सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा स्वतन्त्र उम्मेदवारका रुपमा जितेका हमाल भन्छन्– बाचाअनुसार काम गर्छु

आइतबार, ०८ जेठ २०७९, १६ : २५
आइतबार, ०८ जेठ २०७९

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका उम्मेदवार नृपबहादुर वडलाई पराजित गर्दै उनी धनगढी उपमहानगर प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना निर्वाचित भएकी छन् ।

१९ वटा वडा रहेको यस उपमहानगरपालिकाको ११ वडामा नेपाली काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् भने दुई वडामा नेकपा माओवादी केन्द्र र ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

वडा तहमा राजनीतिक दलहरुको वर्चश्व रहेको अवस्थामा उपमहानगर प्रमुखमा स्वतन्त्र रुपमा जितेका हमाललाई आफ्नो घोषणापत्र अनुसार काम गर्न कति सहज होला ? प्रश्न उठ्नु स्वाभाविक हो । हमाल भने आफूलाई काम गर्न कुनै समस्या नहुने बताउँछन् । मतदातासामु निर्वाचनअघि आफूले गरेको बाचा अनुसार नै आफूले काम गर्ने उनले बताए ।

वडामा बहुमत प्राप्त दलका जनप्रतिनिधिहरु छन्, यस्तो अवस्थामा तपाई कसरी काम गर्नु हुन्छ भन्ने प्रश्नमा नगर प्रमुख हमालले भने, ‘निर्वाचनको समयमा यो चर्चा हुनु स्वाभाविक हो । विस्तारै सबै कुरा सुधार हुँदै जान्छ । म सबैलाई सँगै लिएर काम गर्ने छु ।’ उनले दलबाट पूर्ण रुपमा सहयोग रहने विश्वास पनि व्यक्त गरे ।

‘सबै मिलेर धनगढी बनाउनुपर्छ । कसैलाई बाहिर राख्दिन, सबैलाई मिलाएर अघि बढ्छु,’ उनले भने । उनले आफनो प्राथमिकता भने सचिवालय सुदृढीकरण रहेको बताए । उनले भने, ‘योजना निर्माण गर्ने, विकासका मोडल बनाउने, अनुगमन गर्ने लगायत जनताका स–साना समस्याको समाधान गर्ने भनेको सचिवालयले नै हो । म पहिला कर्मचारीहरुसँग छलफल गरेर सचिवालयलाई व्यवस्थित गर्छु ।’

उनले पहिला आधा अधुरा योजनाहरु सम्पन्न गर्ने आफनो प्राथमिकतामा रहेको बताए । ‘अहिले सञ्चालित अधुरा योजनाहरु सम्पन्न गर्न मेरो प्राथमिकता रहने छ । सबै योजनामा गुणस्तरीयता कायम गर्दै समयमै सम्पन्न गराउने छु ।’

को हुन् हमाल ?

हमालको पुर्ख्यौली घर कपिलवस्तु भए पनि बाबुबाजेको पालादेखि नै कैलालीमा बस्न थालेका हुन् । धनगढीमा झाडी, जंगल फाँडेर मान्छेहरू बस्न थालेपछि हमाल परिवार पनि कपिलवस्तुबाट यता सरेको थियो । उनीहरू सुरूमा साविकको मनिकापुर गाविस (हालको टीकापुर नगरपालिका)मा बसाइ सरेका थिए । सामान्य खेती–किसानी र पशुपालन गरेर उनीहरूको जीविका चल्थ्यो ।

बुवाको धनगढीमा सरूवा भएपछि हमालको परिवार यतै बस्न थाल्यो । धनगढीको वनदेवी नजिक डेढ कठ्ठा जमिन किनेर त्यही जग्गामा उनको परिवारले सानो घर बनायो । बुबाको कमाइले ६ जना सन्तानको खर्च ठिक्क हुन्थ्यो ।

उनले धनगढीको कैलाली बहुमुखीमा क्याम्पसमा व्यवस्थापन विषयमा प्रविणता प्रमाणपत्र तहको पढाइ सकेर व्यवसायमा लागेका थिए ।

धनगढीको व्यापारिक क्षेत्रमा प्रतिष्ठा कमाएका हमाल कैलाली उद्योग वाणिज्य संघको अध्यक्ष भएका बेलादेखि नै चर्चा छन् । २०६४ सालमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष रहेका उनले सुदूरपश्चिम महोत्सवको सुरुवात गरेर सुदूरपश्चिमलाई देशभर चिनाउने प्रयास गरेका थिए । हमालले त्यति बेला सुदूरपश्चिमलाई सुदूरपश्चिम सुन्दर छ, सुदूरपश्चिममा सम्भावना छ भनेर चिनाउने प्रयास गरेका थिए ।

उनकै पालामा देशको कार्यकारी प्रमुखलाई सुदूरपश्चिम महोत्सवमा बोलाएर २१ किलोको माला लगाउने र २१ बुँदे माग राख्ने अभियान पनि चलेको थियो । त्यस्तै, धनगढी विमानस्थल बनाउन नीजि क्षेत्रको तर्फबाट एक पैसे अभियान चलाएका उनलाई यस क्षेत्रको विकासको परिकल्पनाकारका रुपमा पनि लिइन्छ । दलीय व्यवस्थामा निर्दलीय व्यक्तिको उम्मेदवारी त्यति सार्थक नभए पनि दलहरुप्रतिको वितृष्णाले हमालले २०७४ सालकै निर्वाचनमा पनि मेयर पदमा उम्मेदवारी दिएका थिए तर उनी निर्वाचित हुन सकेनन् । अहिले पुनः आँप चुनाव चिह्न लिएर उम्मेदवार दिएका हमालले २६ हजार ८ सय ६५ मत ल्याएर विजयी भए ।

उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नृप वडले १४ हजार ८१७ मतमात्र पाए । २०७४ सालको स्थानीय तहको चुनावपछि उनलाई समर्थकले कुनै दलमा प्रवेश गर्न वा आफैले क्षेत्रीय दल खोल्न सुझाव दिए । त्यसपछि उनी विवेकशील साझा पार्टीमा आवद्ध भएका थिए । उनी पार्टीमा सुदूरपश्चिम प्रदेश संयोजक भएर काम गरे । पार्टी प्रवेश गरेको चार वर्षपछि उनले विवेकशील साझा छोडिदिए ।

मेयर बन्ने सपनामा पार्टीकै कारण ब्रेक लाग्न सक्ने देखेर उनले पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिए । अन्ततः धनगढीको प्रमुख बन्ने उनको सपना पूरा भएको छ । अब उनले जनतालाई देखाएका सपना पूरा गर्नुपर्ने छ ।

गठबन्धनको साथ राम्रो भएनः वड

नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं धनगढी उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख नृपबहादुर वडले गठबन्धनले सहयोग नगर्दा आफू पराजित हुनु परेको गुनासो गरेका छन् ।

‘पाँच दलीय गठबन्धनलाई देशभरि फाइदा भएको छ । यहाँ हामीले अपेक्षा गरेको जसरी गठबन्धनबाट सहयोग भएन,’ उनले भने, ‘नेपाली काँग्रेस र माओवादीका यति धेरै मतदाता हुँदा पनि मैले राम्रो मत नपाउनु भनेकै गठबन्धनबाट मत नपाएको उदाहरण हो ।’

उनले नेपाली काँग्रेसबाट राम्रै साथ र सहयोग पाएको बताए । उनले भने, ‘गठबन्धनका बारेमा अब केन्द्रीय बैठकमा समीक्षा हुन्छ ।’ उनले नवनिर्वाचित स्वतन्त्र उम्मेदवार हमाल र नेकपा एमालेकी उम्मेदवार रानालाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शेरबहादुर ऐर
शेरबहादुर ऐर
लेखकबाट थप