बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीले टुंग्यायो महानगर र उपमहानगरपालिकामा उम्मेदवार

शनिबार, १० वैशाख २०७९, १४ : १३
शनिबार, १० वैशाख २०७९

सत्ता गठबन्धनमा सहभागी नेकपा एकीकृत समाजवादीले महानगर र उपमहानगरपालिकामा उठ्ने उम्मेदवारको टुंगो लगाएको छ । देशैभरका ६ महानगरमध्ये समाजवादीले भाग पाएको पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पदमा उम्मेदवार टुंगो लगाएको हो । यस्तै ११ उपमहानगरमध्ये समाजवादीले पाएको हेटौंडाको मेयर सहित  इटहरी, बुटवल र तुलसीपुरको उपमेयरमा उठ्ने उम्मेदवारको लगाइएको समाजवादीका एक नेताले बताए । 

पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्यलाई मेयर पदको उम्मेदवार बनाउने निर्णय भएको ती नेताले बताए। पोखरा मेयरका लागि ६ जनाको नाम सिफारिस भएपनि अन्तिममा आचार्यलाई पोखराको मेयरमा पार्टीले सिफारिस गरेको हो । यस्तै काठमाडौं उपमेयरमा रामेश्वर श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको ती नेताले बताए। 

श्रेष्ठलाई उम्मेदवार बनाएको सार्वजनिक गरेमा विवाद हुने भएकाले नाम भने गोप्य राखिएको छ । आइतबार श्रेष्ठले काठमाडौं उपमेयरमा उम्मेदवारी दिने ती नेताको दाबी छ ।

यस्तै हेटौँडा उपमहानगरपालिकाको मेयरमा मीना लामालाई उम्मेदवार बनाउने निर्णय भएको छ। बुटवल उपमहानगरपालिकाको उपमेयरमा चीनबहादुर गुरुङ, तुलसीपुर उपमहानगर उपमेयरमा जोगबहादुर राना, इटहरी उपमहानगरपालिको मेयरमा केशव विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको पनि ती नेताले बताए। अरु नगरपालिका र गाउँपालिकामा प्रदेश र जिल्ला कमिटीले निर्णय गरेर सत्ता गठबन्धनबीच तालमेलको टुंगो लगाइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप