बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालमा मन्त्रीको छड्के निरीक्षण : बिरामी ४५०, डाक्टर जम्मा एक जना

सोमबार, २३ जेठ २०७९, २० : ५८
सोमबार, २३ जेठ २०७९

 सोमबार दिउँसो गुल्मी अस्पतालमा एक्कासी लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री ईन्द्रजित थारु छड्के जाँचका लागि आइपुगेपछि अस्पतालका चिकित्सकदेखि विकास समितिका पदाधिकारीहरु अक्क न बक्क परे ।

मन्त्री चौधरीले अस्पताल निरीक्षणपछि ‘ब्रिफिङ’ सुने । दैनिक बिरामीको संख्या साढे दुई सयको हाराहारीमा हुने गरे पनि सोमबार ४५० जना बिरामी आएका थिए । ७ जना चिकित्सकको दरबन्दी रहेको अस्पतालमा जम्मा एक जना चिकित्सकमात्र कार्यरत थिए ।

तर पनि मन्त्री थारुले जनशक्तिको चरम अभावका बाबजुद अन्य जिल्ला अस्पतालको तुलनामा गुल्मी अस्पताल निकै व्यवस्थित र सेवा प्रवाहमा अब्बल रहेको आफूले पाएको बताए ।

उनले चिकित्सकको अभाव पूर्ति गर्न प्रदेश सरकारले प्रयास गर्दासमेत नसकेको सुनाए । ‘डाक्रको अभाव पूर्ति गर्न प्रदेश सरकारले नयाँ कार्यविधि बनाएको छ । दुर्गम क्षेत्रमा डाक्टरहरु सरुवा भएर आउन त मान्दैनन् तर उनीहरुलाई  पालैपालो दुर्गमका अस्पतालमा कम्तीमा पनि तीन महिना काजमा आउन कार्यविधिले निर्दिष्ट गरेको छ र पनि डाक्टर आउने छाँट देखिएको छैन,’ मन्त्री थारुले भने ।

उनले जिल्लास्थित राजनीतिक दल र अस्पताल विकास समितिले  जिल्लामै घर भएका डाक्टरहरुलाई गाउँवासीको सेवा गर्न आलोपालो गरेर आई दिनुप¥यो भनेर आग्रह गरी ल्याउन सके उनीहरुलाई अतिरिक्त पारिश्रमिकको ब्यवस्था गर्न स्वास्थ्य मन्त्रालय तयार हुने अश्वासन दिए ।

सो अस्पतालको कुल दरबन्दी ५९ जना रहेकोमा २१ जनामात्रै कार्यरत रहेको विवरण पनि मन्त्री थारुले सुने । डाक्टरको दरबन्दी संख्या ७ भए पनि अहिले एक जनामात्रै कार्यरत रहेको र अरु अन्यत्रै काजमा बसेको त्यहाँका स्वास्थ्यकर्मीले बताए ।

अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले ३ जना डाक्टर करार सेवामा राख्नु परेको जानकारी गराए । उनले तत्काल अस्पतालको समस्या समाधानका लागि मन्त्रीसँग आग्रह गरेका थिए ।

जवाफमा मन्त्री चौधरीले चमेनागृह सञ्चालन, अक्सिजन प्लाण्टमा पाईप लाइन विस्तार र अस्पताल सुदृढिकरणका लागि आवश्यक रकम प्रदेश सरकारले पठाउने प्रतिबद्धता जनाए ।

उनले नेपाल सरकारबाट निःशुल्क भनिएका औषधि र उपचारबाट जनतालाई बञ्चित नगराउन आग्रह गर्दै विशेष गरी सुत्केरी महिला र मातृ स्वास्थ्य सेवामा जोड दिन अस्पताल प्रशासनलाई निर्देशन समेत दिए ।

गुल्मी, अर्घाखाँची, प्युठान सहित ४ जिल्लाका बिरामीले उपचार गराउने त्यस अस्पताल ५० शय्याको घोषणा भएको झण्डै चार वर्ष बित्दा पनि घोषणा मै सीमित छ ।

मन्त्री चौधरी समक्ष निमित्त जिल्ला स्वास्थ्य प्रम्ुख पशुपति आचार्य, जनस्वास्थ्य निरीक्षक खिमबहादुर ज्ञवाली, निमित्त मेसु डाक्टर श्रृति सिलवाल, पूर्व अध्यक्ष बिरबहादुर कार्की र वर्तमान अध्यक्ष पाण्डे लगायतले समस्या सुनाएका थिए । यद्यपि मन्त्री थारुले समस्या समाधानका लागि ठोस प्रतिवद्धता भने जनाएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप