शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा कोरोना सङ्क्रमण बढ्दा नेपालमा बुस्टर डोज लगाउने बढे

बुधबार, ०७ वैशाख २०७९, १४ : ४६
बुधबार, ०७ वैशाख २०७९

छिमकी मुलुक भारत र चीनमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण बढेसँगै नेपालमा बुस्टर खोप लगाउनेको सङ्ख्या बढ्न थालेको छ । नेपालमा हाल ६६.४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाए पनि करिब ३१ प्रतिशत नागरिकले खोप लगाएका छैनन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कलाई केलाउँदा पछिल्लो समय बुस्टर डोज लगाउने भन्दा पहिलो र दोस्रो मात्रा खोप लगाउनेको सङ्ख्या नै न्यून छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार मंगलबार गएको २४ घण्टामा ७२ हजार ६८९ मात्रा खोप लगाएका छन् । जसमा ११ हजार ३९२ मात्रा कोरोनाविरुद्धको नियमित खोप लगाएका छन् भने ६१ हजार २९७ जनाले बुस्टर मात्रा लगाएका छन् । यस्तै वैशाख ५ गते १ हजार ४७६ मात्रा नियमित लगाएका छन्  भने १८ हजार ४९ जनाले बुस्टर मात्रा खोप लगाएका छन् ।

यसअघि गत चैत्र २९ गते अर्थात् मंगलबार ४१ हजार ४ सय ७ मात्रा खोप लगाइएको थियो । जसमध्ये २४ हजार ९१० जनाले बुस्टर डोज लगाएका थिए भने १६ हजार ४९७  जनाले नियमित खोप लगाएका थिए । बुधबार ५६ हजार ७३५ मात्रा खोप लगाइएको थियो । जसमा बुस्टर डोज ९ हजार ९३७ जनाले लगाएको र ४६ हजार ७९८ जनाले नियमित खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, बिहीबार अर्थात् वैशाख १ गते २१ हजार ७६१ जनाले बुस्टर डोज लगाएका थिए भने ३९ हजार ५१७ जनाले नियमित खोप लगाएका थिए । शुक्रबार ५ हजार २८ जनाले बुस्टर डोज लगाउँदा २ हजार ८६६ मात्रा नियमित खोप लगाएका थिए । शनिबार भने मन्त्रालयबाट खोप अभियान सञ्चालन भएन ।

पछिल्ला केही दिन यता कोरोना सङ्क्रमण दर कम भए पनि सङ्क्रमणको जोखिम कायम रहेकाले खोप नलगाएकाहरू खोप अभियानमा सहभागी हुन स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीर कुमार अधिकारी बताउँछन् । सरकारले पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेपछि बुस्टर मात्रा खोप दिने व्यवस्था गरेको जानकारी दिए ।

नेपालमा १८ वर्षमाथि एक करोड ९९ हजार २२ हजार १६४ जनामध्ये एक करोड ६५ लाख ८६ हजार २४५ जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् । अर्थात् ८३.३ प्रतिशत ले पूर्ण मात्रा खोप लगाएका छन् । यस्तै, एक करोड ८७ लाख ३३ हजार ८६२  जनाले कम्तीमा पहिलो मात्रा लगाएका छन् । यस्तै,  १२ देखि १७ वर्षसम्मका ३४ लाख २५ हजार ४०८ जना मध्ये ७६.० प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ९२.० प्रतिशतले एक मात्रा लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

भारतमा पाँच दिनयता सङ्क्रमण दर बढ्न थालेको छ । जनस्वास्थ्यविद्हरूका अनुसार यसभन्दा अघि नेपालमा देखिएका तीन वटै कोरोना महामारीका लहरहरू भारतमा नयाँ लहर सुरु भएको तीनदेखि चार सातामा सुरु भएको थियो । स्वास्थ्य मन्त्रालय सह प्रवक्ता डा. अधिकारीले भने, ‘विगतमा भारतमा कोरोना सङ्क्रमण बढ्दै गएको केही हप्तापछि नेपालमा पनि सङ्क्रमण बढ्न थालेको थियो । विगतका भोगाइबाट हामी सबैले सक्नै पर्छ । भारतमा सङ्क्रमणको अवस्था हेरेर जनस्वास्थ्यका मापदण्ड, नाका क्षेत्रमा निगरानी लगाएका कुरा सचेत हुनुपर्छ ।’

 नेपालमा गएको २४ घण्टामा  १० जनामा सङ्क्रमण पुष्टि भएको  छ । यद्यपि छिमेकी राष्ट्र भारतमा केही दिनयता सङ्क्रमण बढेको छ । भारतको विहार राज्यको गजियावाद नोएडामा २५ जना स्कुले बालबालिका र कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि  एक महिनाका लागि छुट्टी दिइएको छ । बिहार सरकारले कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि एक महिनाका लागि विशेष आकस्मिक बिदा दिन निर्देशन दिएको छ ।

यस्तै, गाजियावादमा गएको २४ घण्टामा १३५ जना सङ्क्रमण पुष्टि भएको छ । गौतमबुद्ध नगरमा १०७ जना सङ्क्रमण पुष्टि भएको छ । यी दुई जिल्लामा ४४१ जना सक्रिय केश रहेका छन् । जसमा १६२ जना शिक्षक र विद्यार्थी सङ्क्रमित भएका छन् । यस्तै, दिल्लीमा पनि पाँच दिनयता सङ्क्रमितको ग्राफ उकालो लाग्दै गएको छ । १४ अप्रिलमा ३२५ क्रमशः ३६६, ४४१, १७ अप्रिलमा सङ्क्रमितको सङ्ख्या बढेर ५१७ र १८ अप्रिलमा ५०१ जनामा पुष्टि भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप