बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एक प्रत्यक्षदर्शीको बयान – आबेलाई गोली हानिसकेपछि हमलाकर्ता शान्त थिए र भाग्ने कोसिस पनि गरेनन्

शुक्रबार, २४ असार २०७९, १४ : ०९
शुक्रबार, २४ असार २०७९

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई शुक्रबार बिहान ११ः३० बजे देशको पश्चिमी भाग नारामा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा पछाडिबाट गोली हानियो ।

गोली लागेपछि उनलाई हृदयघात पनि भएको थियो । गोली चलाउने ४१ वर्षीय संदिग्धलाई प्रहरीले घटनास्थलबाट पक्राउ गरेको छ ।

जापानको सरकारी मिडिया एनएचकेका अनुसार संदिग्ध आक्रमणकारी शिन्जो आबेसँग असन्तुष्ट थिए र उनले मार्ने उद्देश्यले गोली चलाएका थिए ।

गोली लागेपछि शिन्जो आबेलाई हेलिकप्टरबाट नारा मेडिकल युनिभर्सिटी अस्पताल लगिएको छ ।

एनएचकेका अनुसार शिन्जो आबेको घाँटीमा चोट लागेको छ र छातीबाट रगत बगेको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले ६७ वर्षीय आबेको अवस्था गम्भीर रहेको र उनको स्वास्थ्यलाभको लागि प्रार्थना गरिरहेको बताएका छन् ।

आक्रमणकारी को हुन् ?

एनएचकेका अनुसार आक्रमणकारी ४१ वर्षीय तेत्सुया यामागामीको रूपमा पहिचान भएको छ । उनले प्रहरीसँगको कुराकानीमा आफू आबेसँग असन्तुष्ट भएको र उनलाई मार्न चाहेको बताएका छन् । यो कुरा रोयटर्स समाचार एजेन्सीले बताएको छ ।

आक्रमणकारी खैरो रंगको टि-सर्ट र ट्राउजरमा थिए । रक्षा मन्त्रालयका स्रोतलाई उद्धृत गर्दै एनएचकेले संदिग्ध आत्मरक्षा बलको पूर्व सदस्य भएको र हातले बनाएको बन्दुकले गोली हानेको बताएको छ । सन् २००५ सम्म उनले सेल्फ डिफेन्स फोर्समा तीन वर्ष सेवा गरेका थिए ।

शिन्जो आबेको सार्वजनिक सभामा नारामा बस्ने ५० वर्षीया महिला उपस्थित थिइन् । उनले एनएचकेलाई भनिन्, ‘मैले आबेको भाषण सुनिरहेको थिएँ । एकै छिनमा मैले हेलमेट लगाएका एक व्यक्तिले दुईपटक गोली हानेको देखेँ । दोस्रो प्रहारपछि आबे लडेका थिए । उक्त व्यक्तिलाई तत्कालै पक्राउ गरियो । तुरुन्तै एम्बुलेन्स बोलाइयो र आबेलाई अस्पताल पठाइयो । म छक्क परेँ कि आक्रमणकारी मेरो अगाडि उभिएका थिए ।’

शिन्जो आबेसँगै जनसभामा उपस्थित भएका डेमोक्र्याटिक लिबरल पार्टीका एक अधिकारीले पत्रकारहरूलाई भने, ‘ती व्यक्तिले १० मिटर टाढाबाट गोली हानेका थिए ।  कसैले पटाका फालेको जस्तो । मेरै आँखा अगाडि यत्रो ठूलो घटना भयो भनेर मैले विश्वास नै गर्न सकिरहेको छैन । गोली हानेपछि उनी शान्त थिए । भागेनन् पनि ।’

आक्रमणकारीको बारेमा जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार भने, ‘हामीलाई आक्रमणकारीको आपराधिक पृष्ठभूमिबारे जानकारी छैन । प्रहरी अनुसन्धानपछि मात्र थाहा हुनेछ । आक्रमणकारीको पृष्ठभूमि जानकारी हाम्रो लागि धेरै महत्त्वपूर्ण छ ।’

शिन्जो आबेको व्यक्तित्व

शिन्जो आबेको जन्म सन् १९५४ मा राजनीतिक परिवारमा भएको थियो । उनका बुबा शिन्तारो आबे पनि नेता थिए र जापानका विदेशमन्त्री पनि थिए ।

शिन्जो आबेका हजुरबुवा नोबुसुके किशी जापानका प्रधानमन्त्री थिए । सन् २००६ मा, शिन्जो आबे दोस्रो विश्वयुद्ध पछि जापानको सबैभन्दा कान्छो प्रधानमन्त्री बने ।

यद्यपि, उनले सोही वर्ष राजीनामा दिए र त्यसपछि २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्री भए । स्वास्थ्य समस्याका कारण आबेले २०२० मा राजीनामा दिएका थिए । यद्यपि आबे अझै पनि आफ्नो पार्टीमा सबैभन्दा लोकप्रिय नेता हुन् ।

६७ वर्षीय आबेलाई धेरै वर्षदेखि अल्सरेटिभ कोलाइटिस थियो तर हालै उनको अवस्था नाजुक भएको बताइएको छ । शिन्जो आबेको कार्यकाल सेप्टेम्बर २०२१ मा समाप्त हुँदै  थियो । आबेले जापानको सबैभन्दा लामो समय प्रधानमन्त्री हुने कीर्तिमान तोडे ।

सन् २००७ मा पनि अल्सरेटिभ कोलाइटिसका कारण उनले अचानक पदबाट राजीनामा दिएका थिए । यो ठूलो आन्द्राको गम्भीर रोग हो, जससँग आबे किशोरावस्थादेखि नै लड्दै आएका छन् । जापानमा हाई प्रोफाइल हत्या वा हत्या प्रयासको इतिहास छ । सन् १९३२ मा जापानी प्रधानमन्त्री इनुकाई सुयोशीको एक नौसेना अधिकारीले हत्या गरेका थिए । यो एउटा असफल विद्रोहको हिस्सा थियो । जापान त्यस्ता देशहरू मध्ये एक हो जहाँ बन्दुक राख्ने सम्बन्धमा असाध्यै कडा कानुन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप