शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चार दशक अघि नै जुम्लामा फुटबल मोह, तर कमजोर नतिजा

एक दशक एउटै नेतृत्व हुँदा पनि फुटबल गतिविधि शुन्य बराबर
शुक्रबार, ०९ वैशाख २०७९, १२ : २३
शुक्रबार, ०९ वैशाख २०७९

कुनै जिल्लामा फुटबलको नेतृत्व एक दशकसम्म एकै व्यक्तिले गर्दा विकासको अपेक्षा पक्कै गरिन्छ । यतिका अवधिसम्म सामान्य रुपमा खेलाडी उत्पादन र खेल मैदानको परिकल्पना गर्नु जायज हो । तर, एन्फाको मान्यता पाएको दश वर्ष पुग्दासमेत जुम्ला फुटबलमा हालसम्म न त कुनै खेल मैदान निर्माण भएको छ, न त कुनै खेलाडी उत्पादनका लागि पहल ।

जुम्ला फुटबल संघका अध्यक्ष भरतबहादुर बुढथापा दश वर्षको कार्यकालमा निकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलको अनुभव बटुलिसकेका छन् । तर, उक्त अनुभव जुम्ला फुटबलको विकासमा लागि उपयोग भएन । बुढथापा जुम्ला फुटबलको लागि सरकारी तहबाट सहयोग नभएको बताउँछन् । स्थानीय तह र जिल्लाका राजनीतिक दलहरुले सहयोग गर्न नसक्दा फुटबलको विकासका लागि धेरै सोच्न नसकेको उनको भनाइ छ ।

बुढथापालाई नै एन्फाले जिल्लाको फुटबल विकासका लागि भनेर पठाएको छ । फुटबलको विकासका लागि सरकारी र गैरसरकारी सरसहयोग जुटाउन नसक्नु अध्यक्ष बुढथापाको कमजोरी हो ।​ यद्यपी पछिल्लो एक–दुई वर्षमा जुम्लामा जिल्ला लिग सञ्चालनले केही विकासको अपेक्षा गरिएको छ । जिल्ला लिग जितेको लेकाली युवा क्लबले नेपालगन्जमा सम्पन्न एन्फा प्रेसिडेन्ट कप खेल्यो । उक्त लिगमा टिमलाई खेलाडी संकलनका लागि हार गुहार नै गर्नु पर्यो । जिल्लामा भएका सबै खेलाडी तयार पारेर टिम बनाउँदा पनि लेकाली युवा क्लबले प्रेसिडेन्ट कपमा जितविहीन भएर बाहिरिनु पर्यो ।

यसरी कमजोर अवस्थामा गुज्रिरहेको जुम्लाको फुटबलका लागि न त कुनै सरकारी निकायबाट पहल हुन सकेको छ, न त एन्फा जुम्लाको नेतृत्व नै लागि परेको छ । उसो त जुम्लाको कुनै पनि खेलाडी राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेको छैनन् भन्ने होइन । युद्ध शाही र कलम भक्रीले राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेका छन् । भक्रीले बाँसबारीबाट ‘बी’ डिभिजन लिगमा सात खेल र बौद्धबाट दुई राष्ट्रिय स्तरका खेल खेलेका छन् । उनी एन्फा जुम्लाको स्थापना हुनु पूर्व नै राष्ट्रिय स्तरमा पुगे । अर्का खेलाडी शाही जुम्लामा एन्फा स्थापना हुनुपूर्व त्रिभुवन आर्मी क्लबबाट फुटबल खेल्न सुरु गरेका थिए ।

२०३७ सालदेखि नै फुटबलको मोह

जुम्लामा चार दशकअघि २०३७ सालमा नै फुटबलको मोह सुरु भएको थियो । फुटबलका लागि भनेर लेकाली युवा क्लब दर्ता भयो, जुन फुटबलका लागि नै दर्ता भएको मध्यपश्चिमाञ्चलको पहिलो क्लब हो । यो क्लबको अस्तित्व अझै पनि छ । यसले नै गत वर्ष नेपालगञ्जमा भएको एन्फा प्रेसिडेन्ट लिग खेल्यो ।

२०३७ सालमा जुम्लामा लेकाली युवा क्लब सुरेशजङ शाहले सुरु गरेका थिए । उनले सुरु गरेको क्लब अहिले राष्ट्रिय लिग खेल्ने हैसियतमा पुगेको छ ।

दश वर्षसम्म एउटै नेतृत्व

अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभरका ४८ जिल्लामा फुटबल संघलाई मान्यता दिएको छ । एन्फाकै मान्यता पाएको एक जिल्ला हो जुम्ला । यहाँ २०६९ सालमा पहिलो पटक तदर्थ समिति गठन भयो । त्यसपछि हालसम्म जुम्लामा भरत बुढथापा मात्र नेतृत्वमा छन् । जुम्ला फुटबलको चौथो कार्यकालसम्म बुढथापा सर्वसम्मत नेतृत्वमा छन् । पछिल्लो कार्यकालमा पनि उनको प्रतिस्पर्धीमा कुनै क्लबका प्रतिनिधि आएनन् ।

उनको कार्यकालमा जुम्लामा दुई राष्ट्रिय लिग भयो । राष्ट्रिय लिग खेलेका खेलाडी एन्फा जुम्लाले तयारी वातावरण बनाएको भने छैन । जिल्ला लिग जितेका टिमले राष्ट्रिय लिग खेल्ने परिपाटी छ ।

करिब एक दशकदेखि निरन्तर रुपमा जुम्लाको अध्यक्षको जिम्मेवारी पाउँदै आएका उनी केन्द्रीय सह–महासचिवसम्म पदमा पुगे । तर, जिल्लाको फुटबल विकासको खाका भर्खरै कोरिँदै छ । एन्फाको सानो बजेटले पनि जुम्लाको फुटबलमा कायापलट गर्न सकेन ।

जिल्लामा एउटा फुटबल मैदान बन्ने क्रममा छ । हरेक वर्ष जिल्लाका राजनीतिक दलहरुले बजेटको लागि आशा देखाउँछन् तर पैसा दिने समयमा मुख फेर्छन्, बुढथापाको गुनासो छ ।

जुम्ला फुटबलको अपेक्षा

जुम्लामा फुटबल विकासका लागि कुनै प्रयास भएको छैन भन्दा हुन्छ । बनिरहेको रंगशाला पनि पछिल्लो ७ वर्षदेखि निर्माणाधीन अवस्थामा छ । चुनावको समयमा तयार पारिएको घोषणापत्रमा समेत जिल्लाको फुटबल विकासका लागि उल्लेख नहुनु राजनीतिक दलहरुले समेत चासो नदेखाउनु हो ।

जुम्लाका स्थानीय तहहरुले सहयोग नगर्दा खेलकुद विकासमा असहज भएको अध्यक्ष बुढथापा बताउँछन् । ‘एन्फाले छुट्याएको थोरै बजेटले खेलकुद विकास सम्भव छैन । स्थानीय तहले बजेट दिँदैनन्, बुढथापाले रातोपाटीसँगको कुराकानीमा दुःखेसो पोखे ।

वर्षमा एक मात्र प्रतियोगिता

जुम्लामा वर्षभरमा एउटा खेलकुद प्रतियोगिता मात्र हुन्छ । एन्फाले पठाएको बजेटबाट जिल्ला लिग सञ्चालन हुन्छ । अन्य कुनै प्रतियोगिता भए युवा क्लब र खेलकुद संस्थाहरुले आयोजना गर्छन् । आफै बजेट जुटाएर एन्फा जुम्लाले खेलकुद प्रतियोगिता गर्न सकेको पनि छैन ।

जुम्लामा जिल्ला लिग खेल्ने टोली १५ वटा भए पनि अहिले एन्फामा १२ क्लब मात्र आवद्ध छन् । सबै टोली जिल्ला लिग खेल्ने ताका जम्मा हुन्छन् । त्यसबाहेकको समयमा जुम्लामा फुटबल गतिविधि हुँदैन । जुम्लाको नेतृत्वका लागि कुनै क्लबले चासो देखाउँदैनन् ।

एन्फाको कार्यकालमा दश वर्ष बिताएका बुढथापाले जुम्लामा फुटबल विकासका लागि केही त पक्कै गरेका छन् । तर लगातार एक दशक अध्यक्षको कार्यकाल बिताउँदा पनि विकास बजेट भित्र्याउन नसक्नु उनको कमजोरी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप