शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा पुनः जग्गाको लगत सङ्कलन सुरु, लगत्तै लालपुर्जा वितरण गरिने

मङ्गलबार, ०३ साउन २०७९, ०८ : १२
मङ्गलबार, ०३ साउन २०७९

बुटवल उपमहानगरपालिकाले पुनः जग्गाको लगत सङ्कलन सुरुआत गरेको छ । बुटवल उपमहानगरपालिकाको वडा नं १२ सहितका केही वडामा लगत सङ्कलन थालिएको हो ।

लगत सङ्कलनको काम सकिएपछि कार्यपालिकाको बैठकले जग्गाको नापजाँचका लागि राष्ट्रिय भूमि आयोगबाट अनुमति लिने नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। “अहिले कुन जग्गा व्यक्तिको हो, कुन सार्वजनिक हो, कहाँ बस्ती बसेको छ, कहाँ छैन भन्ने लगत सङ्कलनको काम हुन्छ”, उनले भने ।

स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकारबमोजिम सार्वजनिक, ऐलानी र पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने काम नगरले अघि बढाएको प्रमुख पाण्डेयले जानकारी दिए । 

जग्गाको लगत सङ्कलनका लागि नगरले स्थानीयवासीसँग छलफल पनि थालेको छ । सोमबार बुटवल–१२ का बासिन्दाबीच छलफल गरिएको छ । कार्यक्रममा  राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले बुटवल उपमहानगरपालिकाले दिएको लगत र तथ्याङ्कका आधारमा लालपुर्जा वितरणको प्रक्रिया अघि बढ्ने बताए । 

बुटवल उपमहानगरपालिकामा यसअघि नै गरिएको तथ्याङ्क सङ्कलनअनुसार करिब १७ हजार सुकुम्बासी तथा अव्यवस्थित बसोबासी रहेको प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप