शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

चार दशक अघि नै जुम्लामा फुटबल मोह, तर कमजोर नतिजा

एक दशक एउटै नेतृत्व हुँदा पनि फुटबल गतिविधि शुन्य बराबर
शुक्रबार, ०९ वैशाख २०७९, १२ : २३
शुक्रबार, ०९ वैशाख २०७९

कुनै जिल्लामा फुटबलको नेतृत्व एक दशकसम्म एकै व्यक्तिले गर्दा विकासको अपेक्षा पक्कै गरिन्छ । यतिका अवधिसम्म सामान्य रुपमा खेलाडी उत्पादन र खेल मैदानको परिकल्पना गर्नु जायज हो । तर, एन्फाको मान्यता पाएको दश वर्ष पुग्दासमेत जुम्ला फुटबलमा हालसम्म न त कुनै खेल मैदान निर्माण भएको छ, न त कुनै खेलाडी उत्पादनका लागि पहल ।

जुम्ला फुटबल संघका अध्यक्ष भरतबहादुर बुढथापा दश वर्षको कार्यकालमा निकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबलको अनुभव बटुलिसकेका छन् । तर, उक्त अनुभव जुम्ला फुटबलको विकासमा लागि उपयोग भएन । बुढथापा जुम्ला फुटबलको लागि सरकारी तहबाट सहयोग नभएको बताउँछन् । स्थानीय तह र जिल्लाका राजनीतिक दलहरुले सहयोग गर्न नसक्दा फुटबलको विकासका लागि धेरै सोच्न नसकेको उनको भनाइ छ ।

बुढथापालाई नै एन्फाले जिल्लाको फुटबल विकासका लागि भनेर पठाएको छ । फुटबलको विकासका लागि सरकारी र गैरसरकारी सरसहयोग जुटाउन नसक्नु अध्यक्ष बुढथापाको कमजोरी हो ।​ यद्यपी पछिल्लो एक–दुई वर्षमा जुम्लामा जिल्ला लिग सञ्चालनले केही विकासको अपेक्षा गरिएको छ । जिल्ला लिग जितेको लेकाली युवा क्लबले नेपालगन्जमा सम्पन्न एन्फा प्रेसिडेन्ट कप खेल्यो । उक्त लिगमा टिमलाई खेलाडी संकलनका लागि हार गुहार नै गर्नु पर्यो । जिल्लामा भएका सबै खेलाडी तयार पारेर टिम बनाउँदा पनि लेकाली युवा क्लबले प्रेसिडेन्ट कपमा जितविहीन भएर बाहिरिनु पर्यो ।

यसरी कमजोर अवस्थामा गुज्रिरहेको जुम्लाको फुटबलका लागि न त कुनै सरकारी निकायबाट पहल हुन सकेको छ, न त एन्फा जुम्लाको नेतृत्व नै लागि परेको छ । उसो त जुम्लाको कुनै पनि खेलाडी राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेको छैनन् भन्ने होइन । युद्ध शाही र कलम भक्रीले राष्ट्रिय स्तरमा प्रतिनिधित्व गरेका छन् । भक्रीले बाँसबारीबाट ‘बी’ डिभिजन लिगमा सात खेल र बौद्धबाट दुई राष्ट्रिय स्तरका खेल खेलेका छन् । उनी एन्फा जुम्लाको स्थापना हुनु पूर्व नै राष्ट्रिय स्तरमा पुगे । अर्का खेलाडी शाही जुम्लामा एन्फा स्थापना हुनुपूर्व त्रिभुवन आर्मी क्लबबाट फुटबल खेल्न सुरु गरेका थिए ।

२०३७ सालदेखि नै फुटबलको मोह

जुम्लामा चार दशकअघि २०३७ सालमा नै फुटबलको मोह सुरु भएको थियो । फुटबलका लागि भनेर लेकाली युवा क्लब दर्ता भयो, जुन फुटबलका लागि नै दर्ता भएको मध्यपश्चिमाञ्चलको पहिलो क्लब हो । यो क्लबको अस्तित्व अझै पनि छ । यसले नै गत वर्ष नेपालगञ्जमा भएको एन्फा प्रेसिडेन्ट लिग खेल्यो ।

२०३७ सालमा जुम्लामा लेकाली युवा क्लब सुरेशजङ शाहले सुरु गरेका थिए । उनले सुरु गरेको क्लब अहिले राष्ट्रिय लिग खेल्ने हैसियतमा पुगेको छ ।

दश वर्षसम्म एउटै नेतृत्व

अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभरका ४८ जिल्लामा फुटबल संघलाई मान्यता दिएको छ । एन्फाकै मान्यता पाएको एक जिल्ला हो जुम्ला । यहाँ २०६९ सालमा पहिलो पटक तदर्थ समिति गठन भयो । त्यसपछि हालसम्म जुम्लामा भरत बुढथापा मात्र नेतृत्वमा छन् । जुम्ला फुटबलको चौथो कार्यकालसम्म बुढथापा सर्वसम्मत नेतृत्वमा छन् । पछिल्लो कार्यकालमा पनि उनको प्रतिस्पर्धीमा कुनै क्लबका प्रतिनिधि आएनन् ।

उनको कार्यकालमा जुम्लामा दुई राष्ट्रिय लिग भयो । राष्ट्रिय लिग खेलेका खेलाडी एन्फा जुम्लाले तयारी वातावरण बनाएको भने छैन । जिल्ला लिग जितेका टिमले राष्ट्रिय लिग खेल्ने परिपाटी छ ।

करिब एक दशकदेखि निरन्तर रुपमा जुम्लाको अध्यक्षको जिम्मेवारी पाउँदै आएका उनी केन्द्रीय सह–महासचिवसम्म पदमा पुगे । तर, जिल्लाको फुटबल विकासको खाका भर्खरै कोरिँदै छ । एन्फाको सानो बजेटले पनि जुम्लाको फुटबलमा कायापलट गर्न सकेन ।

जिल्लामा एउटा फुटबल मैदान बन्ने क्रममा छ । हरेक वर्ष जिल्लाका राजनीतिक दलहरुले बजेटको लागि आशा देखाउँछन् तर पैसा दिने समयमा मुख फेर्छन्, बुढथापाको गुनासो छ ।

जुम्ला फुटबलको अपेक्षा

जुम्लामा फुटबल विकासका लागि कुनै प्रयास भएको छैन भन्दा हुन्छ । बनिरहेको रंगशाला पनि पछिल्लो ७ वर्षदेखि निर्माणाधीन अवस्थामा छ । चुनावको समयमा तयार पारिएको घोषणापत्रमा समेत जिल्लाको फुटबल विकासका लागि उल्लेख नहुनु राजनीतिक दलहरुले समेत चासो नदेखाउनु हो ।

जुम्लाका स्थानीय तहहरुले सहयोग नगर्दा खेलकुद विकासमा असहज भएको अध्यक्ष बुढथापा बताउँछन् । ‘एन्फाले छुट्याएको थोरै बजेटले खेलकुद विकास सम्भव छैन । स्थानीय तहले बजेट दिँदैनन्, बुढथापाले रातोपाटीसँगको कुराकानीमा दुःखेसो पोखे ।

वर्षमा एक मात्र प्रतियोगिता

जुम्लामा वर्षभरमा एउटा खेलकुद प्रतियोगिता मात्र हुन्छ । एन्फाले पठाएको बजेटबाट जिल्ला लिग सञ्चालन हुन्छ । अन्य कुनै प्रतियोगिता भए युवा क्लब र खेलकुद संस्थाहरुले आयोजना गर्छन् । आफै बजेट जुटाएर एन्फा जुम्लाले खेलकुद प्रतियोगिता गर्न सकेको पनि छैन ।

जुम्लामा जिल्ला लिग खेल्ने टोली १५ वटा भए पनि अहिले एन्फामा १२ क्लब मात्र आवद्ध छन् । सबै टोली जिल्ला लिग खेल्ने ताका जम्मा हुन्छन् । त्यसबाहेकको समयमा जुम्लामा फुटबल गतिविधि हुँदैन । जुम्लाको नेतृत्वका लागि कुनै क्लबले चासो देखाउँदैनन् ।

एन्फाको कार्यकालमा दश वर्ष बिताएका बुढथापाले जुम्लामा फुटबल विकासका लागि केही त पक्कै गरेका छन् । तर लगातार एक दशक अध्यक्षको कार्यकाल बिताउँदा पनि विकास बजेट भित्र्याउन नसक्नु उनको कमजोरी हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप