शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

महानगरबाहेक ५० स्थानीय तह जित्ने लोसपाको लक्ष्य

तालमेल गर्न एमालेसँग संवादमा
सोमबार, २८ चैत २०७८, १९ : ०२
सोमबार, २८ चैत २०७८

लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)ले देशैभरका ६ स्थानीय तह बाहेक ५० स्थानीय तह जित्ने दाबी गरेको छ । तत्कालीन जनता समाजवादी पार्टी(जसपा)बाट विभाजन भएको लोसपाले एक्लै ५० स्थानीय तह जित्ने प्रक्षेपण गरेको छ । नेकपा एमालेसँग चुनावी तालमेल भएमा त्यो भन्दा बढी जित्न सकिने नेताहरूले बताएका छन् ।

देशैभरका ६ महानगरपालिकामध्ये मधेस प्रदेशमा वीरगञ्ज महानगर पालिका परे पनि लोसपाले जित्न निक्कै गाह्रो रहेको लोसपा कार्यकारिणी सदस्य एकवाल मियाँले स्वीकार गरे । तर, जनकपुर र कलैया उपमहानगरपालिका लोसपाको जित्ने अपेक्षा छ । यसअघि जनकपुर उपमहानगर पालिका तत्कालीन राष्ट्रिय जनता पार्टीबाट जितेकाले यस पटक पनि जित्ने अपेक्षा छ । गत आइतबार लोसपा जनकपुर उपमहानगरपालिकाको नगर समिति बैठकले ५/५ जना मेयर उपमेयरको नाम सिफारिस गरेको छ । मेयरमा मनोज चौधरी, परमेश्वर साह, जानकीराम साह, अमर परियार र सञ्जय चौधरी छन्। यस्तै उपमेयरमा विभा ठाकुर,विभा पाण्डे,रीता मिश्रा, पुनम झा मैथिल र पुनम साहको नाम सिफारिस भएको छ। मेयर र उममेयरमा सर्वसम्मत नभएपछि ५/५ जनाको नाम सिफारिस गरिएको हो। 

कलैया उपमहानगरपालिका मेयर उपमेयर यसअघि दुवै काँग्रेसले जिते पनि यस पटक लोसपाको जित्न सकिने लिष्टमा छ। तर, सजिलै जित्न भने गाह्रो भएको मियाँले स्वीकार गरे । यदि एमालेसँग गठबन्धन भएमा भने सजिलै जित्न सकिने आङ्कलन छ। अरू नगरपालिका र गाउँपालिका गरेर ५० स्थानीय तह जित्न सकिने मियाँको दाबी छ। लोसपाको मधेस प्रदेशमा सबैभन्दा बढी राम्रो जनमत भएकाले त्यहाँ भएका १३६ स्थानीय तहबाटै धेरै जित्ने दाउमा छ। अरू लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लामा सङ्गठन राम्रो नभए पनि जित्ने अपेक्षा छ।

‘हामीले उपमहानगरपालिका सहित नगरपालिका र गाउँपालिका गरेर ५० स्थानीय तह जित्ने आङ्कलन छ। धेरै जित्न सकिन्छ भनेर झुटो कुरा बोल्नु छैन,’ रातोपाटीसँग कुरा गर्दै मियाँले भने,‘हामीले माग र मुद्दा छोडेका छैनौँ । लोसपाप्रति जनताको विश्वास अझै घटेको छैन। त्यसो हुँदा यसअघि चुनावभन्दा धेरै स्थानीय तह जित्छौँ ।’ तत्कालीन जसपा विभाजन भए पनि आफूहरू पुरानै शक्तिहरू एक ढिक्का भएको मियाँले बताए। ‘हामीहरू राजपा र संघीय समाजवादी फोरमबीच एकता गरेर जसपा बनायौ। पार्टीमा कुरा मिल्न छोडेपछि विभाजन भयो’ उनले भने,‘राजपा लोसपा भयो संघीय समाजवादी फोरम जसपा भयो। हाम्रो स्थानीय तहको शक्ति घटेको छैन। बरु बढेको छ।’

यसअघि राजपाबाट २४ स्थानीय तहमा दोस्रो भएर पराजित भएकाले त्यसलाई समेत पहिलो भएर जित निकाल्ने लोसपाको रणनीति छ। लोसपाले यसअघि कुल २५ स्थानीय तह प्रमुख र ३१ उपप्रमुख मात्रै जितेको थियो। लोसपाले सबै स्थानीय तहमा उठ्ने उम्मेदवारको नाम टुङ्ग्याउन आजसम्मको समय दिएको छ। लोसपा जिल्ला पर्यवेक्षकहरूको विस्तारित बैठकले गत शुक्रबार तीन दिनको समय दिई स्थानीय तहका उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो। स्थानीय तहमा उठ्ने उम्मेदवारको सकेसम्म सर्वसम्मत नभए आकाङ्क्षीहरूको नाम केन्द्रमा पठाउन आग्रह गरिएको हो। सबै उम्मेदवारको नाम सिफारिस भएपछि कार्यकारिणी समिति बैठकले सबै उम्मेदवारको नाम फाइनल गर्नेछ ।

एमालेसँग संवादमा 

लोकतान्त्रिक समाजवादी पार्टी एमालेसँग चुनावी तालमेलको संवादमा छ। दुवै पक्षले चुनावी तालमेल गर्ने विषयमा छलफल चलाइरहेका छन्। काँग्रेससँग चुनावी तालमेल इच्छा भए पनि सत्ता गठबन्धनमा धेरै दल भए पनि लोसपा एमालेसँग चुनावी तालमेल गर्न संवाद अघि बढाएको हो। एमालेसँग चुनावी तालमेलका विषयमा छलफल भए पनि टुङ्गो भने लागि नसकेको लोसपा नेता मियाँले बताए। यद्यपि एमालेसँग चुनावी तालमेलको संवादमै भएको उनले दाबी गरे।

 तर, एमाले प्रमुख सचेतक विशाल भट्टराईले केन्द्रबाट कुनै दलसँग चुनावी तालमेल नहुने दाबी गरे। ‘हामीले स्थानीय तह निर्वाचनमा केन्द्रबाट कुनै दलसँग तालमेल गर्दैनौँ । एमालेले काँग्रेससहितको सत्ता गठबन्धन र सबै दलसँग प्रतिस्पर्धा गर्न तयार छ,’ रातोपाटीसँग कुरा गर्दै भट्टराईले भने,‘स्थानीय आवश्यकताका आधारमा लोसपा सहित अन्य दलसँग चुनावी तालमेल हुन सक्छ।’ स्थानीय नेतृत्वले आवश्यकता ठानेमा लोसपासँग तालमेल हुन सक्ने भट्टराईले स्वीकार गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप