शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोसपा मधेसमा किन कमजोर ? नेताहरू भन्छन्– हाम्रो तयारी नै पुगेन

बुधबार, ११ जेठ २०७९, ११ : ५७
बुधबार, ११ जेठ २०७९

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल मधेसमै कमजोर साबित भएको छ । गत स्थानीय तहको चुनावमा २५ वटा प्रमुख÷अध्यक्ष जिते तत्कालीन राजपा नेपाल (हाल लोसपा नेपाल) यस पटकको स्थानीय तहमा १४ वटा स्थानीय तहमात्र हात पार्न सफल भएको छ । त्यो पनि मधेस प्रदेशमा मात्र । अन्य प्रदेशमा लोसपाका उम्मेदवारले केही वडा अध्यक्ष र सदस्यबाहेक पालिका अध्यक्ष÷प्रमुख जितेका छैनन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको परिणाम अनुसार लोसपाले सप्तरीमा तीन, महोत्तरीमा पाँच, सर्लाहीमा एक, रौतहटमा दुई, बारामा दुई र पर्सामा एउटा पालिका जितेको छ । विगतमा जितेको महोत्तरीको मटिहानी नगरपालिका, सर्लाहीको गोडैता नगरपालिका र सप्तरीको रुपनी गाउँपालिकामा मात्र यो पार्टीले दोहोर्‍याउन सफल भएको छ । अन्य ११ वटा नयाँ पालिका हात परेका छन् ।

लोसपाले अघिल्लो चुनावमा जितेको जनकपुर उपमहानगरपालिका, राजविराज नगरपालिका, जलेश्वर नगरपालिका, हनुमाननगर नगरपालिका, डाक्नेश्वरी नगरपालिका, मटिहानी नगरपालिका लगायतका पालिका यस पटक गुमाएको छ ।

सिरहा र धनुषामा लोसपा शून्य नै भएको छ । सिरहामा यो पार्टीले एउटा सदस्यसम्म जित्न सकेको छैन । धनुषामा यो पार्टीले नौवटा वडा अध्यक्ष, १२ वटा महिला सदस्य, १० वटा दलित महिला सदस्य र १४ वटा सदस्य जितेको छ । यसअघि जनकपुर उपमहानगरपालिकाको प्रमुख नै तत्कालीन राजपा नेपालबाट निर्वाचित भएका थिए । लोसपाले सबभन्दा बढी जितेको महोत्तरीमा हो । त्यहाँ चारवटा नगरपालिकामा प्रमुख जितेको छ भने एउटा गाउँपालिकाको अध्यक्ष जितेको छ ।

महोत्तरीमा राम्रो नतिजा ल्याउनुको कारण त्यहाँ लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरतसिंह भण्डारीको प्रभावका कारण पनि हो । राजेन्द्र महतो र अनिल झाको गृह जिल्लामा भने लोसपा कमजोर देखिएको छ । राजेन्द्र महतोले आफ्नै गृह जिल्ला सर्लाहीमा आफ्नो गाउँपालिकामा समेत पार्टीलाई जिताउन सकेनन् । यसअघि उनकै भाइले चुनाव जितेकोमा यसपटक काँग्रेसले जितेको छ ।

अनिल झाले आफ्नो गाउँ दुर्गाभगवती गाउँपालिकामा पनि जिताउन सकेनन् । यो पालिकामा अघिल्लो चुनावमा काँग्रेसले जितेको थियो भने यसपटक माओवादी केन्द्रले जितेको छ । लोसपाले रौतहटमा यमुनामाइ गाउँपालिका र इशनाथ नगरपालिकामा मात्र जितेको छ ।

२०७४ को स्थानीय तहको चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को नामबाट चुनाव लडेको लोसपा २०७७ वैशाखमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी पार्टीसँग एकीकरण गरेर जनता समाजवादी पार्टी नेपालमा परिणत भएको थियो । तर एक वर्ष नबित्दै जसपामा उपेन्द्र यादव समूह र महन्थ ठाकुर समूहबीच आन्तरिक विवाद हुँदा २०७८ भदौमा पार्टी विभाजन भयो । महन्थ ठाकुर नेतृत्वको समूह जसपाबाट अलग भएर लोसपा गठन गर्‍यो ।

अघिल्लो निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालभन्दा बढी सीट राजपा नेपालले जितेको थियो । राजपा नेपाल तेस्रो चरण अन्तर्गत मधेस प्रदेशको स्थानीय तह निर्वाचनमा मात्र सहभागी भएको थियो ।

तर यसपटक लोसपा मधेसमै कमजोर भएको छ । यसपटक लोसपा कमजोर हुनुको मुख्य कारण जसपा विभाजन नै हो । जसपाबाट विभाजन हुँदा तत्कालीन राजपाका अधिकांश नेता जसपामै बसेपछि लोसपा कमजोर भएको सो पार्टीका नेताहरू बताउँछन् ।  

लोसपा मधेस प्रदेशका अध्यक्ष एवं कार्यकारिणी सदस्य जितेन्द्र सोनल भन्छन्, ‘लोसपा नयाँ पार्टी भएको हुनाले तयारी नपुगेको कारण चुनावमा सोचेजस्तो परिणाम आउन सकेन ।’ जसपा विभाजन हुँदा तत्कालीन राजपाका धेरै नेता जसपामै बसेको र लोसपा पूर्णरुपमा गठन नहुँदै चुनावको मिति घोषणा भएका कारण पनि तयारी गर्न समय नपुगेको उनको भनाइ छ ।

काँग्रेस, माओवादी केन्द्र, जसपालगायतका दलले आपसमा गठबन्धन गरेका कारण बढी सीट जितेको उनले बताए । लोसपाले सत्तारुढ दलबीचको गठबन्धनका बाबजुत एक्लै प्रतिस्पर्धा गरेर पनि केही पालिकामा जित हासिल गर्न सकेको उनले बताए ।

मधेस प्रदेशमा कम्तीमा ३० वटा पालिका जित्ने लक्ष्य थियो लोसपाको । तर नयाँ पार्टी भएको कारण सोचेजस्तो परिणाम ल्याउन नसकेको लोसपाका नेताहरू बताउँछन् । महोत्तरीको रामनगर गाउँपालिकामा अध्यक्ष पदमा पराजित भएका लोसपाका नेता मनिष मिश्र भन्छन्, ‘लोसपा जुन अवस्थामा अलग भयो र हतार हतारमा चुनावमा भाग लियो, त्यसको आधारमा हेर्ने हो भने चुनाव परिणाम सन्तोषजनक नै छ ।’

लोसपाको संगठन समेत निर्माण भएको छैन । हालसम्म केन्द्रीय समिति पनि बनेको छैन । भ्रातृ संगठनहरुको नामकरण भए पनि संगठन निर्माण भएको छैन । एउटा कार्यकारिणी समितिको भरमा लोसपा चलिरहेको छ । पार्टीमा कार्यविभाजन पनि भएको छैन । लोसपाले संगठन र आवश्यक तयारीबिना चुनावमा भाग लिँदा पनि १४ वटा पालिका चुनाव जित्नु सन्तोषजनक नै रहेको मिश्रको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव
लेखकबाट थप