शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय निर्वाचन : बर्दियामा यस्तो छ चुनावी हिसाब-किताब

बिहीबार, २४ चैत २०७८, ०९ : ३०
बिहीबार, २४ चैत २०७८

गत स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने वैशाख ३० को स्थानीय तह निर्वाचनमा बर्दियामा सत्ता गठबन्धन दल बलियो देखिएको छ । ८ वटा पालिका भएको बर्दियामा गत निर्वाचनमा काँग्रेसले दुई वटा पालिका , माओवादी केन्द्रले ३ वटा पालिका र  एमालेले  पनि तीन वटा पालिका जितेको थियो ।

माओवादी केन्द्रले जितेको तीन वटा पालिका मध्ये दुई वटा पालिकामा एमाले निकटतम प्रतिद्वन्द्वी थियो ।  अर्कोमा काँग्रेस थियो ।  त्यस्तै काँग्रेसले जितेको दुई वटा मध्ये एउटामा माओवादी र अर्कोमा एमाले निकटतम प्रतिद्वन्द्वी थियो । एमालेले जितेका तीन वटै पालिकामा माओवादी निकटतम प्रतिद्वन्द्वी थियो । 

 यस्तो छ  चुनावी अङ्कगणित 

निर्वाचन आयोगको तथ्यांकअनुसार अनुसार अघिल्लो स्थानीय तह निर्वाचनमा गुलरिया नगरपालिकामा ६ हजार २०७ मत ल्याई नेपाली काँग्रेस विजयी भएको थियो । निकटतम प्रतिद्वन्द्वी एमालेले ५ हजार ७३६ मत ल्याएको थियो । त्यति बेला यी दुई दलको ४७१ मतको मात्रै अन्तर थियो ।  जबकि तेस्रो शक्ति माओवादी केन्द्रले त्यतिबेला ४ हजार ९०४ मत ल्याएको थियो ।  

यसैगरी गेरुवा गाउँपालिकामा ६ हजार ३ मत ल्याई नेपाली काँग्रेस विजयी भएको थियो ।  उसको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रले ५ हजार १५८ मत ल्याएको थियो ।  त्यतिबेला काँग्रेस र माओवादी बीच ८४५ मतको फरक थियो ।  एमाले भने विजयी काँग्रेस भन्दा ३ हजार २९४ मतको अन्तरले पछाडि थियो । अर्थात उसले २ हजार ७०९ मत ल्याएको थियो । 

ठाकुरबाबा नगरपालिकामा एमालेले ७ हजार ७४ मत ल्याएर विजयी भएको थियो ।  निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रले ६ हजार ९५५ मत ल्याएको थियो । त्यतिबेला एमाले भन्दा माओवादी केन्द्र ११९ मतको अन्तरले मात्रै पछाडि थियो । जबकि त्यतिबेला काँग्रेसले ४ हजार ५४० मत ल्याएको थियो ।

बढैयाताल नगरपालिकामा पनि ८ हजार १९८ मत ल्याई एमाले विजयी भएको थियो । उसको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रले ६ हजार ८९६ मत ल्याएको थियो । त्यति बेला एमाले भन्दा माओवादी  १ हजार ३०२ मतले पछाडि थियो ।  जबकि त्यति बेला काँग्रेसले ४ हजार ९६१ मत ल्याएको थियो ।

बारबर्दिया नगरपालिकामा ११ हजार ४२ मत ल्याई माओवादी केन्द्र विजयी भएको थियो । उसको निकटतम प्रतिद्वन्द्वी एमालेले ८ हजार १९८ मत ल्याएको थियो । त्यतिबेला माओवादी भन्दा एमाले २ हजार ३९७ मतले पछाडि थियो । नेपाली काँग्रेसले ४ हजार ९६१ मत ल्याएको थियो । 

बाँसगढी नगरपालिकामा ८ हजार ७५ मत ल्याई एमाले विजयी भएको थियो ।  उसको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रले ७ हजार ८२२ मत ल्याएको थियो । एमाले भन्दा माओवादी ९५३ मतले पछाडि थियो ।  जबकि काँग्रेसले ६ हजार ४७६  मत ल्याएको थियो ।

मधुवन नगरपालिकामा ८ हजार ४३१ मत ल्याई माओवादी केन्द्र विजयी भएको थियो ।  उसको निकटतम प्रतिद्वन्द्वी एमालेले ५ हजार ९२३ मत ल्याएको थियो । त्यति बेला एमाले २ हजार ५०८ मतले माओवादी भन्दा पछाडि थियो । काँग्रेसले ५ हजार ४३१ मत ल्याएको थियो । 

राजपुर नगरपालिकामा माओवादी केन्द्रले ९ हजार ५३५ मत ल्याई विजयी भएको थियो । उसको निकटतम प्रतिद्वन्द्वी काँग्रेसले ८ हजार ८८३ मत ल्याएको थियो । माओवादी भन्दा काँग्रेस ६५२ मतले पछाडि थियो भने  नेकपा एमालेले  ५ हजार २३५ मत ल्याएको थियो । केन्द्रीय नीति अनुसार देशभर सत्तारुढ दलहरुबीचको गठबन्धनबारे छलफल हुँदै गर्दा बर्दियामा पनि सत्ता गठबन्धनबीच चुनावी तालमेलकाे तयारी छ । यसरी चुनाव हुँदा गठबन्धन दल एकातिर र एमाले अर्कोतिर हुने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप