शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सम्पत्ति विवाद : भाइ–बुहारीको हत्या गर्न दाइले दिए ‘सुपारी’

आइतबार, १५ साउन २०७९, १७ : ००
आइतबार, १५ साउन २०७९

बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतिपुरमा कृष्ण गडरिया र उनकी पत्नी मञ्जु मृत भेटिए । साउन १० मा घरमै मृत भेटिएका गडरिया दम्पतीको ‘कनट्र्याक्ट किलर’ प्रयोग गरेर हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

मञ्जुलाई घाँटीमा डोरीले बाँधेर हत्या गरिएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय कोहलपुरका इन्स्पेक्टर नवचन्द्र मल्लले रातोपाटीलाई बताए । कृष्णको हातमा गहिरो चोट लागेको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले मृतक दम्पतीका दाजु विजय कुमार गडरिया र भाउजू रेखा गडरिया सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाजु र भाउजूसहित नेपालगञ्ज उपमहानगरपालिका–१८ बस्ने २६ वर्षीय शाकिर अलि शेख र उपमहानगरपालिका–१९ बस्ने १९ वर्षीय राजन सोनखर छन् ।

विजय कुमारले भाइ बुहारीलाई हत्या गर्न शाकिर र राजनलाई ‘कनट्र्याक्ट किलर’को रूपमा प्रयोग गरेको अनुसन्धानबाट खुलेको इन्स्पेक्टर मल्लले जानकारी दिए । इन्स्पेक्टर मल्लका अनुसार भाइ–बुहारीको हत्या गर्न दाजु–भाउजुले २ लाख ५० हजार अग्रिम नगद दिएका थिए । ‘५ लाखमा हत्या गर्ने सहमति भएको अनुसन्धानबाट थाहा भएको छ’ इन्स्पेक्टर मल्ल भन्छन्–‘विजय कुमारले कनट्र्याक्ट किलरलाई २ लाख ५० हजार अग्रिम भुक्तानी दिएको थाहा भएको छ ।’ बाँकी पैसा पछि लिनेदिने सहमति गरेका थिए । कनट्र्याक्ट किलरले घटनास्थलमा गोली समेत चलाएका थिए । तर, कसैलाई पनि गोली लागेन ।

सम्पत्तिबारे विवाद हुँदा विजय कुमार गडरिया दम्पतीले भाइ–बुहारीलाई हत्या गर्ने योजना बनाएको प्रहरीको भनाई छ । बुवा–आमाले भाइलाई धेरै माया गरेको आशङ्कामा विजय कुमारमा आक्रोश पलाएको थियो । एकाघरमा बसेका विजय कुमारले बुवा–आमालाई ‘मामाघरबाट आएको सम्पत्ति आधा मलाई चाहिन्छ, अंशबन्डा गरिदिनुस्’ भनेर धेरै पटक भनेका थिए । तर, ‘छुट्टेकै छैन, किन अंश चाहियो ?’ भनेर आमाबुवाले भनेपछि विजय कुमारले भाइ बुहारीको हत्या योजना बनाएको इन्स्पेक्टर मल्लले बताए । हत्या भएको दिन बुवा आमा घरमा थिएनन्, भारत गएका थिए । दाइ–भाउजू र भाइ–बुहारीको परिवार मात्र घरमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप