शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुर तानातानमा : लोसपासँग एकीकरणका लागि कसले मार्ला बाजी ?

​लोसपा बाबुरामप्रति नरम
शनिबार, ०४ असार २०७९, १४ : ५९
शनिबार, ०४ असार २०७९

जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल गठन भएको ११ महिना मात्र भएको छ । त्यही लोसपा अहिले जसपाका लागि निकै महत्त्वपूर्ण बनेको छ । जसपामा देखिएका दुवै गुट, उपेन्द्र यादव र डा. बाबुराम भट्टराई,का लागि लोसपा अहिले नभई नहुने भएको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई दुवैले लोसपा अध्यक्ष महन्थ ठाकुरलाई एकताका लागि प्रस्ताव गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले धनुषामा पत्रकार सम्मेलन गरेर एकता वा गठबन्धनका लागि लोसपालाई प्रस्ताव गरेका थिए भने परिषद्का अध्यक्ष डा.भट्टराईले अध्यक्ष ठाकुरलाई भेटेर नै एकताको प्रस्ताव गरेका छन् । दुवै पक्षबाट प्रस्ताव गए पनि अध्यक्ष ठाकुरले यसबारे कुनै जवाफ दिएका छैनन् । 

लोसपाका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले भने मिडियालगायत तथा विभिन्न माध्यमबाट एकताको लागि प्रस्ताव गरेको कुरा आए पनि पार्टीमा औपचारिक रुपमा त्यस प्रकारको कुनै प्रस्ताव नआएको रातोपाटीलाई बताए । उनले भने, ‘जसपाबाट आएको प्रस्ताव तपाईंहरूले जसरी सुनिरहनु भएको छ, त्यसरी नै म पनि सुनेको हुँ । हामीलाई औपचारिक प्रस्ताव आएको छैन ।’ प्रस्ताव आएपछि मात्र के गर्ने/के नगर्ने विषयमा जवाफ दिइने उनले बताए । 

जसपामा दुईटा अध्यक्षका लागि डा.भट्टराईले दबाब दिइरहेका छन् । पार्टीको अन्तरिम विधानमा दुईजना अध्यक्षको व्यवस्था रहेको हुनाले पार्टीमा त्यही अनुसारको व्यवस्था गर्न उपेन्द्र यादवलाई दबाब दिइरहेका छन् । जसपा निर्माण हुँदा महन्थ र उपेन्द्र गरी दुईजना अध्यक्ष थिए । महन्थ पार्टीबाट निस्किए सकेपछि सो पद खाली छ । त्यहाँ कसैलाई मनोनयन गरेर पदपूर्ति गर्नुपर्ने माग अध्यक्ष डा. भट्टराईको छ । 

यदि दुईजना अध्यक्ष राखेर नै पार्टी चलाउने हो भने महन्थ ठाकुरलाई नै किन नदिने भन्ने मनस्थितिमा अध्यक्ष उपेन्द्र यादव पुगिसकेका छ्न् । उनले ठाकुरनिकटहरूसँग भनेका छन्, ‘पार्टी एकल अध्यक्ष प्रणालीमा हुनुपर्ने पक्षमा म छु । तर दुईजना अध्यक्ष नै राख्नुपर्ने परिस्थिति आयो भने म महन्थ ठाकुरलाई नै स्वीकार गर्छु । वहाँले छाडेर जानु भएको पदमा म अरू कसैलाई राख्न चाहन्न ।’

यता, परिषद्का अध्यक्ष डा. भट्टराईले पनि खाली रहेको अध्यक्ष पदमा अध्यक्ष ठाकुरलाई नै राख्ने बताउँदै आएका छन् । उपेन्द्र यादव तानाशाही बनेको, पार्टीलाई एकलौटी ढंगबाट चलाउन खोजेको र सामूहिक नेतृत्वको क्षमता उनीसँग नरहेको बाबुरामको ठहर छ । त्यसैले बाँकी रहेको पहिलो मर्यादाक्रमको कार्यकारी पदमा पुनः अध्यक्ष ठाकुरलाई नै राखेर यादवको ठाउँमा अर्को कसैलाई राखेर पार्टी चलाउने प्रस्ताव भट्टराईले अध्यक्ष ठाकुरसमक्ष गरेको लोसपाका नेताहरू बताउँछन् । 

लोसपाका कार्यकारिणी सदस्य उमाशङ्कर अरगरियाले भन्छन्, ‘जसपा पहिला विभाजित त होस् । बाबुरामले लोसपाका अध्यक्ष महन्थ ठाकुरसँग कुरा गरेको मैले पनि सुनेको हुँ तर बाबुरामजीले अध्यक्ष ठाकुरसँग कुन हैसियतमा कुरा गर्नुहुन्छ त्यो पहिला स्पष्ट हुनुपर्छ । बाबुरामजीले लोसपासँग एकीकरण गर्ने कुरा बाहिर आइरहेको छ तर कुन पार्टी लिएर एकीकरण गर्नुहुन्छ त्यो पहिला स्पष्ट हुनुपर्छ । उता उपेन्द्र यादवले मिडियामार्फत लोसपासँग एकीकरण गर्ने भन्या भन्यै हुनुहुन्छ । यो कुराबारे पहिला उहाँ दुई जनामै स्पष्ट हुनुपर्छ अनि मात्र अरूलाई प्रस्ताव गर्नुपर्छ ।’

लोसपा यतिबेला जसपाको विभाजनको पर्खाइमा छ । जसपा एक रहेसम्म लोसपा कुनै कदम चाल्ने पक्षमा छैनन् । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो निकट एक नेताले भने, ‘हामी जसपा विभाजनको प्रतीक्षामा छौँ । विभाजन भएर आएपछि मात्र बल्ल हामीले कोसँग गठबन्धन गर्ने वा एकता गर्ने विषयमा छलफल गर्छौँ । अहिले त्यही पार्टीमा विवाद चलिरहेको छ भने हामीसँग एकताको प्रस्ताव गर्नुको कुनै तुक छैन ।’

एकीकरणका लागि लोसपाका नेताहरू अध्यक्ष भट्टराईप्रति जति नरम छन् त्यति नै कडा अध्यक्ष यादवप्रति छन् । लोसपाका नेताहरूले सिधै भन्न थालेका छन्, ‘अध्यक्ष उपेन्द्र यादवमाथि विश्वास छैन ।’

उनले आफूहरूलाई पटक पटक धोका दिएको कारणले यति छिट्टै विश्वास गरेर जसपासँग एकता वा गठबन्धन नगर्ने पक्षमा छन् । बरु उपेन्द्र यादवलाई साइजमा ल्याउनका लागि बाबुरामसँग हात मिलाउन सकिन्छ तर अहिले तत्कालै उपेन्द्र यादवको साथ जान गाह्रो रहेको लोसपाका नेताहरू बताउँछन् । 

लोसपाका शीर्ष नेताहरूले अध्यक्ष डा.भट्टराईप्रति सकारात्मक भए पनि सो पार्टीका तल्लो तहका कार्यकर्ताहरू छैनन् । बरु एकीकरण वा गठबन्धन नै गर्ने हो भने उपेन्द्र यादवसँग नै गर्नुपर्ने लोसपाको तल्लो तहको बुझाई रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप