आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनले निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको ओलीको आरोप

शुक्रबार, ३० वैशाख २०७९, २१ : १४
शुक्रबार, ३० वैशाख २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले निर्वाचनविरुद्ध हिंसात्मक गतिबिधि गरेको आरोप लगाएका छन् । निर्वाचन सम्पन्न भएपछि शुक्रबार साँझ प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले निर्वाचनमा गठबन्धनले हिंसा भड्काउने काम गरेको आरोप लगाएका हुन् ।

ओलीले गठबन्धनले एमालेविरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्य गरेको भन्दै आपत्ति जाएका छन् । उनले गठबन्धनको निर्वाचन नै नगराउने षडयन्त्रलाई चिर्दै आज वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएको उल्लेख गरेका छन् । प्रतिकूलतालाई पन्छाउँदै लाखौं नयाँ मतदाता र १ सय १३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसम्मले आधारभूत तहको लोकतन्त्रलाई सुदृढ गर्न उत्साहका साथ मतदान गरेको ओलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।  

ओलीले स्वच्छ निर्वाचन विपरितका घटना भएका मतदान केन्द्रको अधिकृत कब्जा गरिएका र त्रास सिर्जना गरी मतदाताहरूलाई आतंकित पारिइएको स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरी गरिएको उल्लेख गरेका छन् । यस सम्बन्धमा गम्भीरतापूर्वक लिन निर्वाचन आयोगको उनले ध्यानाकर्षण गरेका छन् । उनले मतदानमा भाग लिएका आम मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् । 

'हामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित होस् भन्ने चाहन्थ्यौँ । भयरहित वातावरणमा स्वच्छ निर्वाचनको लागि हाम्रो पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भयो । तर सत्तापक्षीय गठबन्धनले केही स्थानमा हाम्रा विरूद्ध अग्रिम नक्कली मतपत्र समेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गयो' ओलीले विज्ञप्तिमा भनेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप