शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

व्यापार पूर्वाधार : दर्जन स्थानमा बन्दैछन् सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी

सोमबार, २६ वैशाख २०७९, ०६ : ३५
सोमबार, २६ वैशाख २०७९

आन्तरिक तथा बाह्य व्यापारलाई थप सहज बनाउन देशभर ‘व्यापार पूर्वाधार’ निर्माणको गति बढेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिको नेतृत्वमा देशका विभिन्न स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी बन्ने क्रममा छन् ।

वैदेशिक व्यापारतर्फको आयात÷निर्यातलाई सहज बनाउन भारत र चीनसँग सीमा जोडिएका नाकाहरूमा अत्याधुनिक सुविधासहितका जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण प्रक्रिया अघि बढाइएको हो । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले देशका केही स्थानमा सुक्खा बन्दरगाह निर्माणको काम सम्पन्न भइसकेको जनाए ।

उनले झापाको काँकरभिट्टा, सिन्धुपाल्चोकको तातोपानी नाका र काठमाडौँको चोभारमा सुक्खा बन्दरगाह निर्माण प्रक्रिया सम्पन्न भएको जानकारी दिए । यस्तै, वीरगञ्ज, भैरहवा र विराटनगरमा एकीकृत जाँच चौकी निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

‘धेरैवटा सुक्खा बन्दरगाह वा जाँच चौकी बनाएर आयात÷निर्यात सहज हुन्छ भन्ने होइन,’ गजुरेलले भने, ‘तर, आवश्यकताअनुसार व्यापार पूर्वाधार निर्माण प्रक्रिया अघि बढिरहेको छ ।’ कञ्चनपुरको दोधारा चाँदनी र मुस्ताङको कोरलामा सुक्खा बन्दरगाह निर्माण सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयारका क्रममा छन् ।

दोधारा चाँदनीको दुई चरणमा गर्दा कूल लागत १५ अर्ब अनुमान गरिएको छ । ‘पहिलो चरण अर्थात् रेल नजोडी सुक्खा बन्दरगाह निर्माण गर्दा ७ अर्ब लागत अनुमान गरिएको छ,’ गजुरेलले भने, ‘रेलको लिक जोड्दा ८ अर्ब लागत थपिन्छ ।’

दोधारा चाँदनीको वातावरणीय प्रभाव मूल्याङ्कन सकेर स्थानीयको गुनासो सुन्ने काम सम्पन्न भइसकेको उनले जनाए । वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) वन मन्त्रालयमा पठाइएको र यो ‘फाइनल’ भएपछि आगामी तीन वर्षमा आयोजना सम्पन्न हुने गजुरेल बताउँछन् ।

संखुवासभाको किमाथान्का र ताप्लेजुडको ओलाङचुङगोला, मुगु, तथा अन्य सम्भाव्य स्थानमा सुक्खा बन्दरगाह विकास अध्ययनको प्रक्रिया अगाडि बढाइएको गजुरेल बताउँछन् । ‘किमाथांकामा पूर्वसम्भाव्यता अगाडि बढाइएको हो । यारी, ओलाङचुङगोला, जलेश्वर र कास्कीमा पनि सम्भाव्यता अध्ययन हुने क्रममा छ,’ उनले भने ।

छिमेकी मुलुक भारत र चीनसँग जोडिएका भन्सार विन्दुहरुमा पूर्वाधार निर्माणको क्रमलाई जोड दिएको उनको भनाइ छ । उनले भने, ‘वीरगन्ज, भैरहवा, विराटनगर (एकीकृत जाँच चौकी), काँकरभिट्टा, तातोपानी र चोभारमा सुक्खा बन्दरगाह सञ्चालनमा आइसकेका छन् ।’ सरकारले बनाउने पूर्वाधारको प्रयोग गरेर नेपालमा हुने आयात र निर्यात सहज हुने अपेक्षा इन्टरमोडल यातायात विकास समितिको छ ।

व्यापारीको नजरमा परेन चोभार सुक्खा बन्दरगाह

वि.सं. २०७५ असारमा सम्झौता भई माघ ३ गते शिलान्यास भएको चोभार सुक्खा बन्दरगाह सञ्चालनमा आइसकेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेर सञ्चालनमा ल्याएको सुक्खा बन्दरगाह निजी क्षेत्रको नजरमा परिसकेको छैन । विदेशबाट आयात गरिएको सामान सिधै उपत्यका आइपुग्ने भन्दै प्रचार गरिएको बन्दरगाह निजी क्षेत्रको नजरमा नपरेको हो ।

२०७८ असार मै सम्पन्न भएको सुक्खा बन्दरगाह ढिलागरी उद्घाटन भएको थियो । उद्घाटनको दिन ल्याइएका तीन वटा कन्टेनर बाहेक चोभारमा निजी क्षेत्रका कन्टेनर अपेक्षाअनुसार आउन सकेका छैनन् । यस सुक्खा बन्दरगाहमा कुल ५०० कन्टेनर तथा ५०० ट्रकका लागि आवश्यक ६५ हजार वर्गमिटरको पार्किङ क्षेत्र छ ।

यस्तै, भन्सार, क्वारेन्टिन, सुरक्षा, अपरेटर कम्पनी, बैंक लगायतका अन्य संरचनाका लागि बहुतले तीन वटा भवन, तीन वटा गोदाम, तीन वटा एप्राइजल सेड, स्टफिङरडिस्टफिङ सेड, तीन वटा धर्मकाँटा, विद्यूतीय सवस्टेशन, बाउण्ड्री लाइट लगायतका पूर्वाधार समेत छन् ।

करिब १ अर्ब ५४ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यस सुक्खा बन्दरगाहको निर्माण तथा सञ्चालनले देशमा बढ्दो व्यापार घाटालाई कम गर्न निर्यात प्रवर्द्धमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा लिइएको थियो । तर, अहिले यहाँ आएका कन्टेनर संख्या हेर्ने हो भने सञ्चालन खर्च नै नउठ्ने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निकेश खत्री
निकेश खत्री

खत्री रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप