मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीका चार उपमहानगरपालिकामा कसले मार्ला बाजी ?

बुधबार, २३ चैत २०७८, ०६ : २६
बुधबार, २३ चैत २०७८

बुटवल । लुम्बिनी प्रदेशका १०९ वटा स्थानीय तहमध्ये चार वटा उपमहानगरपालिका छन् । स्थानीय तहको अघिल्लो निर्वाचनमा यी ४ उपमहानरपालिकामध्ये ३ वटामा नेकपा एमालेले प्रमुख पदमा जित हासिल गरेको थियो भने एक उपमहानगरमा राप्रपाले नेतृत्व हात पारेको थियो ।

बुटवल उपमहानरपालिकामा अहिलेको सत्ता गठबन्धनमा रहेका काँग्रेस र माओवादी केन्द्रको संयुक्त उम्मेदवार खेलराज पाण्डेलाई २ हजार ३९८ मतको अन्तरले हराउँदै एमालेका शिवराज सुवेदी विजयी भएका थिए । त्यति बेला एमालेले २३ हजार २४९ मत ल्याएको थियो । यस्तै, नेपाली काँग्रेसका उम्मेदवार खेमराज पाण्डेले २० हजार ८५१ मत ल्याएका थिए भने जनमुक्ति पार्टीले एक हजार १५१ मत ल्याएको थियो ।

तर अहिले एमाले विभाजित भइसकेको छ । एमाले फुटेर  बनेको नेकपा एकीकृत समाजवादी पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिव राजु गुरुङले बुटवल उपमहानगरमा यसपटक आफ्नो पार्टीले १५ हजारभन्दा बढी मत ल्याउने दाबी गरे  । उनले भने, ‘गत स्थानीय तहको निर्वाचनमा एमालेमा खसेको १५ हजार मत हाम्रो पार्टीमा ल्याउँछौँ, बुटवल उपमहानगरपालिकामा एमाले हार्छ ।’

उनको दाबी सही होस् या नहोस् तर अघिल्लो निर्वाचनमा काँग्रेस, माओवादीले प्राप्त गरेको भोटमात्र यस पटक सुरक्षित रहने हो र एमालेको मत नेकपा एकीकृत समाजवादीले करिव ५ हजार तान्न सके अहिलेको सत्तारुढ गठबन्धनले एमालेलाई बुटवल उपमहानगरपालिकामा हराउन सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन् । तर एमाले नेताहरु बुटवल उपमहानगरमा एक्लै जित्न सक्ने  दाबी गर्छन् ।

गत स्थानीय तहको निर्वाचनमा घोराही उपमहानरपालिकामा पनि एमालेले जित हासिल गरेको थियो । एमाले उम्मेदवार नरुलाल चौधरीले २२ हजार ३० मत ल्याएर विजयी भएका थिए । काँग्रेस उम्मेदवार भुपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४८४ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार जीवन गौतमले १२ हजार ८२ मत प्राप्त गरेका थिए ।

यो उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन घटक नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको मतमात्र जोड्ने हो भने पनि नेकपा एमालेलाई सजिलै पराजित गर्न सक्ने देखिन्छ ।

तुल्सीपुर उपमहानरपालिकामा अघिल्लो निर्वाचनमा एमाले उम्मेदवार घनश्याम पाण्डेले २२ हजार ८५७ मत ल्याएर जित हासिल गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९०३ मत ल्याएका थिए । जबकि माओवादी केन्द्रका उम्मेदवार शेषुराम भण्डारीले ८ हजार ६९५ मत ल्याएका थिए । यो उपमहानगरपालिकामा पनि काँग्रेस र माओवादी केन्द्रले हासिल गरेको मत जोड्दा नेकपा एमालेलाई सहजै पराजित गर्न सक्ने देखिन्छ ।

नेपालगञ्ज उपमहानरपालिकामा भने एमाले र राप्रपाबीच गठबन्धन भएमा सत्तारुढ गठबन्धनलाई हम्मेहम्मे पर्ने देखिन्छ । यस उपमहानगरमा गत निर्वाचनमा राप्रपाका धवल शम्शेर राणाले १२ हजार ५१५ प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका सुरेश कुमार कनौडियाले ८ हजार ७३० मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवार दामोदर आचार्यले ७ हजार १९८ मत ल्याएका थिए । एमाले उम्मेदवार समसुद्दिन सिद्दीकीले ६ हजार ९५ मत ल्याएका थिए ।

त्यतिबेला काँग्रेस र माओवादीलाई खसेको मत जोड्दा १५ हजार ९२८  हुन आउँछ । यसपाली भने नेपालगञ्जका प्रभावशाली नेता तथा उपमहानगर प्रमुख राणाले उम्मेदवारी नदिने उद्घोष गरेका छन् । यो उपमहानगरपालिकामा राप्रपाको पनि राम्रो पकड छ । त्यसैले एमाले र राप्रपाबीच गठबन्धन भएको अवस्थामा यहाँ सत्तारुढ गठबन्धनलाई ठुलो चुनौती हुनसक्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप