आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा सवारी दुर्घटनामा परि एक वर्षमा ७० जनाको मृत्यु

आइतबार, १५ साउन २०७९, १२ : ०९
आइतबार, १५ साउन २०७९

सवारी दुर्घटनामा परि मकवानपुरमा एक वर्षमा ७० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार मकवानपुरका विभिन्न स्थानमा भएको दुर्घटनामा परि गत आर्थिक वर्ष २०७८/०७९ मा ७० जनाले ज्यान गुमाएका हुन् ।

कार्यालयका अनुसार सवारी दुर्घटनाका कारण गत आर्थिक वर्ष २०७८/०७९ मा ६३ पुरुष, चार महिला, एक बालक र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परि ज्यान गुमाउनेको सङ्ख्या सबैभन्दा बढी गत जेठमा रहेको छ भने भदौमा सबैभन्दा कम रहेको छ । गत जेठमा भएको ३४ वटा दुर्घटनामा १३ जनाले ज्यान गुमाएको कार्यालयले जनाइको छ भने भदौमा भएको १५ दुर्घटना परि २ जनाको मृत्यु भएको थियो ।

त्यसै गरी गत साउनमा २५ वटा दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको थियो भने असोजमा ३० वटा दुर्घटनामा ५ जनाले ज्यान गुमाएका थिए । त्यसै गरी कार्तिकमा भएको ३० दुर्घटनामा ११ जना, मङ्सिरमा १९ वटा दुर्घटनामा ३ जना, पुसमा २२ वटा दुर्घटनामा ४, माघमा २८ वटा दुर्घटनामा ७ जना, फागुनमा ४१ वटा दुर्घटनामा ४ जना, चैतमा २२ वटा दुर्घटनामा ६ जना, वैशाखमा २५ वटा दुर्घटनामा ६ जना र असारमा २६ वटा दुर्घटनामा ५ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।

मकवानपुरको हटौँडा भएर जाने मुलुकको मुख्य पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, मदन–भण्डारी राजमार्ग र हेटौँडा–काठमाडौँ मार्ग जोडिएका सडकहरूमा बढी मात्रामा सवारीहरू दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाले बताए ।

उनले वर्षायाम र चाडपर्वको समयमा बढी सवारी दुर्घटना हुने गरेको बताए । वर्षा याममा सडकको अवस्था राम्रो नहुने र चाडपर्वमा भिडभाडका कारण सवारी साधनहरूको गति उच्च हुँदा दुर्घटना हुने गरेको उनको भनाई छ ।

सवारी कारबाहीबाट २ करोड बढी राजस्व

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७८/०७९ मा सवारी साधन कारबाहीबाट २ करोड भन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने साना तथा ठुला सवारीहरूबाट गत आर्थिक वर्षको साउन देखि असारसम्ममा २ करोड ३६ लाख ९० हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

कार्यालयले गत आर्थिक वर्षमा ३० हजार ३ सय २७ वटा सवारी साधनलाई विभिन्न समयमा गरेको नियमित तथा छड्के चेकजाँच गरी कारबाही गरेको थियो । कारबाहीमा परेका सवारी साधनबाट जरिवाना बापत गत साउनमा १७ लाख ५८ हजार, भदौमा १७ लाख ५८ हजार रुपैयाँ, असोजमा २४ लाख ३१ हजार, कार्तिकमा ३३ लाख ८२ हजार रुपैयाँ र मङ्सिर मा १७ लाख ७१ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कमा उल्लेख छ ।

यसै गरी, पुसमा १८ लाख ५१ हजार ५०० रुपैयाँ, माघमा १९ लाख ४१ हजार ५०० रुपैयाँ, फागुनमा १६ लाख ८० हजार, चैतमा १५ लाख १८ हजार ५०० रुपैयाँ, वैशाखमा १४ लाख ६१ हजार ५०० रुपैयाँ, जेठमा १७ लाख ६० हजार ५०० रुपैयाँ र असारमा २६ लाख ६० हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

ट्राफिक प्रहरीको कारबाहीमा पर्नेमा सबैभन्दा बढी ट्रक रहेका छन् । कार्यालयले गत आर्थिक वर्षमा ९ हजार २ सय ४७ ट्रकलाई कारबाही गरेर ७२ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको थियो भने ४ हजार ३ सय १८ बसलाई कारबाही गरी ३२ लाख ९७ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

त्यस्तै कार्यालयले ५ हजार ८ सय ६७ कार/जिपलाई कारबाही गरी ४५ लाख २३ हजार ५०० रुपैयाँ, १ हजार ५४७ ट्याक्टरलाई कारबाही गरी १३ लाख ३५ हजार ५०० रुपैयाँ र ६ हजार १८ वटा मोटरसाइकललाई कारबाही गरी ४४ लाख ७६ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप