आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : मन्त्रिपरिषद्को महत्त्वपूर्ण निर्णयदेखि गैरसांसदलाई मन्त्रीसम्म

बिहीबार, २४ चैत २०७८, २३ : २१
बिहीबार, २४ चैत २०७८

आज मिति २०७८ साल चैत महिनाको २४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ । 

१. मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्को बैठकको बैठकले राजदूत नियुक्तिसहित विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । जसअनुसार नेपाल टेलिकममा सुनील पौडेललाई प्रबन्ध निर्देशक बनाइएको छ । यस्तै बूढी गण्डकीबाट चिनियाँ कम्पनीलाई हटाइएको छ । केही सरुवा बढुवाका निर्णयहरु पनि भएको छ । 

२. गैर सांसद बने मन्त्री
सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा गोविन्द बन्दीलाई समावेश गरिएको समाजवादी पार्टीका महासचिवले बताएका छन् । नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीलाई सत्तारुढ दलको साझा व्यक्तिको रुपमा मन्त्रिमण्डलमा समावेश गरिएको बताए ।  उनी गैर सांसद हुन् । उनले कानुनमन्त्री पाएपछि दिलेन्द्र प्रसाद बडू उद्योगमन्त्री बनेका छन् । 

३. चुनावमा जान विप्लवको पार्टीका नेताहरु दौडधुपमा
नेत्रविक्रम चन्द‘ विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरु स्थानीय निर्वाचनमा सहभागी हुने तयारीमा जुटेका छन् । 

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा दल दर्ता गर्न गत फागुन १५ गतेसम्मको म्याद दिएको थियो। तर तोकिएको समयमा दल दर्ता गराएको नेकपाका नेताहरु अहिले आएर दल दर्ता गर्न सक्रिय भई लागेका हुन्। दल दर्ताको प्रक्रिया बुझ्न नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा बिहीबार निर्वाचन आयोग पुगेका हुन् । 

४. प्रधानमन्त्री शेरबहादुर देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले खोप अभियानको शुभारम्भ गरेका छन् ।  प्रधानमन्त्री देउवाले बालबालिकालाई लगाइने खोप अभियानमा टाइफाइड समावेश गरेसँगै नेपाल दक्षिण एशियामा टाइफाइड बिरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक बनेको बताए । 

५.  संविधान च्यात्ने अधिकार कसैलाई छैन : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार कसैलाई नभएको बताएका छन् ।  सिरहाको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कुनै पनि बहानामा संविधानमाथि आक्रमण गर्ने र च्यात्ने अधिकार नरहेको बताएका हुन् । 

​६. नेप्से परिसूचक ३५.६६ अंकले वृद्धि
लगातार पाँचौं दिनसम्म ओरालो लागेको शेयर बजार मापक नेप्से परिसूचकमा वृद्धि भएको छ । साताको अन्तिम दिन बिहीबार भएको कारोबारमा नेप्से परिसूचक ३५.६६ अंक बढेर २४६४.३१ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ८.१३ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.३८ अंक र सेन्सेटिभ इण्डेक्स २.३७ अंक बढेको छ । बिहीबार कारोबारमा आएका २२४ कम्पनीको ५४ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा बिहीबार नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो कारोबार दिन करिब २ अर्बको कारोबार भएको थियो ।

७. बारको निर्वाचन
नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरू जितको नजिक आइपुगेका छन् । बिहीबार साँझ ९ बजेसम्मको मतगणना अनुसार अध्यक्षका प्रत्यासी गोपालकृष्ण घिमिरेले ३ हजार ७२८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले १ हजार ९७७ मत प्राप्त गरेका छन् । 

कुल ७ हजार ५ सयको हाराहारीमा मत खसेकामा ६ हजार १ सयभन्दा बढी मत गणना भइसकेको छ । नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलका अनुसार अब काठमाडौं जिल्ला अदालत बारको ६५० र उच्च अदालत पाटन बारको ७३७ गरी कुल १ हजार ३८७ मत मात्रै गन्न बाँकी छ । यससँगै घिमिरेको जित निश्चित भएको हो ।

८. खेलकुदमा लफडा
अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचनको मताधिकारका लागि बी र सी डिभिजन क्लबको निर्वाचन स्थगित भएपछि क्लबका प्रतिनिधिहरुले कम्प्युटर र टेबल तोडफोड गरेका छन् ।  एन्फाको निर्वाचन असार ६ गते हुँदैछ ।
निर्वाचनका लागि बी र सी डिभिजन क्लबको मताधिकारको टुङ्गो आज लाग्ने तय रहेको थियो ।  तर, एन्फा विधान विपरित कार्यसमितिमा रहेका सदस्य क्लबका प्रतिनिधि बनेर आएपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो । निर्वाचन स्थगित भएको रिसमा बी र सी डिभिजन क्लबका प्रतिनिधिहरुले एन्फामा रहेको कम्प्युटर र टेबल तोडफोड गरेका हुन् । एन्फाको आसन्न निर्वाचन असार ६ गते हुँदैछ ।

९.एमालेको असन्तुष्टि
एमालेले निर्वाचन आचारसंहिताको दफा ४ को व्यवस्था राजनीतिक दल, उमेदवार, तिनका प्रतिनिधि र मतदाता समेत सबैलाई लाग हुने भनी गरेको व्यवस्थाको उपदफा (थ) प्रति आपत्ति जनाउँदै सच्याउन निर्वाचन आयोगलाई आग्रह गरेको छ ।

​बिहीबार एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर ६ बुँदे ज्ञापनपत्र बुझाउँदै आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका कतिपय बुँदाहरु संविधानविपरीत भएको भन्दै सच्याउन आग्रह गरेको हो ।

मिथिलाञ्चलमा बिहीबार हर्षोल्लासका साथ चैती छठ मनाइँदै छ । छठ पर्व अन्र्तगत आज सन्ध्या अर्घ्य दिँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष परिकारहरू अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने चलन छ । 

आफूहरुको उठाएका माग सम्बोधन नभएको भन्दै थारुहरुको केही संगठन एकजुट हुने भएका छन् । काँग्रेस, माओवादी, एमाले, जसपा, लोसपालगायतका दलले आफूहरुको माग पुरा नगरेको भन्दै उनीहरुले स्थानीय तह निर्वाचनको मुखमा छुट्टै गठबन्धनको तयारी थालेका हुन् । यो अभियानमा रेशम चौधरीको पार्टीसमेत संलग्न रहेको बताइएको छ ।

१० यो पनि...
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरूबारे बिभिन्न प्रस्ताव गरेका छन् । अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको बैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिट्यान्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए ।  

नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले एमालेका अध्यक्ष केपी ओलीलाई चुनावपछि आधा किलोको ढक बनाइदिने चेतावनी दिएका छन् । 
भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार उद्घाटन गर्दै मन्त्री आलेले यस्तो चेतावनी दिएका हुन् ।

नेपालमा वर्षेनी वायु प्रदूषणले गर्दा ३७ हजार ६८३ जना र सुर्तीजन्य रोगबाट २७ हजार १०० जनाको अकालमै मृत्यु हुने गरेको स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ । 

पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४६६८ जनामा गरिएको नमूना परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

​थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप