मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

विमला वली प्रकरणमा छानबिन टोलीको प्रतिवेदन : एकराजले पैसा फिर्ता नगरेकाले घटना भएको निष्कर्ष

स्थानीय र मिडियालाई पहिले नै योजनाबद्ध तरिकाले बोलाएको देखियो
शनिबार, १८ असार २०७९, १७ : ०९
शनिबार, १८ असार २०७९

लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले तुलसीपुरमा उपमहानगरपालिका-५ मा वाईसीएल कार्यकर्ता एकराज बस्नेतको घरमा गरेको विवादको घटना छानबिन गर्न बनेको सरकारी छानबिन टोलीले आफ्नो प्रतिवेदन मुख्यमन्त्री कुलप्रसाद केसीलाई आज बुझाएको छ । 

छानबिन समितिका संयोजक आन्तरिक मामिला मन्त्री तिलक राम शर्मा र सदस्य महिला तथा बालबालिका मन्त्री रमा घर्तीले बुझाएको प्रतिवदनमा विमला र एकराज बीचको लेनदेन कारणले घटना घटेको निष्कर्ष निकालेको जनाइएको छ । एउटै राजनीति दलका दुई व्यक्ति विभिन्न कार्यक्रम सहकार्य गर्दा सापटी रकम दिएर फिर्ता नहुँदा घटना भएको देखिएको जनाएको छ । 

प्रतिवेदनमा राज्यमन्त्रीजस्तो व्यक्तिले सर्वसाधारणको घरमा श्रीमती र छोरीसँग झगडा गर्नु कमजोरी भएको उल्लेख छ । रकम असुली गर्नको लागि घरमै भन्दा अन्य विकल्प नखोज्नु कमजोरी भएको उल्लेख छ । विमला र एकराज बस्नेतबीच ६ लाख २० हजार रुपैयाँ लेनदेन भएको बताइएको छ । घटनामा विमलाले दायित्व बिर्सेर काम गरेको उल्लेख गर्दे सरकाले कडा रूपमा सचेत बनाउनु पर्ने राय दिएको छ । 

सँगै प्रतिवेदनमा एकराज पक्षले पनि योजनाबद्ध रूपमा स्थानीयहरू बोलाउने र मिडिया पहिले नै खबर गरेर बसेको जस्तो देखिएको शंकास्कापद रहेकोले थप छानबिन गर्नुपर्ने उल्लेख छ । एकराजले फोनमा घरै छु भनेपछि मन्त्री पुगेको तर नभेटिएपछि आवेगमा आएको प्रतिवेदनमा भनिएको छ । 

तत्कालीन राज्यमन्त्री वलीले जेठ ३१ गते बिहान आफ्नो सुरक्षा गार्डसहित एकराज बस्नेतको घरमा पुगेर लफडा मच्चाएको आरोप लागेको छ। उक्त घटनामा एकराज बस्नेतकी श्रीमती मिनाले आफू र छोरीमाथि कुटपिट भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । मुख्यमन्त्री कुलप्रसाद केसीले प्रतिवेदन अध्ययन गरेर सरकार अगाडि बढ्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप