सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

संघीयतापछि मुहार फेरियो डुमलिया गाउँको

आइतबार, १८ वैशाख २०७९, २१ : ४८
आइतबार, १८ वैशाख २०७९

पाँच वर्ष अघि धनगढी उपमहानगरपालिका वडा नम्बर १७ बासिन्दाहरूमा खानेपानी, स्वास्थ्य, विद्युत् लगायतका आधारभूत सेवाको पहुँच थिएन । विकासबाट पछाडि रहेको साविकको उर्मा गाविसलाई राज्य पुर्न: संरचनापछि धनगढी उपमहानगरपालिकामा गाभिएको थियो ।

देश सङ्घीयतामा गएसँगै २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भए । सबैभन्दा विकासबाट पछाडि रहेको सो वडामा रहेको डुमलिया टोलमा विद्युत् पनि थिएन । जननिर्वाचित जनप्रतिनिधिको पहिलो प्राथमिकतामा थियो सोही टोलका बासिन्दालाई विद्युतको पहुँच पुर्‍याउने, सडक सञ्जालमा जोड्ने । निवर्तमान वडा अध्यक्ष माधव रानाले भने –‘निर्वाचित भएको एक वर्षमै हामीले डुमलियामा विद्युत् विस्तार गरेर सो टोलबासीलाई अन्धकारमुक्त बनाएयौं । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १७, डुमलिया (साविक उर्मा गाविस) की चन्दादेवी बोगटीले भनिन् –‘विद्युत् टोलमै विस्तार भएपछि राती अन्धकारमा बस्नुपर्ने बाध्यता हटेको हो ।’चार सय घरधुरी रहेको सो टोलमा विद्युतसँगै एक टोलदेखि अर्को टोलसँगै अन्य वडामा जोड्न सडक सञ्जाल पनि विस्तार गरिएको छ । 

डुमौलियामात्र नभई सो वडाको सरौटा, आमवगिया, कान्छीटोल, साहसिपुर शिविर, नयाँ सुकुम्बासी र हिरापुर, नयाँ बस्तीमा पोलसहित विद्युत् लाईन विस्तार गरिएको वडा कार्यालयले जनाएको छ । अधिकांशको घरमा रङ्गिन टेलिभिजन छन् । सो वडामा पाँच वर्षको अवधिमा २० किलोमिटर कालोपत्रे, ३५ किलोमिटर नयाँ बाटो ग्राभेल गरिएको छ । डुमलियाको कच्ची घरहरूको बस्तीको बीचमा सात मिटर चौडाइको कालोपत्रे सडक हेर्दा कुनै पार्कको बीचको सडक जस्तो देखिन्छ । डुमलियाको दुरी धनगढीको मुख्य बजारबाट झण्डै १७ किलोमिटर टाढा छ ।

वडामा पथरी जोड्ने पुल, धनचौरी, धुर्झन्ना जोड्ने झोलुङ्गे पुल, सरौटा, अमवगिया, डुमौलिया र धुर्झन्ना गाउँमा कल्र्भट निर्माण, डुमौलियादेखि वेहडाबाबा जाने सौरिया नालामा काठेपुल निर्माण गरिएको छ । कृषि पेशानै प्रमुख रहेको सो वडामा आधुनिक र व्यावसायिक कृषिलाई अघि बढाउन पनि विभिन्न गतिविधी गरिएको वडा अध्यक्ष रानाले बताए । सो वडामा कृषिलाई व्यावसायिक बनाउन विभिन्न क्षेत्रमा ३० वटा सिँचाई बोर गाडिएको र चार वटा सिँचाई बोरको काम सुरुवात गरिएको जनाइएको छ । कृषकहरूलाई विऊविजन, कृषि सामाग्रीहरू वितरण र पथरीमा कृषि उपज केन्द्र निर्माण गरिएको जनाइएको छ । स्वास्थ्य सेवाबाट पाँच वर्षअघि वञ्चित रहेको सो वडामा आधारभूत स्वास्थ्य चौकी स्थापना गरिएको छ भने ज्येष्ठ नागरिक, बालबालिकाका लागि घरदैलो स्वास्थ्य उपचार कार्यक्रम अघि बढाइएको छ । 

स्थानीय पूर्णबहादुर थापा मगरले भने– ‘स्थानीय सरकार आएपछि हाम्रा आधारभूत सेवा  विद्युत्, स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार लगायतमा सुधार भएको छ । सो वडा कान्द्रा र शिवगंगा नदीको बिचमा पर्छ । अहिले कान्द्रामा पुल निर्माण भएपछि त्यहाँका मानिसहरूलाई वर्षायाममा पनि उपचार गराउन तथा सामान खरिद गर्न धनगढीको मुख्य बजार आउन सहज भएको बताउँछन् । ‘पुल नहुँदा हामीले वर्षायामका तीन महिना स्वास्थ्य उपचार गराउन तथा बजारबाट सामान ल्याउन समस्या हुन्थ्यो’ उनले भने –‘अहिले पुल बनेपछि त्यो समस्या टरेको छ ।’ स्थानीय सरकार भएको केही महशुष भएको बताउँदै ‘अझै केही टोलमा सडक कालोपत्रे हुन सकेको छैन । वडाको मुख्य समस्या भनेको नदी कटान हो । तर, तटबन्धनका लागि प्रयास भएको छैन ।’ उनले हरेक वर्षायाममा नदीले खेतीयोग्य जमिन कटान गर्ने क्रम जारी रहेको बताए ।

‘राज्य पुनसंरचनामा उपमहानगर भित्र राखे पनि विकासको दृष्टिकोणले धेरै पछाडि थियो’ स्थानीय खेमा ओझाले भनिन् ‘अहिले गाउँमा सरर आउने पक्की सडक, विद्युत् र खानेपानीको राम्रो व्यवस्था छ ।’ ‘विद्युत् बलेपछि हामीहरूको मुमबत्तीको जुग सकिएको छ’ स्थानीय प्रमिला चौधरीले भनिन्, ‘पाँच वर्ष पहिले गाउँमा ग्राभेल सडक पनि थिएन र विद्युत् पनि । ढिलै भएपनि गाउँमा विजुली बलेको र पक्की सडक बनेकाले गाउँको सौन्दर्य बढेको छ ।’ ‘स्थानीय तहको निर्वाचन अघि, गाउँको विकासका लागि धेरै पटक जिल्लातिर धायौं, तर कुनै योजना आएन, अहिले जनप्रतिनिधिहरूले आएपछि गाउँमा विकास भएको छ’स्थानीय खड्क बमले भने।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप