बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मिर्गौलामा क्यान्सर हुँदा समेत यसरी गरियो सफल प्रत्यारोपण

शुक्रबार, १८ चैत २०७८, १५ : ०९
शुक्रबार, १८ चैत २०७८

बैतडीका  हरिराम महरको अचानक दुवै मिर्गौलाले काम गर्न छाड्यो । उनकै श्रीमती मीना महर श्रीमान्लाई मिर्गौला दान दिन तयार भइन् । त्यसपछि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा उनको स्वास्थ्य जाँच गर्न थालियो । विडम्बना मिर्गौला दान गर्न स्वास्थ्य परीक्षण गर्दा मीनाले कल्पना नै नगरेको रोग देखियो । मिर्गौला परीक्षणका क्रममा उनको दाहिने मिर्गौलामा सानो मासुको डल्लो पलाएको पत्ता लाग्यो । वरिष्ठ बायोलोजिष्ट प्राडा राकेश कुमार बर्माले जाँच गर्न पठाए । श्रीमान्लाई मिर्गौला दान दिन तयार मीनाको दाहिने मिर्गौलामा पलाएको मासुमा क्यान्सर रहेको पुष्टि भयो । यसले महर दम्पती निकै हतास भए । 

महर दम्पतीको जीवनमा सुकिदो घाउभन्दा झन थपिँदो घाउको आहान सत्य सावित भयो । दुवैलाई अस्पतालका वरिष्ठ मिर्गौला प्रत्यारोपण विशेषज्ञ तथा निर्देशक पुकारचन्द्र श्रेष्ठले मिर्गौलामा क्यान्सर देखिँदा पनि उपचार सम्भव हुन सक्ने कुरा सुनाए । मीनाको दाहिने मिर्गौलाको क्यान्सरको भाग काटेर फाल्ने र बाँकी रहेको मृगौलाको भाग क्यान्सर छैन भन्ने प्रविधि अन्तर्गत ‘फ्रोजेन सेक्सन बायोस्पी’ को प्रयोग गरी नयाँ मृगौलाजस्तै बनाएर त्यस मृर्गौलालाई प्रत्यारोपण गर्न सकिने जानकारी दिए । 

यद्यपि डा.श्रेष्ठले भने जस्तो नेपालमा यसभन्दा अघि मिर्गौलामा क्यान्सर भएको भागलाई काटेर फाली बाँकी रहेको भागलाई प्रत्यारोपण भने गरिएको थिएन । निराश भएका दम्पतीलाई यो नयाँ विधि वरदान सावित हुन्छ कि हुन्न भन्ने दोधारमा पार्यो ।

अन्ततः डा. श्रेष्ठसहितको टोलीले मिर्गौलामा क्यान्सर भएको भागको अप्रेशन गर्यो । मीना क्यान्सरमुक्त भइन् ।  अनि दुवै जनालाई आवश्यक परामर्श  तथा सुझाव दिएपछि सबै कुरा बुझेर महर दम्पती प्रत्यारोपणका लागि तयार भए । डा श्रेष्ठले  भने, ‘मर्जिन फ्रि’ भएको रिपोर्ट पाउने वित्तिकै हामीले प्रत्यारोपण केन्द्रमा त्यस मिर्गौलालाई मिलाएर पुनः मृर्गौलाको आकारजस्तै बनायौँ । र, सोही मिर्गौला मीनाका श्रीमान हरिरामलाई यही चैत ९ गते प्रत्यारोपण गर्यौँ ।’

मिर्गौला प्रत्यारोपण र दान गरेका दम्पत्ती दुबै बिहिबार अस्पतालबाट डिस्चार्ज भएका छन् । मिर्गौला प्रत्यारोपण गरेका महरले प्रत्यारोपणपछि तन्दुरुस्त हुँदै गएकाले अव छिट्टै बग्गीखाना ट्राफिक कार्यालयमा काममा फर्किने विश्वास व्यक्ति गरे ।

के पुनः क्यान्सर खतरा रहन्छ ?

नेपालमा यसरी पहिलो पटक मिर्गौला दान र प्रत्यारोपण गरिए पनि यस्तोमा जोखिम कायम रहने चिकित्सकहरु बताउँछन् । अस्पतालका निर्देशक डा. श्रेष्ठले भने, ‘मिर्गौलामा पलाएको मासु काटेर फालेर प्रत्यारोपण गरिएपनि मिर्गौला लिने र दिने दुबैको शरीरमा क्यान्सर रहि रहन सक्ने सम्भावना हुन सक्छ ।’

विश्वमा यस्तो प्रक्रियाबाट प्रत्यारोपण हालसम्म ५ वटा मात्र भएको विभिन्न अन्तरराष्ट्रिय जर्नलहरूमा प्रकाशित भएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भनाइ छ ।

मिर्गौला प्रत्यारोपण फिजिसियन डा. कल्पना श्रेष्ठले ‘स्माल रेनल मास’ भएको मिर्गौलाको अप्रेशन गरी क्यान्सर फालेर पुनः सोही मिर्गौला प्रत्यारोपण गर्न सकिने र क्यान्सर पुनः दोहोरिने समस्या पनि न्युन हुने भएकाले भिन्न किसिमको प्रत्यारोपणको सफलताले नयाँ आयाम थपेको बताउँछिन् ।

नेपालमा मिर्गौला दान गर्नेहरुको अभाव भइरहँदा मिर्गौलामा देखिएको क्यान्सरलाई फालेर सफल प्रत्यारोपण गरेको दुर्लभ कार्यले थप राहत मिलेको डा श्रेष्ठको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप