शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘खेलाडी विवादमा एन्फा लचिलो हुनुपर्छ’

आइतबार, २५ वैशाख २०७९, १४ : ०२
आइतबार, २५ वैशाख २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)मा अहिले दुुई धार छ । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ पक्ष खुलेर एक अर्काको विपक्षमा उभिन्छन् । अध्यक्षले थालेका कामको विपक्षमा उपाध्यक्ष उभिने, उपाध्यक्षका कुरालाई अध्यक्षले नजरअन्दाज गर्नेमात्र होइन, नीति निर्माणको कुरामा यी दुवै एक अर्काको विपक्षमा उभिने गरेका छन् ।

पछिल्लो समय फुटबलका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी र खेलाडीबीचको विवादका विषयमा पनि एन्फाको भूमिका प्रभावकारी हुन सकेको छैन । उसो त प्रशिक्षक अल्मुताइरीको विषयमा कुरा उठ्दा एन्फा सधैँ कमजोर देखिन्छ ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ भने खेलाडीको विषयमा उत्पन्न विवादबारे एन्फाले खुट्टा कमाएको आरोप लगाउँछन् । खेलाडीहरु दिनदिनै एन्फा धाइरहँदा पनि यसको निचोड निकाल्न एन्फा असफल देखिएको उनको भनाइ छ ।

यसमा उनी एन्फा नेतृत्वलाई नै दोषी ठान्छन् । ‘खेलाडी विवादको विषयमा एन्फा लचिलो बन्न सकेन । एन्फा कार्यसमिति बैठक बोलाउने अधिकार अध्यक्ष कै हो । ठूलो विवादलाई पनि एन्फाले सुस्त तरिकाले लिएको छ,’ नेम्वाङले भने ।

एन्फाले आइतबार कार्यसमिति बैठक बोलाएको छ । बैठकमा कुन किसिमको छलफल हुन्छ भन्ने कुरा हेर्न बाँकी रहेको नेम्वाङ बताउँछन् । खेलाडीहरूको हक र हितका विषयमा एन्फाले पहल गर्नुपर्ने भन्दै उनले आफूहरु खेलाडीको पक्षमा उभिने जनाए ।

‘एन्फा कार्यसमिति बैठक राख्नै ढिला भयो, खेलाडीहरु दिनदिनै न्यायका लागि अघि बढ्दा पनि एन्फाले चासो देखाएन,’ उनले भने, ‘आजको बैठकमा केही निर्णय होला । खेलाडीले न्याय पक्कै पाउँछन् । ढिलोचाँडो भन्नेमात्र हो ।’

नेम्वाङ एन्फा कार्यसमितिको उपाध्यक्ष बनेको दोस्रो वर्ष देखि नै आफ्नो छुट्टै पक्ष बनाएर अघि बढेका छन् । उनले ‘परिवर्तन’ धार भन्दै एन्फामा एउटा पक्षको नेतृत्व गर्दै आएका छन् । एन्फाको अध्यक्ष पक्षबाट आफूहरुलाई नीति निर्माणको विषयमा एक्लो बनाउने, ठूलो निर्णय गर्दा आफूहरुलाई सामेल नगर्ने जस्ता कृयाकलापले आफूहरुले एन्फाभित्रै अर्काे धार बनाएको उनको तर्क छ ।

‘अध्यक्षले धेरै निर्णय आफ्नो व्यक्तिगत हिसावले गर्न थाल्नु भयो । हामी त्यो निर्णयको अंश कहिले बन्न सकेनौँ । निर्णायक तहमामा हाम्रो बहुमत नपुग्ने भएकाले हाम्रो आवाज पनि पुगेन । त्यसकै परिणाम एन्फामा अर्काे धार उत्पन्न भयो,’ नेम्वाङले भने ।

उनले एन्फाको यो कार्यकाल असफल भएको दाबीसमेत गरे । खेलकुद प्रतियोगिता र खेलाडी विकासका हिसावले केही नयाँपन देखिए पनि समग्र फुटबल विकासको विषयमा यो कार्यसमितिले ठूलो परिवर्तन गर्न नसकेको उनको भनाइ छ ।

यता खेलाडी विवाद र प्रशिक्षक विवादको विषयमा पनि छिट्टै निर्णय गर्न नसक्दा फुटबलको निर्णायक तह कमजोर भएको सन्देश सबैमा गएको उनले बताए । प्रशिक्षक अल्मुताइरीसँगको विवादमा तानिएका नेम्वाङले एन्फाको निर्णायक तहले ठूलो निर्णय गर्न डराएको जस्तो आफूलाई महसुस भएको बताए ।

‘एउटा प्रशिक्षकको विवादको विषयमा एन्फा लचिलो हुन सकेको छैन । मसँगको विवादलाई पनि लिने हो भने हालसम्म कुनै निचोड निस्केको छैन । मेरो विषयलाई ध्यान नदिँदा ठिक छ तर खेलाडीको विषयमा भने एन्फा लचिलो बन्नै पर्छ,’ नेम्वाङले भने ।

उनले एन्फाको यो कार्यकालमा हुन नसकेका कुराहरु अर्काे कार्यकालमा गर्न आफूहरु गर्न तयार रहेको बताए । नयाँ कार्यकालका लागि आफ्नो पक्ष तयार भएको भन्दै आफू नेतृत्व आएमा सबै कुरा सहज हुने दाबी गरे ।

नयाँ कार्यकालका लागि चुनावी माहोल बनिसकेको र आफूहरु बलियो अवस्थामा रहेको नेम्वाङ बताउँछन् । ‘नीति निर्माणको विषयमा बलियो बन्न सकिएन । एकलौटी निर्णयले केही गर्न सकिने अवस्था थिएन । नयाँ कार्यकालका लागि तयार छौं । हाम्रो माहौल पनि राम्रो बनेको छ,’ नेम्वाङले भने ।

भिडियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप