शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुई राप्रपासँग केपी ओलीको वार्ता : कसरी होला भागबण्डा ?

राप्रपाको छरिएको मत तान्ने एमालेको रणनीति
आइतबार, २० चैत २०७८, १८ : ४७
आइतबार, २० चैत २०७८

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमालेले राप्रपाका दुबै समूहसँग चुनावी तालमेलका लागि छलफल थालेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले राप्रपा र राप्रपा नेपालसँग चुनावी तालमेलका लागि छलफल थालेका हुन् ।

बिहीबार नेपालगञ्जमा ओलीले सो महानगरपालिकाका मेयर धवलशमशेर राणासँग चुनावी तालमेलबारे प्रारम्भिक छलफल गरेका छन् । यस्तै, ओलीले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग पनि चुनावी गठबन्धनका लागि विभिन्न चरणमा छलफल गरेको सो पार्टीका नेताहरुले बताएका छन् ।

अघिल्लो स्थानीय निर्वाचनमा पनि कतिपय स्थानीय तहमा एमाले र राप्रपाबीच तालमेल भएको थियो । तर, राप्रपाको महाधिवेशनपछि सो पार्टी दुईवटा भएर राप्रपा र राप्रपा नेपाल भएको छ । देशभर छरिएर रहेको राप्रपाको मतलाई आफूतिर तान्न तथा केही स्थानीय तहमा राप्रपालाई पनि सघाउने गरी ओलीले छलफल थालेका हुन् ।

धवलशमशेर भन्छन्– ग्राउण्ड ब्रेक भयो

राप्रपाका महामन्त्रीसमेत रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा डवल शमशेर राणाले आफू र ओलीबीचको भेटमा चुनावी तालमेलबारे प्रारम्भिक छलफल भएको रातोपाटीलाई बताए । ‘प्रारम्भिक छलफल भएको छ । अब उहाँले आफ्ना साथीहरुसँग कुरा गर्नुहुन्छ । मैले पनि पार्टीमा कुरा राख्छु ।’ उनले भने ।

पाँच पार्टी एकतातिर उभिने भएपछि राप्रपा र एमालेले पनि सम्भावनाहरुको खोजी गर्नु स्वाभाविक भएको उनको भनाइ छ । ओलीसँग प्रारम्भिक कुरामात्रै भएकाले कसरी तालमेल गर्ने र अघि बढ्ने भन्नेबारे दुबै पार्टीमा विस्तृतमा छलफल गरेर अघि बढ्न सकिने उनको भनाइ छ । उनले भने, ‘यसरी तालमेल गर्ने भनेर दुबै पार्टीले मान्छे खटाउला नि । मैले त ग्राउण्ड ब्रेक मात्रै गरिदिएको हो ।’

यस्तै राणाले आफू नेपालगञ्जको मेयरमा अर्को कार्यकाल दाबेदार नरहेको पनि जिकिर गरे । ‘मेरो सहर बनिसक्यो, मैले दुईपटक मेयर भएर नेपालगञ्ज बनाइसकेँ । अब खालि त्यसलाई मनिटरिङ र व्यवस्थापन गर्ने मात्रै हो’, राणाले रातोपाटीसँग भने, ‘अब देश बनाउने निस्कने हो । हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्रलाई कायम गर्नका लागि म निस्कने हो । नेपालगञ्ज क्षेत्रैबाट म प्रतिनिधिसभाको चुनावमा सहभागी हुन्छु ।’

अब नेपालगञ्जमा नयाँलाई उम्मेदवार बनाएर अघि बढाउने उनको संकेत थियो । राणा पुनः मेयर नबन्ने भएपछि नेपालगन्जमा राप्रपाबाट आधा दर्जनको हाराहारीमा स्थानीय नेताहरु टिकटको दौडमा छन् । एक जिल्लास्तरीय नेताका अनुसार ओम प्रकाश आजाद, गौरव चन्द,  तेज विक्रम शाह, सफिक भेना लगायत  नेपालगञ्जमा मेयरका दाबेदार छन् ।

राप्रपाका जिल्ला  अध्यक्ष  नरेन्द्र पौड्यालले  चैत २२ गते उम्मेदवारको फाइनल गर्नेगरी तयारी भइरहेको जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिका राप्रपाले यसअघि जितेको स्थानीय तह भएकाले एमालेसँग गठबन्धन भएको अवस्थामा सो स्थानीय तह नछाड्ने देखिएको छ । यस्तै यसअघि चुनाव जितेका अन्य ४ स्थानीय तहसहित जनाधार राम्रो भएको स्थानीय तहमा तालमेलको आधारमा उम्मेदवार उठाउने र अन्य स्थानमा एमालेलाई सहयोग गर्नेगरी राप्रपाको रणनीति छ ।

तर, एमालेका केन्द्रीय सदस्य एवं मेयरका दाबेदार पशुपति दयाल मिश्राले भने नेपालगञ्जमा राप्रपाको औकातै नभएको भन्दै आफ्नो दलले मेयर नछाड्ने अडान राखेका छन् ।


अहिलेको राजनीतिक समीकरणका कारण एमाले भिन्न एजेण्डा बोकेको पार्टी भए पनि तालमेल जरुरी रहेको राप्रपाका नेताहरु बताउँछन् । राणाले पनि यसबारे भने, ‘हामी संवैधानिक राजतन्त्र तथा हिन्दुराष्ट्रको एजेण्डा बोकेको र उहाँहरु गणतन्त्रको पक्षमा हुनुहुन्छ । अब यो स्थानीय सरकारमा जाँदा ५ दल एकातिर उभिएपछि स्थानीय सरकारमा आफ्नो उपस्थिति राख्नका लागि पनि तालमेल राख्न पर्छ कि भन्ने हो । बृहत छलफलपछि निष्कर्ष निस्केला नै ।’

एमाले अध्यक्ष ओलीसँगको भेटमा आफूले नेपालगञ्जको विषयमा मात्रै भन्दा पनि देशव्यापीरुपमा चुनावी तालमेलकै विषयमा प्रारम्भिक छलफल गरेको राणाको भनाइ छ । अब कसरी अघि बढ्ने भन्नेबारे दुबै पार्टीको शीर्षस्थ नेताहरुबीच छलफलका आधारमा औपचारिक टुंगो लाग्ने बताउँदै उनले भने, ‘मैले त खाली बाटो खोलिदिएको हो । सबै कुरा पार्टीमा छलफल गरेर निर्णय हुने हो ।’

लिङदेनसँग अझै ‘बाच्छा’ को तुष

एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला एकै हो । अघिल्लो चुनावमा दुई पार्टीबीच तालमेल पनि भएको थियो । राजेन्द्र लिङ्देन राप्रपाको नेतृत्वमा आएपछि ओलीसँग तालमेल के होला भन्नेबारे चासो बढेको छ ।

जतिबेला झापासहित देशका विभिन्न स्थानमा राप्रपा र एमालेबीच तालमेल भएको थियो, त्यसबेला कमल थापा पार्टीको नेतृत्वमा रहेका थिए । यसपटक राप्रपा र एमालेबीचको तालमेल यस अर्थमा पनि रोचक छ कि अहिले राप्रपाको अध्यक्षमा लिङ्देन छन् । तर, सार्वजनिक कार्यक्रममै ओलीले राजेन्द्रलाई भर्खरको ‘बाच्छो’भनेर टिप्पणी गरेपछि दुई नेताबीच सम्बन्ध चिसिएको छ ।

नेपाली काँग्रेसको महाधिवेशन उद्घाटन कार्यक्रममा राजेन्द्रले नेताहरु जनताको नजरमा ‘चोर’ जस्ता रहेको टिप्पणी गरेपछि ओलीले जवाफमा लिङ्देनलाई भर्खर दाएको बाच्छोले जान्दैन भन्दै कटाक्ष गरेका थिए । सम्बन्ध राम्रो नभएकै कारण ओलीले धवलमार्फत राप्रपामा छलफल चलाएको पार्टीका नेताहरु बताउँछन् । तर, झापा राप्रपाको बाहुल्य क्षेत्र भएकाले एमालेलाई स्थानीयदेखि संघीय चुनावसम्म तालमेल महत्वपूर्ण हुने बताइन्छ ।

कमल थापासँग तालमेलको सहमति !

यता राप्रपासँग जस्तै ओलीले तालमेलका लागि राप्रपा नेपालसँग पनि छलफल चलाएका छन् । राप्रपाका नेता सुशील श्रेष्ठको भनाइमा चुनावी तालमेलमा ओली र थापाबीच सहमति भइसकेको छ ।

श्रेष्ठले आफूहरुले आफ्नोतर्फबाट चुनावको तयारी गरिरहेको र एमालेसँग पनि तालमेलको सहमति भइसकेको दाबी गरे । नयाँ पार्टी भएको कारणले गर्दा देशव्यापीरुपमा उम्मेदवारी दिने अवस्थामा पार्टी नरहेको उनको भनाइ छ ।

तर, विगत (राप्रपामा हुँदा) को निर्वाचनमा पार्टीको जनाधार भएको वडामा अहिले पनि राप्रपा नेपालको प्रभाव रहेको दाबी गर्दै उनले यस्ता स्थानीय तह तथा वडाहरुमा चुनावमा भाग लिने तथा तालमेल गर्नेगरी छलफल भइरहेको उनको भनाइ छ । ‘एमालेसँग हाम्रो एलाइन्स हुन्छ’, श्रेष्ठले रातोपाटीसँग भने, ‘अध्यक्ष लेभलमा टुंगिसकेको छ । ओलीजी र कमल थापाबीच दुई–तीन राउण्ड कुराकानी भएर सहमति भइसकेको छ ।’

​यसबारे थप विषयको टुंगो लगाउनका लागि वार्ता गर्न एमालेका तर्फबाट देवेन्द्र दाहाल र पार्टीको तर्फबाट आफूलाई जिम्मेवारी प्राप्त भएको श्रेष्ठले बताए । ‘विगतमा एमालेले जहाँजहाँ जितेको छ, त्यहाँ पार्टीले दाबी गर्दैन’, भागबण्डाबारे प्रारम्भिक तयारीबारे उनले भने, ‘हामीले (राप्रपा हुँदा) जहाँजहाँ जितेका छौँ त्यहाँ समस्या नै भएन । जहाँ अन्य पार्टीहरुले जितेका छन् र त्यहाँ रहेको हाम्रो संख्याका आधारमा दाबेदारी रहन्छ ।’

गत निर्वाचनमा पार्टीले ५९ वटा वडाहरू जितेको उल्लेख गर्दै ती स्थानमा पनि स्वाभाविक रुपमा पार्टीको दाबेदारी रहने बताए । यस्तै यसअघि राप्रपाले जितेका स्थानीय तहमा पनि दाबेदारी रहने उनको भनाइ छ ।

एमालेले राप्रपा र राप्रपा नेपालसँग तालमेलबारे सहमति गरेको खण्डमा दुई राप्रपा मिलाउन पनि सकस पर्ने कतिपयको भनाइ छ । दुई पार्टीबीच सम्बन्ध राम्रो नरहेको र मत पनि विभाजित रहेकाले यस्तो अवस्था देखिएको हो ।

यसैगरी राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जिल्ला–जिल्लाबाट पार्टीको अवस्थाबारे रिपोर्ट मागिएको बताउँदै जनाधार हेरेर उम्मेदवार खडा गरिने बताए । ‘भोलि–पर्सिसम्ममा जिल्लाको सबै तथ्यांक आएपछि कहाँ कस्तो जनाधार देखिन्छ, त्यसपछि एमालेसँग बसेर एउटा निष्कर्ष निकाल्ने तयारीमा छौँ ।’

राप्रपा प्रवक्ता भन्छन्– आफ्नो भोटको रक्षा पहिलो प्राथमिकता

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले छलफल प्रारम्भ भए पनि तालमेलबारे औपचारिक रुपमा पार्टीमा प्रवेश नपाएको बताए । ‘कुनै प्रस्ताव आएको भए पार्टीको पदाधिकारी वा केन्द्रीय कार्यसम्पादन समितिमा प्रवेश पाउला नै । अहिले भने हामी आफ्नो उम्मेदवार उठाउनेमा लागिराखेका छौँ’, श्रेष्ठले भने, ‘प्रस्ताव पार्टीमा प्रवेशपछि बल्ल उम्मेदवारदेखि तालमेल गर्ने या नगर्ने भन्नेमा बहस हुन्छ ।’

उनले अहिलेचाहिँ पार्टी आफ्नो भोटको रक्षामा नै केन्द्रीत रहेको बताए । ‘देशभर उम्मेदवारी दिनका लागि इन्करेज गर्ने, नभएका ठाउँमा उम्मेदवार खोज्ने, भएकैमध्ये पनि राम्रा र प्रभावकारी उम्मेदवार रोज्ने तथा आन्तरिक सर्भेमा लागिरहेका छौँ’, श्रेष्ठले भने, ‘जितिरहेका सिटको रक्षा गर्ने र थप ठाउँमा जित्ने हाम्रो रणनीति हुनेछ ।’

राप्रपाले गत स्थानीय तह निर्वाचनमा झापाको हल्दिबारी, कचनकवल, गौरीगञ्जका साथै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र धादिङको रुबिभ्यालीमा विजय हासिल गरेको थियो ।

राप्रपाको छरिएर रहेको मत तान्ने एमाले रणनीति

परम्परागत राजनीतिक शक्ति मानिने राप्रपा संसदीय राजनीतिमा कमजोर भूमिकामा रहे पनि देशभर उसको छरिएको रहेको मत भने रहेको  छ । त्यही जनाधारलाई आफूतिर तान्न ओलीले केही स्थानमा दुबै राप्रपालाई भाग दिनेगरी वार्ता थालेका हुन् । २०७४ को संघीय चुनावमा तत्कालीन राप्रपा (गाई) र राप्रपा प्रजातान्त्रिक (हलो)ले क्रमशः १ लाख ९६ हजार ७८२ र ८८ हजार ३७७ मत ल्याएका थिए ।

यस्तै प्रत्यक्षतर्फ राप्रपाबाट लिङ्देन एमालेसँगको तालमेल गरेर विजयी भएका थिए ।  त्यतिबेला दुई पार्टी विभाजित अवस्थामा रहँदा दुई पार्टीले थ्रेसहोल्ड भने कटाउन सकेका थिएनन् । चुनावपछि दुई पार्टी एकीकृत भएर राप्रपा बने पनि चुनावको मुखमा राप्रपाबाट अलगिएर कमल थापाले फेरि राप्रपा नेपाल ब्यूँताएका हुन् । अहिलेको राप्रपाको चुनाव चिन्ह हलो र कमल थापाको तीर रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप