शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धन नगर्दा लोसपालाई घाटा !

शनिबार, २१ जेठ २०७९, १७ : २०
शनिबार, २१ जेठ २०७९

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको बैठकमा स्थानीय चुनावमा गठबन्धन नहुँदा पार्टीलाई घाटा भएको कुरा उठेको  छ । लोसपाको जारी कार्यकारिणी समितिको बैठकमा बोल्ने अधिकांश नेताहरूले लोसपा अरु कुनै कारणले नभएर गठबन्धनकै कारणले चुनावमा कमजोर भएको धारणा राखेका हुन् । पाँच दलीय गठबन्धन एकातिर लोसपा अर्कोतिर भएको कारण अपेक्षा अनुसार सीट नआएको तर पार्टी भने कमजोर नभएको कुरा बैठकमा नेताहरुले धारणा राखेको कार्यकारिणी सदस्य उमाशंकर अरगरियाले बताए ।

'स्थानीय चुनावमा लोसपाको अलिकति कम सीट आएको छ, त्यो गठबन्धन नगरेर हो । तैपनि हामी कमजोर छैनौँ,' उनले भने, 'अगामी चुनावमा अब कसरी सचेत ढंगले अगाडि बढ्ने भन्ने विषयमा पनि कुराकानी भएको छ ।’ यसअघिको चुनावमा लोसपा अर्थात् तत्कालीन राजपाले २५ पालिका जितेको थियो । यसपालि पार्टी १५ वटा पालिकामा सीमित बनेको छ । 

तैपनि लगभग पहिलाकै चुनाव जतिकै नतिजा आएको बैठकले निष्कर्ष निकालेको उनले जानकारी दिए । जसपा विभाजन हुँदा तत्कालिन राजपाका धेरैजसो नेता जसपामै बसेकाले त्यसको असर अहिलेको चुनावमा देखिएको उनले बताए । तत्कालीन राजपाका नेताहरू सबै जना लोसपामै फर्केको भए पहिला भन्दा धेरै सीट यस पटक आउने थियो भन्ने बैठकको निष्कर्ष रहेको पनि उनले सुनाए  । 

तत्कालीन राजपाका महेन्द्रराय यादव, राजकिशोर यादव, मनिष सुमन, रामनरेश राय यादव, सुरेश मण्डल, मृगेन्द्रकुमार सिंह यादव, अमृता अग्रहरी जस्ता नेताहरू जसपामा नै बसेकोले त्यसको असर स्थानीय चुनाव देखाइएको बैठकको निष्कर्ष छ । गठबन्धनमा नगए पनि राम्रो सीट आएकोले त्यसमा लोसपा सन्तुष्ट नै रहेको उनले बताए । 

आजको बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अर्का वरिष्ठ नेता शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णलगायतका नेताहरूले आआफ्नो धारणा राखेका थिए । अर्को बैठक भोलि ११ बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप