मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

जुम्लामा कालीमार्सी धानखेती

आइतबार, २० चैत २०७८, १९ : ३९
आइतबार, २० चैत २०७८

विश्वकै उच्च स्थानमा उत्पादन हुने अति लोकप्रिय कालीमार्सी धानखेती जुम्लामा सुरु भएको छ । यहाँका किसानले मार्सी धानको बीउ बेर्नामा राख्न थालेका छन् । चैत मार्सी धानको बीउ राख्ने विशेष महिनाका रूपमा लिइने गरेको स्थानीयवासी कर्णजीत पाण्डेले बताए । 
 
पछिल्लो समयमा देश तथा विदेशबाट अत्यधिकरूपमा मार्सी चामलको माग दिन प्रतिदिन बढ्दै गएपछि कालीमार्सी धानखेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ । जुम्ली किसानले कालीमार्सी धानको बीउ राख्दै चैत २० गते विशुव पर्वसमेत मनाउने गरेका छन् । जुम्लीले सो दिन कालीमार्सी धानको बीउ बेर्नामा राख्ने परम्परा भएको स्थानीय जानकार रमानन्द आचार्यले बताए । 

चन्दननाथ बाबा र लछालकृति पैकलाले कालीमार्सी धानको उत्पादन गरेको दिनको सम्झनामा विशुव पर्व मनाउने चलन रहेको छ । परम्परादेखि नै बाजा बजाएर कालीमार्सी धानलाई बेर्नामा छर्ने गरिँदै आएको छ । चैत १२ गते भिजाएर राखेको धानको बीउ २० गते बेर्नामा बीउ छर्ने धानको चक्र भएको कृषि विकास कार्यालयका प्रमुख गणेशबहादुर अधिकारीले बताए । 

चैतमा बेर्नामा राखिएको बीउलाई जेठ र असारमा खेतमा रोप्ने गरिन्छ । कात्तिकमा धान काटेर घर भित्र्याएपछि धानको छमहिने चक्र सकिने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कालीमार्सी धानमा ‘ब्लास्ट’ रोगले सताउन थालेपछि अधिकांश जुम्ली किसानलाई कृषि अनुसन्धान केन्द्रले सिफारिस गरेको चन्दननाथ एक, तीन, लेकाली एक र तीन जातका धानका बीउको धान उत्पादन हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप