्ने बताउँछिन् । उनले ०७४ मा नेपाली काँग्रेसकी लीलमति विकलाई १ हजार २०३ मतान्तरले पराजित गरेकी थिइन् ।

छन्तेल भन्छिन्, ‘संघीयताको पहिलो अभ्यास गर्दैगर्दा सुरुको चरणमा केही असहजता पनि भए । त्यसका बाबजुद पनि हामीले कानुनहरु बनाउँदै अघि बढ्ने प्रयास ग¥यौं । महिलालाई प्रमुख पदमा रहेर काम गर्ने अवसर दिएको खण्डमा पछि हटिन्न । किनभने उपमेयर हुँदा पनि विभिन्न बाधा–अड्चनलाई सहज रुपमा अघि बढाउने काम गरिएकै छ ।’

सामाजिक विकास नभएसम्म अन्य विकास हुन मुस्किल हुने उनको भनाइ छ । ‘सामाजिक मुद्दाहरुसँग ठोक्किने भनेको महिला हो । हामी उपप्रमुख भएर काम गरिरहँदा पनि सामाजिक मुद्दाका कुरामा पुरुषहरुले सहज रुपमा नलिएको अनुभूति भयो,’ उनी भन्छिन्, ‘त्यसकारण हामीले सामाजिक परिवर्तन गर्नु छ भने महिलालाई प्रमुख पदमा रहेर काम गर्न दिनुपर्छ र त्यसको अनुभूति जनताले सहज रुपमा गर्न पाउँछन् भन्ने लाग्छ ।’

रेणु आचार्य, उपप्रमुख, भेरीगंगा नगरपालिका (सुर्खेत)

भेरीगंगा नगरपालिकाको उपमेयरमा ७ हजार ५७४ मत ल्याएर नेपाली काँग्रेसबाट जितेकी रेणु आचार्यले एमालेकी चन्द्रा आचार्यलाई २७७ मतले पछाडि पारेकी थिइन् । उनले पनि आगामी निर्वाचनमा मेयरका लागि तयारी थालिरहेको बताइन् ।

‘हामीसँग क्षमता, खुबी हुँदाहुँदै पनि पछाडि छौं,’ उनले रातोपाटीसँग भनिन्, ‘अवसर पाएको खण्डमा काम गर्न सक्छौं । समग्रमा पाँच वर्षे कार्यकालचाँहि जति गर्छौं भनेका थियौं, त्यो अनुसार काम गर्न सकिएन । नढाँटी भन्नुपर्दा घोषणा–पत्रमा भनिएअनुसार ८०–९० प्रतिशतको हाराहारीमा कार्यान्वयन गरेका छौं ।’

आचार्यका अनुसार कानुनले स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य गरेका कारण स्थानीय तहको चुनाव आयो कि उपप्रमुख पद महिलाका लागि कोटा छुट्याएजस्तै मान्न थालेका छन् । संविधान र कानुनमै ३३ प्रतिशत महिला पालिका प्रमुख हुनैपर्ने व्यवस्था अनुसार पनि अब नगर प्रमुखमा आफ्नो उम्मेदवारी हुने उनको भनाइ छ ।

मैना विक, उपप्रमुख, गुर्भाकोट नगरपालिका

काँग्रेसबाटै ९ हजार ९७४ मत ल्याएर गुर्भाकोट नगरपालिकाको उपप्रमुखमा जितेकी मैना विक पनि पार्टीले अवसर दिएको खण्डमा मेयरमा उम्मेदवार दिने बताउँछिन् । उनले भनिन्, ‘पार्टीले टिकट दिएको र जनताले जनमत दिएको खण्डमा मेयर भएर चलाउन सक्छु भन्ने आँट छ । अनुभवका आधारमा पनि उपमेयर भएको मान्छे मेयरमा अपग्रेड हुन्छु भन्ने लाग्छ नै ।’

विष्णु थापा, उपप्रमुख, दुल्लु नगरपालिका (दैलेख)

काँग्रेसकी कृष्ण कुमारी शाहीलाई ३६९ मतले पराजित गर्दै  एमालेबाट दुल्लु नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित विष्णु थापाले कुल ६ हजार ४७८ मत ल्याएकी थिइन् । उनी पनि पार्टीले टिकट दिएको खण्डमा मेयरमा उम्मेदवारी दिने सोचमा छिन् ।

‘अहिलेसम्मको काम गरेको अनुभव र चाहनाले पनि त्यही भन्छ,’ उनले भनिन्, ‘पार्टीले विश्वास गरेर टिकट दिएको खण्डमा मेयरको भूमिका निर्वाह गर्न सक्छु भन्ने लाग्छ । काम गर्दैगर्दाको अनुभवले मेयर भएर दुल्लुलाई हाँक्न सक्छु भन्ने दृढ विश्वास पनि छ ।’

कार्य अनुभवका हिसाबले पनि अबको निर्वाचनमा उपप्रमुखहरुलाई प्रमुख पदका लागि उम्मेदवार बनाउन उपयुक्त हुने उनको भनाइ छ । उनले भनिन्, ‘किनकि नयाँ व्यक्ति बाहिरबाट फ्याट्ट मेयर भएर आउँदा कार्यसम्पादनमा त्यति सहजता हुँदैन ।’

कल्पना पुन, उपप्रमुख, बागचौर नगरपालिका (सल्यान)

बागचौर नगरपालिकाकी उपप्रमुख कल्पना पुनले पनि पार्टीले टिकट दिएको खण्डमा मेयरमा लागि चुनावी मैदानमा होमिने सोच राखेकी छन् । ०७४ मा ५ हजार २१५ मत ल्याई माओवादी केन्द्रबाट उपप्रमुख बनेकी उनले एमालेकी ओकादेवी खत्रीलाई १ हजार ६२५ मतले पराजित गरेकी थिइन् । उनले पाँच वर्षे कार्यकालबाट धेरै कुराको अनुभव भएकाले मेयरमा आफ्नो दाबी रहने बताइन् ।

‘हामीले पूर्वाधारका विकासमात्र भनेर हुँदैन,’ पुन भन्छिन्, ‘मान्छेको चेतनाको विकास, सुशासनका कुराहरु सुधार्न सकेनौ भने पूर्वाधारका काम प्रभावकारी हुँदैनन् । सामाजिक विकास भएमात्रै समाजमा शान्ति, सु–व्यवस्था, स्थायित्व कायम गर्ने कुरा हो । त्यो भएका कारण हाम्रो अनुभवले पनि मेयरमै लड्ने भन्छ नै ।’

सावित्रा बस्नेत, उपप्रमुख, शारदा नगरपालिका (सल्यान)

शारदा नगरपालिकाकी उपप्रमुख साविन्त्रा बस्नेतले ४ हजार १८० मत ल्याएकी थिइन् । उनी अबको निर्वाचनमा आफू मेयर पदको प्रमुख दाबेदार रहेको बताइन् । बस्नेत भन्छिन्, ‘संघीयता आए पनि मान्छेको सोच परिवर्तन भने हुन सकिरहेको छैन । सामाजिक विकास हुन जरुरी छ । त्यो हिसाबले पनि महिलाहरु नेतृत्वमा आउनुपर्छ ।’

आउने निर्वाचनमा ५० प्रतिशत स्थानीय तहमा महिलाले नेतृत्व पाउनुपर्ने आफूहरुको माग रहेको उनले बताइन् । उनी भन्छिन्, ‘तर परम्परा के छ भने जित्ने ठाउँमा भएपछि पुरुषलाई अघि सार्ने र हार्ने ठाउँमा महिलालाई उठाउने चलन छ ।’

विजया विष्ट, उपप्रमुख, खाडाचक्र नगरपालिका कालिकोट

एमालेबाट खाडाचक्र नगरपालिकाको उपप्रमुखमा जित हासिल गरी हाल नेकपा एकीकृत समाजवादी दल रोजेकी विजया विष्ट पनि अबको चुनावमा आफू नै मेयरको दाबेदार भएको बताउँछिन् । विष्ट एमाले छाडेर अहिले नेकपा एकीकृत समाजवादीमा गएका कारण पनि उनले मेयरको टिकट पाउने सम्भावना देखिन्छ ।

उनले भनिन्, ‘मेयरको भूमिकालाई सहज रुपमा निर्वाह गर्छु भन्ने आँट पनि छ । सकारात्मक सोच भएका व्यक्तिहरु कार्यकारी भूमिका आउनुपर्छ भन्ने लाग्छ ।’ महिलाहरुले कार्यकारी भूमिका पाएको खण्डमा भ्रष्टाचार जस्ता क्रियाकलापमा कमी आउने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप