शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टोपबहादुरको गृह जिल्लामा एमालेको अवस्था कस्तो ?

बिहीबार, २४ चैत २०७८, ०६ : २८
बिहीबार, २४ चैत २०७८

नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा  पुगेका नेता टोपबहादुर रायमाझीको गृह जिल्ला अर्घाखाँचीमा पाँच दलीय गठबन्धनले एमालेविरुद्धको मोर्चाबन्दीलाई सशक्त तुल्याएको छ ।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेलाई आफूबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टी पनि निकै भारी पर्ने देखिएको छ । युवामाझ लोकप्रिय रहेका रामबहादुर चौहानले अर्घाखाँचीमा नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व गरिरहेका छन् । उनी स्थानीय तहको निर्वाचनका साथै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समेत अर्घाखाँचीमा एमाले नराम्ररी पराजित हुने दाबी गर्दछन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा अर्घाखाँचीका केही पालिकामा काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । अहिले राष्ट्रिय जनमोर्चासहित पाँच दलीय गठबन्धन बनेपछि यो जिल्लामा एमालेसामु चुनौती बढेको छ ।

स्थानीय तहको अघिल्लो निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दा पाँच दलीय गठबन्धन एकातिर र नेकपा एमाले अर्कोतिर हुने हो भने एमालेलाई अर्घाखाँचीको कुनै पनि पालिकामा जित निकाल्न सहज हुने देखिँदैन ।

गत निर्वाचनमा शितगंगा नगरपालिकामा माओवादी केन्द्र र काँग्रेसबीच गठबन्धन भएको थियो । जसअनुसार नगरप्रमुखमा काँग्रेसका उम्मेदवार ८ हजार ६७७ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ६ हजार ९९० मत ल्याएका थिए । अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रले हासिल गरेको उक्त मत जोगाउन सक्ने हो भने अहिले पनि सत्तारुढ गठबन्धनलाई जित हासिल गर्न कठिन छैन ।

यद्यपि, अघिल्लो निर्वाचनको समयमा टोपबहादुर रायमाझी नेकपा माओवादी केन्द्रमा थिए । अहिले उनी एमालेमा रहेका कारण उनीसँगै माओवादीका केही कार्यकर्ता पनि एमालेमा सामेल भएका छन्, जसले गर्दा अघिल्लो स्थानीय तहको निर्वाचनको तुलनामा अहिले माओवादी केन्द्रको मतमा कमी आउने हो कि भन्ने आशंका गरिएको छ । अर्कोतिर, नेकपा एमाले पनि अहिले विभाजित भइसकेको छ । त्यसैले एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीले एमालेकै केही मत काट्ने निश्चित छ ।

अघिल्लो निर्वाचनमा सन्धिखर्क नगरपालिकामा पनि काँग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । त्यतिबेला नगरप्रमुखमा काँग्रेसका उम्मेदवार ८ हजार २३० मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ७ हजार १२७ मत ल्याएका थिए ।

नगरप्रमुखमा काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवारले हासिल गरेको मतको तुलनामा एमालेका उम्मेदवारले १ हजार १०३ मत कम ल्याएका थिए । अघिल्लो निर्वाचनमा यो पालिकामा जनमोर्चाले ५७८ मत ल्याएको थियो । अहिले जनमोर्चा, नेकपा एकीकृत समाजवादी र जसपा नेपालसमेत सत्तारुढ गठबन्धनमा सामेल रहेका कारण एमालेलाई यो पालिकामा जित हासिल गर्न कठिन देखिन्छ ।

यस्तै, भूमिकास्थान नगरपालिकाको प्रमुखमा काँग्रेससँग गठबन्धन गरेर माओवादी केन्द्रका उम्मेदवार ५ हजार ३३० मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाले ४ हजार ५४२  मत ल्याएको थियो । सो पालिकाको प्रमुख पदमा एमालेका उम्मेदवारले ४ हजार २५० मत ल्याएका थिए । त्यतिबेला काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवार विजयी हुँदा दोस्रो स्थानमा रहेको जनमोर्चासमेत अहिले सत्तारुढ गठबन्धनमा सामेल छ । त्यसैले यो पालिकामा काँग्रेस, माओवादी केन्द्र र जनमोर्चाको मत एकैठाउँमा राखेर हेर्ने हो भने नेकपा एमालेको अवस्था निकै नाजुक हुने देखिन्छ । यद्यपि, माओवादीबाट मेयर जितेका रेशम थापा अहिले नेकपा एमालेमा गएका छन् । उनी आसन्न निर्वाचनमा एमालेबाट मेयरकै प्रत्यासी हुने बताइएको छ । त्यसैले मेयर थापाको व्यक्तित्वका कारण पनि उनले एमालेको पक्षमा केही माहोल बनाउन सक्ने अनुमान गरिएको छ ।

अघिल्लो निर्वाचनमा पाणेनी गाउँपालिकामा तीन प्रमुख दल एक्लाएक्लै लडेका थिए, जहाँ पालिका अध्यक्षमा ५ हजार ९७७ मत ल्याएर काँग्रेसका उम्मेदवार विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारले ५ हजार ४८५ मत ल्याएका थिए भने माओवादी केन्द्रले ८१४ मत ल्याएको थियो ।

यस हिसावले यो पालिकामा एमालेलाई काँग्रेस एक्लै भारी पर्ने देखिन्छ । अर्कोतिर, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चासहितको मत जोड्ने हो भने सत्तारुढ गठबन्धन यहाँ एमालेको तुलनामा निकै सशक्त हुने देखिन्छ ।

यस्तै, छत्रदेव गाउँपालिका नेपाली काँग्रेसको गढ मानिन्छ ।  गत निर्वाचनमा यो पालिकाको अध्यक्षमा तीन प्रमुख दल एक्लाएक्लै लड््दा काँग्रेसले ६ हजार १६७ मत ल्याई जित हासिल गरेको थियो । अध्यक्ष पदमा एमालेले ५ हजार ६५ र माओवादी केन्द्रले ८१४ मत ल्याएको थियो । यो पालिकामा काँग्रेस र माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा हासिल गरेको मतमात्र जोगाउन सके एमाले नराम्ररी पराजित हुने देखिन्छ ।

अघिल्लो चुनावमा काँग्रेस–माओवादी गठबन्धनका बाबजुद पनि एमालेले मालारानी गाउँपालिकाको अध्यक्ष पदमा जित हासिल गरेको थियो । अध्यक्ष पदमा एमालेले ६ हजार ५०३ मत ल्याउँदा काँग्रेस–माओवादी गठबन्धनका उम्मेदवारले ५ हजार ५०४ मत ल्याएका थिए ।

काँग्रेस–माओवादी गठबन्धनको मत एमालेको तुलनामा ९९९ ले कम हो । पालिका अध्यक्षमा जनमोर्चाले ५६० मत ल्याएको थियो । जनमोर्चा अहिले सत्तारुढ गठबन्धनमा सामेल छ । जनमोर्चाकै हाराहारीमा नेकपा एकीकृत समाजवादीले पनि मत ल्याउन सके यो पालिकामा पनि एमाले पराजित हुन सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप