आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

रिसाएको बिरालोको शैलीमा गभर्नरमाथि कारवाही : अध्यक्ष ओली

सोमबार, २८ चैत २०७८, १७ : ०६
सोमबार, २८ चैत २०७८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले ‘रिसाएको बिरालो’ को शैलीमा नेपाल राष्ट्र बैंकका गभर्नरमाथि कारवाही गरेको आरोप लगाएका छन् । बझाङमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारकै कारण देशको अर्थतन्त्र ध्वस्त भएको तर त्यसको रिस गभर्नरमाथि पोख्ने काम भएको आरोप लगाएका हुन् ।

सरकारप्रति लक्षित गर्दै उनले भने, ‘आफू कमिशनखोरी गर्छ, दलाल पूँजीपतिसँग मिलेर देशको अर्थतन्त्र ध्वस्त पार्छ अनि राष्ट्र बैंकको गभर्नरलाई कारवाही गर्छ । बिरालो रिसायो भने मान्छेलाई केही गर्न सक्दैन, खाँबो चिथोर्छ । सरकारलाई एमालेसँग रिस उठेको होला, एमालेलाई केही गर्न सक्दैन अनि गभर्नरलाई कारवाही गर्छ ।’

उनले पाँच दलीय गठबन्धनप्रति पनि कटाक्ष गरे । उनले भने, ‘पाँच दलीय गठबन्धन ! के हो पाँच दलीय गठबन्धन ? पाँच वटा बाख्रा एक ठाउँमा भए पनि भैंसीजत्रो हुँदैन होला नि !’

उनले गठबन्धनमा रहेका दलहरूलाई स्थानीय तहमा खुसुक्क एमालेसँग मिल्न सुझाव पनि दिए । देशभर एमालेको पक्षमा जनलहर देखिएको भन्दै उनले गठबन्धन गर्दैमा एमालेलाई पराजित गर्न नसक्ने बरु खुसुक्क एमालेसँग मिलेमा कुनै पालिकामा एमालेकै सहयोगमा जित हासिल गर्न सकिने अवस्था रहने प्रस्ट पारे ।

उनले भने, ‘बाटो बिराएर, सानो कुरामा चित्त दुखाएर, कसैको भ्रममा परेर एमाले छाडेर गएकाहरु आजै एमालेमा फर्किए पनि हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप