आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

जुम्लामा व्यापारीको लापर्वाही, डिलरमै भेटिए अखाद्य वस्तु र म्याद गुज्रेका सामान

शुक्रबार, १० असार २०७९, ०७ : ५६
शुक्रबार, १० असार २०७९

जुम्लामा डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान पाइएको छ। जुम्लाका ग्रामीण क्षेत्रका बजार अनुगमनमा धेरै मात्रामा म्याद गुज्रेका सामान भेटिएका थिए। 

ठूला व्यापारीका डिलरमा अनुगमन गर्दा म्याद गुज्रेका सामान तथा अखाद्य वस्तु फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्ला,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा भएको बजार अनुगमन भएको हो । अनुगमन समितिले विहिबार रवि जनरल स्टोर र लुम्बिनी टेड्रसको अनुगमन गरेको हो । 

लुम्बिनी टेड्रसको डिलरमा म्याद गुज्रिएका सामान फेला पारेको छ। ठूला व्यापारीले नै मिति सकिएको र दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको पाइएपछि यस पटक डिलर अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । 

धेरैको पसलको मूल्यसूची नभेटिएको, एउटा फर्म दर्ता गरेर धेरै मिसावट बिक्री वितरण गरिएको जस्ता कैफियत पाइने गरेको उनले बताए  । त्यस्तै लुम्बिनी टेड्रसको डिलरमा बिकानो बिस्कुट ३० हजार मूल्य बराबरको, गोल्डेन बिस्कुट एक हजार मूल्य बराबरको, कुकिज बिस्कुट एक हजार मूल्य बराबरको, ललिपप बिस्कुट तीन सय रुपैयाँ मूल्य बराबरको, रक्कि चक्की मिठाई पाँच सय बराबरको, अधुरी बिस्कुट पाँच सय बराबरको कफी चकलेट १९ सय बराबरको गरी ३५ हजार २ सय बराबरको म्याद गुज्रिएको अखाद्य वस्तु नियन्त्रणमा लिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका खाद्य अनुसन्धान अधिकृत डा। ईश्वरी सुवेदीले बताए । 

व्यापारीले अझै पसल अगाडि मूल्यसूची राख्न मानेका छैनन् । मूल्यसूची नराखेपछि एउटै वस्तुको मूल्य पनि पटकैपिच्छे फरक–फरक रहेको उपभोक्ताको गुनासो छ । जुम्लाका गोदाममै मिति नाघेका उपभोग्य वस्तु खुलेआम किनबेच भइरहेको छ ।  जुम्लाका व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्दा उपभोक्ता मारमा परेका छन् । जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले सदरमुकाम खलंगादेखि ग्रामीण बस्तीसम्म पसलको  पटक पटक अनुगमन गर्दै आइराखेको छ । 

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले अधिकांश पसल दर्ता नभएको जानकारी दिइन् । उनले दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु बिक्री भइरहेको भन्दै स्थानीय सरकारले पनि कडाइका साथ नियमन गर्नुपर्नेमा जोड दिइन् ।  फेन्सी पसलले समान खरिद गर्दा  बिलमा  न्यून मूल्य राख्ने  र उपभोक्तालाई बिक्री गर्दा दोब्बर मूल्यमा बेच्ने गरेको पाइएको छ । यसरी राज्यलाई कर छली गर्ने गरेको रिजालले बताइन् । सामान खरिद गर्दा बिलमा मुल्य कम राख्दा भ्याट तिर्न सस्तो पर्ने भएकाले  व्यापारीले यस्तो  क्रियाकलाप गर्ने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप